काठमाडौं/२८ भदौं-त्रिभुवन विश्वविद्यालयका महाशाखा प्रमुखहरुले विश्वविद्यालयमा लगाइएको तालाबन्दीले काम गर्न बठिन भएको भन्दै तत्काल ताला खोल्न अपिल गरेका छन् । १३ ओटा महाशाखा प्रमुखहरुले त्रिविको प्रशासनिक कार्य सहजताकालागि तालाबन्दीको निकास खोज्न अपिल गरेका हुन ।
महाशाखा प्रमुखहरूले संयुक्तविज्ञप्ति जारी गर्दै भनिएको छ ‘निरन्तरको तालाबन्दीका कारण शिक्षक, कर्मचारीहरूको न्यूनतम नैसर्गिक अधिकार कुण्ठित हुँदै गएको, आर्थिक एवम् दैनिक प्रशासनिक कार्यहरू सहज रूपमा सञ्चालन गर्न कठिनाइ भइरहेको अवस्थाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अतः त्रिवि केन्द्रीय कार्यालय लगायतका निकायहरूमा लगाइएका ताला यथाशीघ्र खोली आर्थिक तथा प्रशासनिक कार्यहरू अघि बढाउन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौँ’ ।
साथै तालाबन्दीका कारण शिक्षक कर्मचारीको २०७९ असारदेखिको तलबभत्ता रोकिएको, निवृत्त शिक्षक एवम् कर्मचारीहरूले पेन्सन पाउन नसकेको, निवृत्त भएका शिक्षक तथा कर्मचारीहरूको निवृत्तभरण तथा उपदान प्रक्रिया अघि बढ्न नसकेको, विद्यार्थी तथा अन्य सेवाग्राहीहरूले सेवा पाउन सकेको उल्लेख गरीएको छ ।
विश्वविद्यालयलाई सदाका लागि शान्ति क्षेत्रका रूपमा विकास गर्न विश्वविद्यालयसँग सम्बन्धित जिम्मेवार विद्यार्थी संगठन, प्राध्यापक संघ, कर्मचारी संघ, नागरिक समाज, पत्रकार एवम् सम्बन्धित सरोकारवालाहरूलाई आवश्यक पहल गरिदिनु समेत अपिल गरिएको छ ।

नेविसंघको त्रिवि समिति विघटन
नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले त्रिभुवन विश्वविद्यालय नेविसंघ समिति विघटन गरिएको जनाएको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सोमबार विज्ञप्ति जारी गर्दै नेविसंघ त्रिवि समितिको अधिवेशन गर्नुपर्ने भएकोले विघटन गरिएको जनाएको हो ।
विश्वविद्यालय क्याम्पस किर्तिपुरमा सक्रिय समितिहरु आजैका दिन देखि विघटन गरीएको व्याहोरा सम्बिन्धित सबैमा जानकारी गराउँदछु । नेपाल विद्यार्थी संघलाई वैधानिक ढङ्गले मुर्त रुपदिन यथाशीघ्र केन्द्रीय प्रतिनिधि खटाई क्याम्पस अधिवेशन गर्ने प्रतिवद्धता गर्दछु । विज्ञप्तिमा भनिएको छ ।
साथै अबदेखि केन्द्रीय समितिको परिपत्र,समन्वय तथा निर्देशनविना त्रिभुवन विश्वविद्यालय नेविसंघ समितिको रिक्तताको समयमा कुनैपनि संगठनिक गतिविधि तथा नियम विपरीत क्रियाकलाप नगर्न निर्देशन दिएको छ ।




