काठमाडौं/२ फागुन–शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वार्षिक एकमुष्ठ अनुदानका लागि सामुदायिक विद्यालयहरुलाई फागुन १५ गते भित्र निवेदन पेश गर्न सूचना जारी गरेको छ ।
केन्द्रले कुनै पनि दरबन्दी तथा राहत अनुदान प्राप्त नगरेका वा प्राप्त गरेको दरबन्दी फिर्ता गरेको र भविष्यमा दरबन्दी तथा राहत अनुदान नलिने शर्तमा वार्षिक एकमुष्ठ अनुदान प्राप्त गर्न इच्छुक सामुदायिक विद्यालयहरुले आवश्यक कागजात सहित उल्लेखित शर्त पूरा गरी आवेदन दिन सक्ने जनाएको छ ।
केन्द्रका अनुसार विद्यालयहरुले शिक्षा विकास तथा समन्वय इकाईमा निवेदन पेश गर्नुपर्छ । सम्बन्धित इकाईहरुले प्राप्त कागजात तथा निवेदनहरुको छानविन गरी आफ्नो राय सहितको निवेदनहरु फागुन २३ गते भित्र केन्द्रमा पठाउन अनुरोध समेत गरेको छ । विगतका वर्षहरुमा वार्षिक एकमुष्ठ अनुदान पाइरहेका सामुदायिक विद्यालयहरुले पनि प्रगति विवरण सहित निवेदन पेश गर्नुपर्ने केन्द्रले जनाएको छ ।
अनुदान प्राप्त गर्न विद्यालयले देहायका शर्तहरु पुरा गर्नु पर्नेछ :
क) पूर्व प्राथमिक देखि कक्षा ५ सम्म सञ्चालित अनुमति प्राप्त विद्यालय हुनुपर्ने,
ख) शिक्षा नियमावलीले तोकेअनुसार जम्मा न्युनतम विद्यार्थी संख्या पुगेको हुनु पर्ने,
ग) विद्यालयको शैक्षिक, भौतिक, आर्थिक तथा व्यवस्थापकीय सुधारका पक्षहरु समेटिएको विद्यालय सुधार योजनाको तयारी तथा अद्यावधिक गरेको हुनु पर्ने,
घ) विद्यालयले हरेक वर्ष गरेको आर्थिक कारोवारको नियमित रुपमा लेखा परीक्षण गरेको हुनु पर्ने,
ङ) विद्यालयले वर्षभरी गरेको व्रिmयाकलापहरु झल्कने सामाजिक परीक्षण प्रतिवेदन तयार गरी इकाइलाई पेश गरेको हुनु पर्ने,
च) विद्यालय सुधार योजनाको आधारमा विद्यालयले बार्षिक लक्ष्य र वजेट सहितको बार्षिक कार्ययोजना तयार गरेको हुनुपर्ने,
छ) शिक्षक दरबन्दी नभएको हुनु पर्ने वा शिक्षक दरबन्दी प्राप्त गरेको भए सो दरबन्दी फिर्ता गरेको हुनुपर्ने,
ज) विद्यालयले प्रेषित गर्नुपर्ने प्रतिवेदनहरु जस्तो लेखा परीक्षण, सामाजिक परीक्षण आदि सम्बन्धित निकायहरुमा समयमै प्रेषित गरेको हुनुपर्ने,
झ) विद्यालयले नियमित रुपमा फ्ल्यास तथ्याङ्क भरी सम्बन्धित निकायमा सम्प्रेषण गरेको हुनुपर्ने,
विद्यालयले निवेदन साथ पेश गर्नुपर्ने कागजातहरु
१. विद्यालयको अनुमति पत्रको प्रतिलिपी,
२. हाल सम्म कुनै दरबन्दी नरहेको वा दरबन्दी फिर्ता गरेको सम्बन्धित इकाईको सिफारिस पत्र,
३. स्थानीय तहको सिफारिसको सक्कलै पत्र,
४. निवेदन दिने वर्षको शैक्षिक शत्रमा भर्ना भएका विद्यार्थीहरुको कक्षागत संख्याको प्रमाणित प्रतिलिपी,
५. निजी स्रोतमा राखेको शिक्षक तथा कर्मचारीहरुको नियुक्ति तथा शैक्षिक योग्यता सम्बन्धी विवरणको प्रमाणित प्रतिलिपी,
६. विद्यालयको जग्गाको प्रमाणपत्रको प्रतिलिपी वा भोगचलनको निस्सा,
७. भविष्यमा दरबन्दी माग नगर्ने विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपी,
८. कम्तिमा एक कक्षा एक कक्षाकोठा, पर्याप्त शौचालय, खेल मैदान, स्थायी भवन वा संरचना सम्बन्धी विवरण,
९. अद्यावधिक गरिएको विद्यालय सुधार योजनाको प्रतिलिपी,
१०. अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन तथा सामाजिक परीक्षण प्रतिवेदनको प्रतिलिपी,
११. विद्यालयको बार्षिक योजना,
१२. अघिल्लो आर्थिक वर्षको फ्लास तथ्याङ्कको विद्यार्थी विवरण,
१३. बार्षिक एकमुष्ठ अनुदान सम्बन्धमा अनुरोध गरेको विद्यालय व्यवस्थापन समितिको निर्णय ।



