शिक्षा सचिव सुवेदीले भने : शिक्षा ऐन जारी हुने अन्तिम प्रक्रियामा छ

काठमाडौँ /२७ भदौ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले संघीय शिक्षा ऐन छिट्टै आउनेमा आफु आस्वस्थ रहेको बताएका छन् । शिक्षा पत्रकार समाज तथा आसमान नेपालले सोमबार राजधानीमा आयोजना गरेको शिक्षा र बालश्रम विषयक कार्यक्रममा बोल्दै संघीय शिक्षा ऐन नआएको सन्दर्भमा शिक्षा क्षेत्रमा अन्योल्ता रहेको बताउँदै शिक्षा ऐन जारी हुने अन्तिम प्रक्रियामा रहेकोले आउनेमा आफु आस्वस्थ रहेको बताएका हुन् ।


उनले शिक्षा क्षेत्रमा रहेका शिक्षक दरबन्दी, शिक्षामा बालबालिकाको पहुँचलगायतका धेरै समस्याको समाधान संघीय शिक्षा ऐन जारी भएपछि हुने विश्वास व्यक्त गरे । पछिल्लो समय मधेश प्रदेशमा पढाउनुपर्छ भन्ने सोचमा विकास भएको र सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए ।

संघीय सरकारले स्थानीय तहलाई वित्तिय हस्तान्तरण गरी भौतिक पूर्वाधार, छात्रवृत्ति, शिक्षकलाई तालिम लगायतका कुरामा स्थानीय तह मार्फत गरीनुपर्नेमा जोड दिँदै मधेश प्रदेशको शिक्षाका समग्र छलफलमा स्थानीय तहको सहभागिता आवश्यक रहेको बताए ।


कार्यक्रममा भारतस्थित एमभी फाउण्डेशनका संयोजक आर बैंकट रेड्डीले भारतमा बालश्रम अन्त्यका लागि भएका प्रयास र उपलब्धिबारे जानकारी गराउँदै विद्यालय बाहिर रहेका बालबालिका बालश्रमिक हुने सम्भावना बढी रहेकोले यसलाई रोक्नुपर्नेमा जोड दिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरी लम्सालले गुणस्तरीय शिक्षामा परीवर्तन भइरहेको बताउँदै शिक्षाविद्, विज्ञ, नागरीक समाज लगायतले नकरात्मक भन्दापनि सकरात्मक विचार राखेर आशा जगाउनु पर्ने बताए । उनले मधेश प्रदेशमा शिक्षा क्षेत्रको सुधारका लागि स्थानीय प्रतिनिधिको सहभागीतामा निती निर्माणमा पहल गर्नुपर्नेमा जोड दिए । साथै साविक उच्च माविका शिक्षकहरुको समस्या छिटै समाधान हुने बताउँदै निजी र सार्वजनिक विद्यालयका बालबालिका विचमा सरकारले कुनै विभेद गर्न नहुने बताए ।


शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाले शिक्षकहरु इमान्दार भएर लाग्ने हो भने गरिखाने खालका विद्यार्थी उत्पादन गर्न सकिने विचार व्यक्त गरे । उनले शिक्षक आफै उत्प्रेरक भएर यो पेशामा आइसकेपछि जसरी हुन्छ पढाउन सिक्नुपर्ने भनाई राखे ।

आसमान नेपालका कार्यकारी निर्देशक नवलकिशोर यादवले मधेस प्रदेशमा शिक्षाको सुधारका लागि भएको प्रयासको बारेमा जानकारी गराउँदै सरोकारवालाले दिएको सुझाव अनुसार योजना निर्माण गरी मधेश प्रदेशको शिक्षा र बालश्रममा परिवर्तनका लागि लाग्ने प्रतिबद्धता व्याक्त गरे ।


शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवाल र गोरखापत्रका पत्रकार शेषकान्त पण्डितले मधेस प्रदेशमा विद्यालय क्षेत्रमा देखिएको सुधारको थालनी र समस्याका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।