विद्यालय सञ्चालनको जिम्मा नै विद्यार्थीलाई

काठमाडौँ /२८ भदौं-काम्याक स्कुल कक्षा १० मा अध्ययनरत छात्र विद्यार्थी जेनिथ थापा मगरले प्रधानाध्यापकको जिम्मेवारी पाए । काठमाडौँको बागबजारमा रहेको यस विद्यालयले बिहीबार कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई विद्यालयको सुरक्षा गार्डदेखि प्रधानाध्यापकसम्मको जिम्मेवारी दिएर विद्यालय सञ्चालनको अभ्यास गराएसंगै जेनिथले उक्त जिम्मेवारी पाएका थिए ।


विद्यालयले ‘स्टुडेन्स डे’को अवसर पारेर विद्यालयमा काम गर्ने कर्मचारीदेखि प्रधानाध्यापकसम्मको जिम्मेवारी एक दिनका लागि विद्यार्थीलाई दिएर कक्षा सञ्चालन गरेको हो ।

एक दिनको प्रधानाध्यापकको भूमिका निर्वाह गरेका मगरले एक दिन प्रिन्सिपल बन्दा पनि आफूले प्रिन्सिपलको जिम्मेवारी र भूमिकाबारे बुझ्ने अवसर पाएको बताए । उनले भने,‘प्रिन्सिपल भएपछि जिम्मेवारी पनि महसुस भयो । काम गर्न कति गाह्रो हुन्छ भन्ने थाहा पनि भयो । कक्षा कोठाभित्र देखि बाह्य व्यस्थापनसम्मको ज्ञान लिने मौका मिलेको छ । विद्यालय पठनपाठनको तालिका व्यवस्थापनदेखि सबै शिक्षकलाई परिचालन गर्नेसम्मको जिम्मेवारी निर्वाह गरेको छु,’।


विद्यालयले विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान पनि दिने उद्देश्यले एक दिन विद्यालय सञ्चालन गर्ने जिम्मेवारी विद्यार्थीलाई दिन यस्तो अभ्यास गरिएको जनाएको छ । विद्यालयले एक दिन विद्यालय सञ्चालनको जिम्मा नै विद्यार्थीलाई दिएसँगै विद्यार्थी विभिन्न भूमिकामा देखिएका हुन् । उनीहरूले एक दिन विद्यालय सञ्चालनको अभ्यास गरेका छन् ।


विद्यालयका प्रिन्सिपल धनेश्वर राउतले यो कार्यक्रमले विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान लिन सहज हुने बताए । उनले भने,‘अरू दिन शिक्षक कर्मचारीले विद्यालय सञ्चालन गर्ने गरेकोमा यस दिन विद्यार्थीले आफैं सबै काम गर्छन् । उनीहरूलाई प्रधानाध्यापकदेखि कर्मचारीसम्मको जिम्मेवारी दिइएको हुन्छ । यस दिनका लागि उनीहरू विभिन्न छनोट प्रक्रियामा सहभागि भएर महत्त्वपूर्ण जिम्मेवारी लिएका हुन् । यसले विद्यार्थीलाई विद्यालय सञ्चालनको अनुभव साट्न र शिक्षकको जिम्मेवारीबारे बुझ्न सहज हुन्छ ।’


विद्यार्थीले आफैं काम विभाजन गरेर एकदिने कार्यतालिका तयार गरेका थिए । विद्यालयका उपप्रधानाध्यापक हरिप्रसाद भट्टराईले एकदिन विद्यालय सञ्चालन गर्नेबारे आफैं योजना बनाएको र विद्यार्थीले सफल रूपमा एकदिन विद्यालय सञ्चालन गरेको प्रति खुसी व्यक्त गरे ।


विद्यालयले पठनपाठनका अतिरिक्त क्रियाकलापमा ध्यान दिएकाले अभिभावकको पनि साथ पाएको अभिभावक टेकराज पोखरेलले बताए । ‘यस विद्यालयले अतिरिक्त क्रियाकलापमा ध्यान दिने गरेको छ । मेरो दुइवटा नानीले यसै विद्यालयबाट कक्षा दशसम्मको अध्ययन सकेर उच्च शिक्षा आर्जन गर्दैछन् । मेरो छोरा कक्षा ९ मा अध्ययरत छ,’ उनले भने,’अन्य विद्यालयको तुलनामा शैक्षिक, खेलकुद, साहित्यिक लगायतका गतिविधि कक्षा कोठाभन्दा बाहिरको अतिरिक्त क्रियाकलापमा ध्यान दिन्छ । आज उनीहरूले एक दिन आफैं विद्यालय सञ्चालन गरेको हेर्न आएका हौँ ।’


