शिक्षण सिकाईका लागि इम्पेरियल वल्र्ड स्कुल र काठमाडौँ विश्वविद्यालय विच सम्झौता

काठमाडौं/२८ भदौं-बुढानीलकण्ठ, हात्तीगौँडा स्थित इम्पेरियल वल्र्ड स्कुलले शिक्षकको पेशागत अभिवृद्धि गरी शिक्षणलाई समयसापेक्ष र प्रभावकारी बनाउन काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेको छ । भौतिक संरचनामा अब्बल यस विद्यालयले परिवर्तित समयानुकूल शिक्षण विधि तथा तौर तरिकालाई समयसापेक्ष सुधार गर्दै लाने उद्देश्यले उक्त सम्झौता गरेको हो ।


विद्यार्थीहरूको सर्वाङ्गीण विकास गरी विश्वव्यापीकरणमा समायोजन गराउन प्रविधिमैत्री तथा बालमैत्री शिक्षामा जोड दिने उद्देश्यले पहिलो चरणमा सोमबार विश्वविद्यालयका प्रतिनिधि द्वय डा. पार्वती ढुंगाना र लेकचरर नेत्रकुमार मानन्धरका साथै विद्यालयका तर्फबाट प्रधानाध्यापक, शिक्षा विभाग प्रमुख र विभिन्न विषयका विभागीय प्रमुखहरूसँग विद्यालयको शैक्षणिक गतिविधिका बारेमा छलफल गरिएको छ ।


उक्त छलफलबाट आगामी दिनमा काठमाडौँ विश्वविद्यालयको सहयोगमा शिक्षण सिकाइमा स्टिम शिक्षण सिकाईको प्रयोग गरी शिक्षालाई जीवनसँग जोड्नका लागि शिक्षकलाई सहजीकरण गर्ने निर्णय गरिएको छ । विद्यार्थीहरूमा सिकाइप्रति अभिरुचि जगाउन शिक्षण सिकाइ क्रियापलापमा विभिन्न प्रकारका कलाहरूलाई कसरी समावेश गर्न सकिन्छ, विद्यार्थीहरूलाई विभिन्न विषयसँग एक अर्कामा कसरी जोडेर पढाउन सकिन्छ, शिक्षण क्रियापलापमा परियोजना कार्यलाई कसरी जोड्न सकिन्छ, प्रभावकारी शिक्षण सामग्री कसरी निर्माण गर्न सकिन्छ भन्ने आदि विषयमा केन्द्रित रही विभिन्न तालिम तथा कार्यशाला गोष्ठीहरू सञ्चालन गरिने भएको छ ।


आगामी दिनमा काठमाडौँ विश्वविद्यालयको संयोजनमा विद्यार्थीको पढ्ने, खोजी गर्ने, बुझ्ने र विश्लेषण गर्ने जस्ता सिपको विकास गर्ने अभिप्राय राखी निरन्तर काम गरिने उदेश्य राखिएको छ ।