काठमाडौं/२५ भदौं-काभ्रेको नमोबुद्ध नगरपालिका दाप्चे अवस्थित श्री जनहित माध्यामिक विद्यालय २०१७ सालमा स्थापना भएको विद्यालय हो । अहिले यस विद्यालयमा बालविकास कक्षा देखि कक्षा १२ सम्म गरेर कुल विद्यार्थीको संख्या २ सय ८० जना रहेका छन् भने छात्रा १ सय ६० र छात्र १ सय २० छन् ।
कक्षा ११, १२ मा विद्यार्थीहरुलाई सहज होस भन्ने उदेश्यले एजुकेशन र व्यवस्थापकिय संकायलाई मिल्ने विषयहरुलाई मिलाएर पठनपाठन सञ्चालन गरिएको छ । आज भन्दा ५ वर्ष अगाडीसम्म परम्परागत तरिकामा पढाई हुने यस विद्यालयमा जब काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनले सहकार्य गरेर स्टिम पद्धति अनुसार पढाउन थाल्यो अहिले विद्यालयको धेरै कुरामा परिवर्तन आएको छ ।
यसका लागि काठमाडौं विश्वविद्यालयले विद्यालय निर्माण, व्यवस्थापन र कक्षा कोठाको व्यवस्थपन, शिक्षण सिकाईमा सहयोग गर्दै आएको छ । यो विद्यालयलाई विश्वविद्यालयले पाइलट प्रोजेक्टको रुपमा अगाडी बढाएको छ भने अरु चारवटा विद्यालयलाई फिडर विद्यालय बनाएर अगाडी बढेको छ ।
यसको प्रमुख योजना नै विद्यालयलाई सहभागिता सहित शिक्षण सिकाई क्रियाकलापमा परियोजनालाई जोडेर विद्यार्थीलाई कसरी सिकाउने भन्ने रहेको छ ।
विद्यालयको भौतिक अवस्था :

विद्यालय २०१७ सालमा स्थापना गरिए पनि ५ वर्ष पहिलासम्म विद्यालयमा विद्यार्थीको संख्या न्यून रहेको, विद्यालयको भौतिक संरचना र भौतिक रुपमा बालमैत्री नभएको, पढ्नका लागि सामान्य गाउँमै बनाईएका डेक्स र बेञ्च मात्र रहेको अवस्था थियो । साथै विद्यार्थीको व्यवस्थापन, कक्षा कोठा, आईसिटी लगायत बालमैत्री थिएन । अभिभावक पनि आफ्ना छोराछोरीको पढाई बारे बुझन, प्रगति विवरण लिन विद्यालय नआउने र विद्यार्थीको पढाईप्रति खासै चासो नराख्ने गर्ने गरेका थिए ।

जब काठमाडौं विश्वविद्यालयसँगको सहकार्य भयो अहिले त्यसको ठिक उल्टो विद्यालयमा बालमैत्री वातावरण रहेको, कक्षा कोठामा बुक कर्नर, आईसिटी ल्याब, इन्टरनेट, कम्प्युटर, प्रोजेक्टर, स्टिम ल्याब लगायतको व्यवस्था गरिएको छ । ईसिडि कक्षादेखि कक्षा ४ सम्म कक्षाकोठामा कार्पेटिङ्ग, राउण्ड टेवल, चकटी राखिएको छ । कक्षा ५ मा विद्यार्थीलाई मिल्ने गरी टेवल र कुर्चि राखिएको छ । कक्षा ६ भन्दा माथी डेक्स र बेञ्चको प्रयोग गरिएको छ ।

विद्यालयमा बगैँचा निर्माण गरिएको छ । बगैँचालाई विद्यार्थीको पठनपाठनसँग जोडिएको छ । जुन जुन कक्षाको अगाडी बगैँचा छ त्यसको रेखदेख, गोडमेल, पानी हाल्ने काम त्यही कक्षाले गर्ने गरेको छन् । त्यहाँ लगाइएको फूल विद्यालयमा कार्यक्रम हुँदा प्रयोग गरि माला बनाउने र विभिन्न कार्यक्रममा प्रयोग गर्ने गरिन्छ । यसो गर्दा एकातिर बालबालिकालाई समूहमा काम गर्ने बानिको विकास हुन्छ भने अर्को तर्फ उनिहरुले त्यसलाई आफ्नो पाठ्यक्रमसँग जोडेर पढ्दा छिटो र नबिर्सैनेगरी पढ्ने बानीको विकास हुन्छ ।

