कञ्चनपुर/३० जेठ-कञ्चनपुरमा अत्यधिक गर्मी बढेसँगै विद्यालयमा स्थानीय तहले बिदा दिन थालेका छन् । साथै दिइएको बिदा पनि गर्मीका कारण लम्ब्याउन थालेका छन् । गर्मीका कारण विद्यालयमा विद्यार्थी बेहोस हुने, बिरामी पर्ने र कक्षा कोठामा बस्न निकै अप्ठेरो हुन थालेपछि स्थानीय तहले बिदा थप्दै जान थालेका हुन् ।
भीमदत्त नगरपालिकाले असार ३ गतेसम्मका लागि विद्यालयमा बिदा थप गरेको छ । नगरपालिकाका शाखा अधिकृत हरिदत्त जोशीका अनुसार यसअघि अत्यधिक गर्मी बढेसँगै जेठ २४ देखि २७ गतेसम्म विद्यालयमा बिदा दिइएको थियो । गर्मी झनै बढ्न थालेपछि लामो बिदाबाट मिलान गर्ने गरी बिदाको अवधि थप गरिएको उनले बताए । नगर क्षेत्रमा रहेका सबै सामुदायिक विद्यालयलाई वैकल्पिक प्रणालीबाट सिकाइ गर्ने व्यवस्था मिलाउन विद्यालयमा परिपत्रसमेत गरिएको छ ।
गर्मी बढेकै कारण शुक्लाफाँटा, वेदकोट, कृष्णपुर, बेलौरी, दोधारा चाँदनी नगरपालिकासँगै बेलडाँडी र लालझाडी गाउँपालिकाले समेत सामुदायिक विद्यालयमा बिदा दिएका छन् । वर्षा नहुँदा कञ्चनपुरमा दिउँसोको तापक्रम ४५ देखि ४७ डिग्रीसम्म पुग्ने गरेको छ ।



