झापा/२२ जेठ-विश्व वातावरण दिवसको अवसरमा झापाको काँकरभिट्टा स्थित सूर्योदय इङ्लिस बोर्डिङ स्कुलले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको छ । इको क्लब आइतबार कक्षा ८, ९ र १० का विद्यार्थीलाई सहभागी गराई वृक्षारोपण तथा बिरुवा वितरण कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको हो ।

विद्यालय परिसरबाट निस्केको करिब ९० जनाको ¥यालीमा विद्यालयका शिक्षकहरु समेत सहभागी थिए । उक्त ¥यालीमा ‘हरियो वन नेपालको धन’, ‘फोहोर मैला व्यवस्थापन गरौँ’, ‘वन विनास ज्यानको नास’, ‘एक मात्र पृथ्वी’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर विद्यार्थीहरुले बजार परिक्रमा गरी यहाँ स्थित भट्टराईचोकमा विभिन्न क्रार्यक्रम गरेको कुरा विद्यालयका प्रधानाध्यापक शिव मैनालीले जानकारी दिए ।

इको क्लबकी अध्यक्ष पालसाङ्मु तामाङका अनुसार वातावरणीय प्रदुषणका कारण मानव जीवन मात्रै नभएर सम्पूर्ण जीवन जगतमा विभिन्न समस्या आइरहेको छ । ‘अझ पनि हामी सचेत नहुने र यस्ता कार्यक्रम नगर्ने तथा चेतना नफैलाउने हो भने स्थिति अझ डरलाग्दो हुन्छ ’ तामाङले बताइन ।
भट्टराई चोकमा गरिएको कार्यक्रम कक्षा १० का विद्यार्थी पालसाङ्मु तामाङ, प्रिया तामाङ, सुम्निमा राईले चेतनामुलक कविता वाचन गरेका थिए । त्यसै गरी कक्षा दुईकी संस्कृती पौडेलले पर्यावरणबारे कविता वाचन गरिन् भने सक्षम दाहाल, माङ्गेना लिम्बू, नेहा धमला लगाएतका विद्यार्थीले वातावरण बारे कविता सुनाएका थिए । यसै क्रममा साइमन गुरुङ्गको समुहले चेतनामुलक नृत्य प्रदर्शन गरेको थियो भने प्रिया तामाङ र पासाङ्मु तामाङले सम्वाद शैलीमा पर्यावरणीय चेतना बाँडेका थिए ।

उक्त कार्यक्रमको उद्घोषकका रुपमा विद्यार्थी तिनजिन तामाङ, स्मरण अधिकारी, तपस निरौला र प्रतिक अधिकारी थिए भने कार्यक्रम उद्घाटन शिक्षक सन्देश सुब्बाले गरेका थिए । कार्यक्रममा शिक्षिका सुमित्रा बाँस्तोलाको कविता जोडदार थियो । चेतनामूलक कार्यक्रम पश्चात् सयौँको सङ्ख्यामा उपस्थित दर्शकलाई विभिन्न प्रकारका बिरुवा वितरण गरिएको थियो ।
स्थानीय तुर्केनी खेल मैदान वरिपरि सयौँ बिरुवा रोपण गरिएको छ । विद्यालयलाई उक्त बिरुवा मेचीनगर –३, डाँडागाउँ स्थित बहुवन वन कार्यालयले उपलब्ध गराएको कुरा शिक्षक रामचन्द्र पौडेलले बताए । विद्यालयले आयोजना गरेको सो कार्यक्रमको समापन शिक्षक एसपी लुइटेलले गरेका थिए ।