अभिभावकसँगको छलफल :
हरेक कक्षामा विद्यार्थीलाई उपस्थितिका लागि हाजिरी गराइन्छ र अनुपस्थिति हुने विद्यार्थीकोबारेमा कारण बुझिन्छ अथवा अभिभाकलाई खबर गरिन्छ । विद्यार्थी उपस्थिति वा अनुउपस्थिति हेर्नका लागि वेग्लै फाईल बनाइएको छ । त्यो फाइल विद्यालय कर्मचारीले हरेक कक्षामा लिएर जाने र कक्षा शिक्षकले कति विद्यार्थी आए नआएको हेर्ने र नआएको विद्यार्थीको अभिभावकलाई फोनबाट जानकारी दिने गरिन्छ वा नआउनुको कारण सोधिन्छ । विद्यार्थी आफ्नै कारणले नआएको होकी काम परेर अभिभावकसँगको सल्लाहले नआएको हो बुझिन्छ ।
अभिभावक पनि आफ्ना छोराछोरीको पढाई बारे प्रगति विवरण बुझन, विद्यालयले सञ्चालन गरेको मासिक वा कुनै पनि परीक्षाको रिजल्ट लिन, विद्यालयलाई कुनै पनि सुझब सल्लाह दिन आदीबारे अभिभावकलाई विद्यालय बोलाउनु भन्दा उनीहरु भएकै ठाउँमा अभिभावक टोल समिति बनाएर विद्यालयबाट समुह विभाजन गरेर शिक्षकहरु अभिभावक भएकै ठाउमा गएर नतिजा वितरण गर्ने, विद्यार्थीको पढाईको अवस्था बारे भन्ने र सुझाब सल्लाह संकलन गर्ने गर्छन् ।
कुनै विद्यार्थी विद्यालयमा कुनै कारणले आएनन् भने अभिभावकबाटै खबर गरिने र त्यसमा विद्यालयले के गर्न सक्छ खोजि गरेर विद्यार्थीलाई सहयोग गर्ने गरिन्छ । जस्तै : आर्थीक अभावका कारण विद्यालय आउन नसक्ने विद्यार्थीलाई कसरी हुन्छ सहयोग गर्ने वा कुनै पनि सहयोग गर्ने दाता खोजेर भएपनि विद्यार्थीलाई विद्यालयमा ल्याउन सफल भएको छ ।
अहिले विद्यालयले पाँच ठाउँमा अभिभावक टोल समिति निर्माण गरेको छ । अभिभावक टोल समिति निर्माण गर्दा अभिभावकलाई जानकारी दिएर अभिभावकलाई भेलागराएर, अभिभावकले नै छानेर अध्यक्ष र सदस्य गरी सात जनाको कमिटी बनाउने व्यवस्था गरीएको छ । यसलाई आवश्यकता अनुसार परिवर्तन पनि गरिन्छ । यसो गर्दा विद्यार्थीको बारेमा जानकारी दिन र लिन सहज भएको, विद्यालयले गर्दै गरेका कामका बारेमा अभिभावकलाई बुझाउन सहज भएको विद्यालयले जनाएको छ ।
विद्यार्थीलाई पोसाक अनिवार्य :
विद्यालयले विद्यार्थीलाई पोसाक अनिवार्य गरेको छ । पोसाकमा टाई, बेल्ट, कालो जुत्ता, लगायत पोसाक अनिवार्य गरेको छ । विद्यार्थीहरुलाई निजी विद्यालयका विद्यार्थीहरुलाई जस्तै विद्यार्थी अभिभावकको आर्कषण बढोस भनेर पोसाक अनिवार्य गरेको विद्यालयकी प्रधानाध्यापक टिना सिल्पकार बताउछिन् । आर्थिक रुपमा कम्जोर भएका र पोसाक किन्न नसक्ने विद्यार्थीलाई छात्रवृत्तिको रकमबाट पोशाक उपलब्ध गराईएको छ । विद्यार्थीले पोसाक लगाएको नलगाएको हेर्न हरेक कक्षामा क्याप्टेनको व्यवस्था गरिएको छ । हरेक दिनको कक्षा सुरु हुनु भन्दा पहिला पाँच मिनेट विद्यार्थीलाई काउन्सेलिङ पनि गरिन्छ यसले गर्दा विद्यार्थीलाई पढ्न उर्जा मिलेको प्रधानाध्यापक टिना सिल्पकारको भनाई छ ।
शिक्षण सिकाईको तरिका :
कक्षा ५ बाहेक अरु कक्षामा अंग्रेजीमा पठनपाठन गरिन्छ । काठमाडौं विश्वविद्यालयको सहयोगमा शिक्षण सिकाइमा स्टिम शिक्षण शैलीको प्रयोग गरी शिक्षालाई कसरी जिवनसँग जोड्न सकिन्छ र विद्यार्थीहरुलाई विभिन्न विषयसँग एक अर्कामा कसरी जोडेर पढाउने भन्ने विषयमा विद्यालय लागेको छ । त्यसैअनुरुप विद्यालयमा स्टिम शिक्षण शैलिमा पठनपाठन गरिएको छ ।

परियोजना कार्य अन्तर्गत विद्यार्थीलाई विद्यालय वरीपरी भएका वा समाजमा भएका विभिन्न विषयसँग जोडेर गृहकार्य दिने गरिन्छ जस्ले गर्दा विद्यार्थीले सिक्न पनि सकोस र हाम्रो वरीपरी भएका विभिन्न कुराहरुलाई, देखेर, छोएर, अनुभव गरेर, सुनेर धेरै कुरा सिकोस भन्ने उदेश्यका साथ पठनपाठन गरिएको छ । यो सँगै एक अर्को विषयको विचमा अन्तरघुलन पनि होस भनेर विभिन्न विषय वस्तुसँग जोडेर पठनपाठन गर्ने गरिएको छ ।