विद्यालयका शैक्षिक निर्देशक टिकाराम पोखरेलले काम्यक स्कुलले सैद्धान्तिक पढाइभन्दा व्यवहारिक ज्ञानलाई बढी जोड दिएको बताए । ‘हामीले स्टुडेन्ट डे विद्यार्थीको दक्षता अभिवृद्धिका लागि सञ्चालन गरेका हौँ । उनीहरूलाई जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले कामको बाँडफाँड विद्यार्थीकै चाहनाअनुसार गरिएको हो,’ उनले भने ।


सधैं विद्यालयमा देखिने प्रधानाध्यापक, शिक्षकदेखि कर्मचारीले विद्यार्थीको गतिविधिलाई अनुगमन मात्र गरेका छन् ।
विद्यालय प्रवेशद्वारमा कालो टोपीसहित गाडा निलो रङको सुरक्षा गार्डको जस्तै देखिने ड्रेस लगाएका ‘स्कुल गेट किपर’ लेखिएको कार्ड भिरेका बालकले स्वागत गर्छन् । विद्यालय परिसरभित्र अनौठो दृष्य देखिन्छ ।


बिहीबार बिहान १० नबज्दै विद्यालय प्रवेश गरेका विद्यार्थी शिक्षकदेखि, विद्यालय संयोजक, निर्देशक, प्राइमरी इन्चार्ज, डिसिप्लिन इन्चार्ज, सुरक्षा गार्डलगायतको भुमिकामा देखिए । क्यान्टिनमा पनि विद्यार्थीले खानेकुरा पकाएका छन् ।
एकदिनको एकेडेमीक डाइरेक्टरको रूपमा एनी श्रेष्ठले भूमिका निर्वाह गरेकी थिइन् । उनले कक्षा व्यवस्थापनदेखि कक्षा कोठामा हुने अध्यापन, विद्यार्थीको अनुसासन पालना, समय व्यवस्थापनबारे जिम्मेवारी निर्वाह गरिन् । यस्तै कक्षा १० मा अध्ययनरत विवेक रनपालले अनुसासन प्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए ।


शिक्षकको भूमिका निर्वाह गरेका सवलराज बन्सीले विज्ञान विषय अध्यापन गराएका थिए । कक्षा १० मा अध्ययनरत छात्रा आँचल पाण्डेले शिक्षकको भूमिका निर्वाह गरेकी थिइन् । विद्यालय संयोजकको भूमिकामा विकास श्रेष्ठले आफ्नो जिम्मेवारी पुरा गरेका थिए ।


उनीहरूले साना कक्षाका विद्यार्थीलाई सम्हाल्न गाह्रो हुने र ठूलो कक्षाका विद्यार्थीले शिक्षकले भनेको नमान्ने गरेको गुनासो गरे । उनीहरूले नर्सरीदेखि कक्षा ८ सम्मको सम्पूर्ण कक्षा सञ्चालन गरे । यस्तै सुहाना रजकले उपप्राध्यापकको भूमिका निर्वाह गरेकी थिइन् भने पलिस्ता श्रेष्ठले प्राइमरी इन्चार्जको भूमिका निर्वाह गर्दा जिम्मेवारी वहन गर्दा आइपर्ने चुनौतीबारे अनुभव लिन पाएकोमा खुसी व्यक्त गरिन् ।

कक्षा १० मा अध्ययरत छात्रा गौरीनाथ र सृष्टि श्रेष्ठले चमेना गृहको जिम्मेवारी सम्हालेका थिए । उनीहरू चमेना गृहमा काम गर्न गाह्रो हुने अनुभव सुनाए । यस्तै कक्षा ९ मा अध्ययरत छात्र विग्सन रनपालले सुरक्षा गार्डको भूमिका निर्वाह गर्दा विद्यालयको सुरक्षा गार्डको जिम्मेवारीबारे थाहा पाएको बताए ।