आईटी आफैमा वृहत् क्षेत्र हो । तर आईटी विकासको चरम उत्कर्षमा पुगेका देशहरुमा समेत माग अनुसारका जनशक्ति पाउन मुस्किल छ । भनिन्छ, आईटी क्षेत्रमा १० वटा काम बराबर एक व्यक्ति छन् । कामको मागअनुसार जनशक्ति अझै अपुग छ । एउटा व्यक्तिले आईटीका धेरै काम गर्नुपर्ने अवस्था छ ।
हालका आईटी कम्पनीहरूले डिसिपिएलई अर्थात डिजाइन, ल्याङ्वेज, मार्केटिङ, स्टाटटिस्टिस एनालाइसिस र म्यानेजमेन्ट आदिसँग समन्वय गरेरअघि बढिरहेको हुनाले पनि आईटी कम्पनीहरूमा जागिर खानका लागि आईटी नै पढ्नुपर्छ भन्ने बाध्यता छैन । आईटी पढ्नेहरू सफ्टवेयर इन्जिनियरिङ मात्र नै बन्नुपर्छ भन्ने छैन । यसबाहेकका गेमिङ, इन्टरफेस डिजाइन आदिमा आबद्ध भएर पनि आफ्नो सीप र सिर्जनाबाट धेरै नै आर्जन गर्न सकिन्छ । आईटीका विद्यार्थी थुप्रै उद्योगमा काम पाउन सक्छन ।, जस्तै– सफ्टवेयर उद्योग, आर्थिक संस्था, स्वास्थ्य, कर्पोरेट संस्थाहरू । केही चलेका करियर क्षेत्र आइटिका विद्यार्थीलाई राम्रा हुन्छन् तिनीहरूमध्ये केही तल उल्लेख गरिएको छ ।
सफ्टवेयर डेभलपमेन्ट र टेस्टिङ
करिअर कास्टको सर्भेलाई आधार मान्ने हो भने अहिले विश्वबजारमा सबैभन्दा बढी माग भएको जागिर भनेको सफ्टवेयर डेभलपमेन्ट र टेस्टिङ हो । । सफ्टवेयर डेभलपरहरूले कुनै पनि प्लेटफर्म प्रयोग गर्न सक्छन्, जस्तै भी.बी. नेट, भिजुअल बेसिक (भि.बी.), जाभा, पिएचपी, डेल्फी, ओराकल, बिजनेस इन्टेलिजेनस आदि ।
अहिले सफ्टवेयर कम्पनी धेरै नै विकसित भइसकेका छन् । विश्वबजारमा सफ्टवेयर कम्पनीले धेरै नै ठूलो स्थान ओगट्न सफल भइरहेका छन् । नेपालमा पनि दर्जनौँ सफ्टवेयर कम्पनीले राम्रो काम गरिरहेका छन् । डियरवाल्क, डिटू हकाई, योमरी, एफवान सफ्टलगायतका सफ्टवेयर कम्पनीले सयौँ नेपाली जनशक्तिलाई राम्रो पारिश्रमिक दिएर काम गरिरहेका छन् । नेपालभित्रै बैंकिङ, फाइनान्स र शिक्षा क्षेत्रमा मर्कन्टाइल, इन्फो डेभलपर्स, मिदासलगायतका कम्पनीले काम गरिरहेका छन् । नेपालभित्रै रहेर करियर बनाउनेलाई यी लगायतका कम्पनीमा राम्रो प्लटफर्म हुनसक्छ ।
वेब डेभलपर र डिजाइनर
वेब डेभलपरको काम वेबसाइटहरू र वेब एप्लिकेसनहरूको विकास गर्नु हो । वेब डेभलपरले कुनै पनि प्रोग्रामिङ ल्याङ्वेज प्रयोग गर्न सक्छन् । जस्तै पिएचपी, एसएसपी नेट, एसएसपी, जेएसपी पेप्ल, रुविअन रेल्स आदि । नेपालमा पिएचपी र एएसपी डटनेटको ठूलो क्षेत्र छ । प्रायः सफ्टवेयर कम्पनीहरू पिएचपीलाई प्लेटफर्म ठान्दछन् । पिएचपी वेब डेभलोपरहरू खुला सफ्टवेयरहरूजस्तै जुम्ला वर्डप्रेस, डुपल म्यागेन्टोहरूमा विशेषज्ञ भएर ठूलो रकम आर्जन गर्न सक्दछन् । पिएचपी फ्रेमवर्क जस्तै जेन्ड, कोडेलनिटर, केक पिएचपीहरूको ज्ञान हुँदा राम्रो हुन्छ । नेपालका सफ्टवेयर कम्पनीहरूमा पिएचपी डेभलोपरहरूको ठूलो आवश्कता छ ।
वेब डिजाइनरको पेसा वेबसाइट डिजाइन गर्नु हो । वेब डिजाइनर बन्नका लागि फोटोसपरफायरफक्स एचटिएमएल, सिएसएस, जाभास्क्रिप्ट, सेक्युरिटीहरूको ज्ञान हुनुपर्दछ । वेब डिजाइनर सिर्जनशील नभइनकन आकर्षण वेबसाइटहरूको निर्माण हुन सक्दैन । नेपालमा अहिले धेरै युवा वेब डेभलपर र डिजाइनरमा संलग्न छन् । देशभर हेर्ने हो भने सयभन्दा बढी कम्पनीले वेब डेभलपमेन्टको सुविधा दिइरहेका छन् । घरघरमै बसेर आउटसोर्सिङ गर्नेहरू पनि धेरै छन् । वेब डेभलपमेन्ट र डिजाइनिङमा नेपालमा न्यूनतम १५ हजारदेखि ५० हजारसम्मको पारिश्रमिक पाइरहेको अवस्था छ ।
इन्टरफेस डिजाइन
स्मार्टफोन अहिले मानिसको अभिन्न अंग भइसकेको छ । अहिले स्मार्टफोनले एउटा डेक्सटपले गर्नेभन्दा बढी काम गर्न थालेको छ । टेक पण्डितहरूका अनुसार सन् २०१८ सम्ममा इन्टरनेट प्रयोग गर्नका लागि मोबाइलले पूर्ण रूपमा डेक्सटप र ल्यापटपलाई विस्थापित गर्नेछन् । त्यसैले गर्दा अब बन्ने वेबसाइटहरू मोबाइल वेबसाइट हुनुपर्छ । इन्टरफेस डिजाइनको मुख्य काम भनेको वेबसाइटको इन्टरफेस डिजाइन गर्ने हो । एउटा इन्टरफेस डिजाइनरले युजरको चाहनालाई हेरेर उनीहरूको आवश्यकता अनुसारको डिजाइन गर्न सकिन्छ ।