पोखरा विश्वविद्यालयको शिक्षण अस्पताल सञ्चालनमा

कास्की/२३ भदौं-पोखरा विश्वविद्यालय शिक्षण अस्पताल सञ्चालनमा आएको छ । बुधबारबाट उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पानसमा दियो बाली बहिरङ्गसेवा सहित विधिवत् रुपमा विश्वविद्यालयको शिक्षण अस्पताल सञ्चालनमा आएको हो ।


उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले अर्थोपेडिक ओपिडि र रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारी स्त्री तथा प्रसुति ओपिडिको रिबन काटेर उद्घाटन गरे । कार्यक्रममा पहिलो बिरामीको रूपमा स्थानीय महिला शुशिला रेग्मीलाई प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. मदन खड्काले उपचार गरी कार्यको थालनी गरे ।


सुभारम्भ समारोहलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा. प्रेम नारायण अर्यालले शिक्षण अस्पताल विश्वविद्यालयको लागि अपरिहार्य रहेकोले त्यसको सुरूवात गर्न सकिएकोमा आफू अत्यन्तै गौरवान्वितभएको बताए । उनले अस्पताल सञ्चालनले विश्वविद्यालयको उचाई बढ्ने उल्लेख गर्दै विश्वविद्यालयले अग्रगामी सोचका साथ समाज र देशलाई योगदान गर्नुपर्नेमा जोड दिए । विश्वविद्यालयले हालै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग स्वास्थ्यका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको उल्लेख गर्दै उपकुलपतिले विश्वविद्यालयको स्तरोन्नतिका लागि विद्यार्थी संख्या बढाउनुपर्ने बताए । उनले विश्वविद्यालयले देशका विभिन्न भागमा आङ्गिक क्याम्पस खोल्ने तथा दुई वर्षभित्र एमबिबिएसको पठन पाठन सुरू गर्ने प्रतिबद्धता व्यक्त गरे ।


विश्वविद्यालयका रजिष्ट्रार एवम् शिक्षण अस्पताल सञ्चालक समितिका अध्यक्ष प्रा.डा. दिपक बहादुर भण्डारीले हरेक व्यक्तिमा आ–आफ्नै सपना हुने उल्लेख गर्दै आफूमा विश्वविद्यालयले सञ्चालन गर्ने देशक उत्कृष्ट र स्मार्ट अस्पताल बनाउने सपना रहेको उल्लेख गरे । उनले स्थानीयसँग आफू हरतरहले साक्षात्कार रहेको उल्लेख गर्दै विश्वविद्यालयको कठिन घडिमा स्थानीयको अनुकरणीय साथ रहनेमा विश्वास व्यक्त गरे ।


उनले आफू हौसिएर नबोल्ने तर काम गरेर देखाउने बताउँदै राष्ट्रको दुईवटा आधारभूत कुरा शिक्षा र स्वास्थ्यमा गुणस्तर नभएमा देश विकास नहुने उल्लेख गरे । स्वास्थ्यको कारणले जनता शारिरिक एवम् मानसिक रूपमा स्वस्थ हुने र यी कुरा भएपछि जनशक्ति उत्पादनमुखी भई राष्ट्रको विकासका लागि प्रतिबद्ध हुने बताए । उनले भने पोखरा विश्वविद्यालय शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय रूपमा सँगसँगै अगाडि बढाउन प्रतिबद्ध छ भन्दै जनताको लागि यी दुबै कुरामा खेलवाड नगर्ने बताए ।


मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीन सह–प्रा.डा. अजय थापाले अस्पताल विश्वविद्यालयको लागि लामो समयदेखि खड्किएको आवश्यकता भएको उल्लेख गर्दै यसको सञ्चालनका लागि विभिन्न चरणमा योजना बनाएर, विभिन्न प्रयत्न गरेर यसलाई आजको अवस्थामा ल्याइएको बताए । अस्पताल सञ्चालनले पठनपाठन गर्ने विद्यार्थीलाई सहज हुने उल्लेख गर्दै उनले यो समाजसँग जोडिएकोले समाज लगायत वरिपरिका व्यक्तिलाई सेवा सुविधा प्रभावकारी रूपमा उपलब्ध हुनेमा विश्वास व्यक्त गरे ।


पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन सह–प्रा.डा. अमर नागिलाले पोखरा विश्वविद्यालयको इतिहासमा शिक्षण अस्पताल सञ्चालन भएको दिन भाद्र २२ गते स्वर्णिम अक्षरले लेखिने बताए । उनले आफू पदाधिकारी भएर एउटा मात्र काम गर्छु भन्दै शिक्षण अस्पताल स्थापनाको कार्ययोजना, तालिका बनाएर विश्वविद्यालय समक्ष पेश गरेको र त्यसमा विश्वविद्यालयले आफूलाई विश्वास गरी जिम्मेवारी दिएका कारण अस्पताल सञ्चालन गर्न सफल भएको उल्लेख गरे ।
डीन नागिलाले स्वास्थ्य क्षेत्रमा कसैको दबदवाब हुनुहुँदैन भन्दै स्वास्थ्य सेवामा सबैको पवित्र सेवाको भाव झल्किने क्षेत्र भएकोले विश्वविद्यालयमा समस्या आउन नहुने बताए । उनले अस्पताल सञ्चालनमा अत्याधुनिक मेशिन र राम्रो जनशक्ति राख्ने कुरामा कुनै सम्झौता नहुने भनाई राखे ।


हाल एकजना प्रसुति तथा स्त्रीरोग विशेषज्ञ एवम् एकजना अर्थोपेडिक सर्जन गरी दुई जना डाक्टरमार्फत १० बजेदेखि २ बजेसम्म टिकट काटी बहिरङ्ग सेवा (ओपिडि) सञ्चालन हुने, दुईजना मेडिकल अफिसर समेतको सहयोगमा जनरल मेडिसिन, अन्य चोटपटक, दुर्घटनासम्बन्धी बिरामीको जाँच हुने, दैनिक १०० देखि २०० जनासम्मलाई ओपिडिमा सेवा दिन अस्पताल जनशक्ति तम्तयार रहेको र जनरल मेडिसिनदेखि लिएर विरामीलाई काउन्सिल गर्ने, स्वास्थ्य शिविर सञ्चालन गरिने योजना रहेको जानकारी दियो ।


साथै तीन महिनामा ईमर्जेन्सी सेवा सञ्चालन गर्ने, ईमर्जेन्सीका लागि १० बेड र ९० जनरल बेड राख्ने गरी कार्य अगाडि बढाइने जनाएको छ । कार्यक्रमको सञ्चालन पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टरद्वय लक्ष्मी पौडेल र जितेन्द्र राज कोइरालाले गरेका थिए ।