यसका लागि शिक्षकहरुले परियोजना कार्यमा विषय मिल्ने शिक्षक बसेर सामाजिक रुपमा परियोजना कार्य तयार गरेर विद्यार्थीलाई दिईन्छ । यसो गर्दा एक विषय र अर्को विषय विचको सम्बन्ध थाहा हुने र सिकाईमा सहज हने गरेको छ । साथै परियोजनाले विद्यार्थीहरु समुहमा बसेर काम गर्न सक्ने क्षमताको विकास पनि भएको छ ।

विद्यालयको शिक्षा सुधारमा प्रधानाध्यापकको भूमिका :

विद्यालयको कार्यतालिका तथा नितीहरु निर्माण गर्दा प्रधानाध्यापक एक्लैले मात्र नभई सबै शिक्षकहरु संगै बसेर संयुक्त रुपमा बनाइने गरेको सिल्पकार बताउछिन् । यसरी सबै बसेर कार्यतालीका तथा विद्यालयको निती बनाउनाले सबैमा जिम्मेवारी र उत्तर दायित्व बहन गर्ने बानीको विकास हुने र समुहमा काम गर्दा त्यसको नतिजापनि सकारात्मक र राम्रो आउने बताईन । त्यसैगरी प्रधानाध्यापकले शिक्षकलाई मात्रै काममा लगाएर हैन की हरेक कुराको सुरुवात नै प्रअबाट गर्न सके उत्कृष्ट हुने उनको भनाई छ ।
एग्रिकल्चर फर्म :
विद्यार्थीले सिकेको सिकाइलाई जिवनसँग जोड्नका निम्ति कृर्षि फर्म निर्माण गरिएको छ । १० रोपनि जग्गामा वार्षिक जग्गाको वार्षिक ५० हजार दिने गरी भाडामा लिएर कृर्षि फर्म निर्माण गरिएको हो । कृर्षि फर्म सञ्चालन गर्न कोभिडको समयमा अभिभावकलाई जर्किन पठाएर पिसाब संकलन समेत गरिएको उनि बताउछिन् । पछि विद्यार्थी विद्यालयमा आउन थालेपछि विद्यालयमै पिसाब संकलन हुन थालेको छ ।

फर्ममा विभिन्न संरचना निर्माण गरिएको छ । बंगुर पालनका लागि करीब चारवटा बंगुर अट्ने क्षमताको फर्म, माछा पोखरी, च्याउ खेतीका लागी टनेल, किवी खेती, चारवटा पोलिटनेल लगायतका विधिन्न संरचना बनाइएको छ । ति संरचनाहरु शिक्षक र विद्यार्थी, स्थानीय अभिभावक मिलेर संयुक्त रुपमा निर्माण गरिएको प्रधानाध्यापक टिना सिल्पकारले जानकारी दिईन ।
यसो गर्नुको कारण भनेको विद्यार्थीलाई पढाइसँगसँगै व्यवहारीक जिवनसंग जोढ्ने र त्यसबाट विद्यार्थीहरुकै खर्चका लागि केही आम्दानि पनि हुने भएकोले कृर्षि फर्म सञ्चालनमा ल्याइएको हो । त्यसका लागि विद्यार्थीहरुलाई कक्षा गत रुपमा एउटा एउटा सिप सिकाइने र “कमाउँदै सिक्दै र टिक्दै” कार्यक्रमलाई अगाडी बढाउने उदेश्य रहेको छ ।

विद्यार्थी कक्षा १० र १२ को पढाई सकेर विद्यालयबाट गईसकेपछी आत्मनिर्भर बन्न सकुन भनेर यसको निर्माण र प्रयोग गरिएको छ । जस्तै कक्षा ६ लाई दुईवटा टनेल दिइएको छ उनिहरुले दैनिक तालिका बनाएर आफै तरकारी लगाउने, गोड्ने, हेर्ने, समय म्यनेज गर्ने र बेच्ने गर्छन । यसो गर्दा पढ्न भन्दा विद्यार्थी काम गर्न खुशी हुने गरेको सल्पकारले बताईन ।

दिगो रुपमा यो कार्यक्रमलाई निरन्तरता दिनका लागि विद्यालयले १ करोडको आर्थिक कोष निर्माण गर्ने योजना बनाएको छ । यसका लागि भूपु विद्यार्थीको भेलाबाट पास भएर गएका विद्यार्थीहरुसँग बृहत भेला राखेर कोष निर्माण गर्ने योजना सिल्पकारले सुनाइन । अहिले पनि विद्यार्थीहरु देउसी भैलो खेलेर करीब ३० लाख रकम जम्मा गरिसकेका छन् । ३० देखि ४० लाख भूपु विद्यार्थीहरुसँग सहयोग माग्ने, १० लाख नगरपालिकाबाट सहयोग लिने र अरु विभिन्न स्रोत खोजेर १ करेड कोष निर्माण गरी एग्रिकल्चर फर्मलाई सधैभरी सञ्चालन गर्ने योजनामा विद्यालय रहेको छ ।




