काठमाडौं/१४ वैशाख-शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले वेदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ९ वटा कलेजहरुलाई विश्वविद्यालयको नाम, सञ्चालन स्थान, कम्पनीको नाम, कलेजको नाम र कार्यक्रम परिवर्तनका लागि अनुमति दिएको छ । विभिन्न विषयमा परिवर्तनका लागि आवेदन दिएका १५ कलेज मध्ये निर्देशिका अनुसार प्रक्रिया र मापदण्ड पुरा गरेका मध्ये ९ वटा कलेजलाई अनुमति दिएको हो ।
उच्च स्तरीय मुल्याङ्कन तथा अनुगमन समितिले पेश गरेको प्रतिवेदनका आधारमा ९ वटा कलेजलाई विश्वविद्यालयको नाम, सञ्चालन स्थान, कम्पनीको नाम, कलेजको नाम र कार्यक्रम परिवर्तनका लागि अनुमति दिएको र स्थलगत अनुगमन गर्दा सकारात्मक प्रतिवेदन नआएका बाँकी ६ कलेजलाई तत्कालका लागि कुनै पनि परिवर्तन गर्न अनुमति नदिएको मन्त्रालय स्रोतले खबर एजुकेसनलाई जानकारी दिएको छ ।
परिवर्तनका लागि अनुमति पाउँने कलेजहरुमा मैतिदेवीमा रहेको सन वे इन्टरनेशनल विजनेस स्कुलको हाल रहेको मलेशियाको इनफ्रास्ट्रक्चर विश्वविद्यालयबाट परिवर्तन गरी बेलायतको वरमिङ्गम सिटी विश्वविद्यालय, निभा म्यानेजमेन्ट एण्ड आइटी कलेज झापाको सिक्किम मनिपाल विश्वविद्यालय इण्डियाबाट परिवर्तन गरी बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन लिएको र कम्पनीको नाम इन्टरनेशनल स्कुल अफ म्यनेजमेन्ट एण्ड टेक्नोलोजि प्रालिमा परिवर्तन गरेको छ । साथै सञ्चालन स्थान झापाबाट पोखरमा सारीएको छ ।
त्यसैगरी वेलह्याम्स एजुकेशन नेटवर्क प्रालि ललितपुरले विश्वविद्यालय अफ मद्रास इण्डिया परिवर्तन गरी बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन लिएको र कम्पनीको नाम परिवर्तन गरी इन्टरनशनल स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजि राखिएको छ । कार्यक्रम सञ्चालन स्थान ललितपुरबाट चितवनको भरतपुरमा सारिएको छ ।
थापाथलिको द ब्रिटिस कलेजले युनिर्भसिटी अफ वेस्ट इंल्याण्ड बेलायतबाट सञ्चालन रहेको कार्यक्रम बिएस्सी फरेन्सिक कम्प्युटिङ्ग एण्ड सेक्युरिटीलाई परिवर्तन गरी बिएस्सी साईबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक चार वर्षे कार्यक्रम सञ्चालनका लागि अनुमति प्राप्त गरेको छ ।
बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट सम्बन्ध प्राप्त थापाथलिमा ए लेभल सञ्चालन गरेको ब्रिटिस मोडेल कलेजले सञ्चालनको स्थान परीवर्तन गरी ललितपुर-११, चाकुपाटमा सार्ने भएको छ । सिनामंगल स्थित एस् इन्टरनेशनल विजनेस स्कुलले बेलायतको Queen Margaret University बाट परिवर्तन गरी Glasgow Caledonian University Scotland परिवर्तन गरेको छ भने माग गरीएको कार्यक्रम मध्ये दुईवटा कार्यक्रम सञ्चालनको लागि अनुमति पाएको छ ।
काठमाडौंको धोविधारामा रहेको इन्स्टीच्युट अफ इन्टरनेशनल म्यानेजमेन्ट साइन्स कलेजले मलेसियाको UCSI विश्वविद्यालयलाई परिवर्तन गरी मलेसियाकै Taylor’s University बाट सम्बन्धन लिएको छ । साथै बिएचएम र बिबिए कार्यक्रम सञ्चालन रहेको र चार वर्षे व्याच्लर्स अफ कम्प्युटर साइन्स्, बिएचएम र बिबिए माग गरीएकोमा कुनै दुई विषय मात्र सञ्चालनको अनुमति दिएको छ ।
एकेडेमी अफ कुलिनरी आटर्स एण्ड म्यानेजमेन्ट लगनखेलको कम्पनी र शिक्षण संस्थाको नाम परिवर्तन गरी सेन्टर फर लिडरसिप एण्ड इन्टरप्रेनरसिप प्रालि र शिक्षण संस्थाको नाम सेन्टर फर लिडरसिप एण्ड इन्टरप्रेनरसिप बनाइएको छ ।
मिड भ्यालि इन्टरनेश्नल कलेजले अनुमति प्राप्त कार्यक्रम मध्ये व्याच्लर्स अफ विजनेस एकाउन्टिङको अनुमति खारेज गरिदिन माग गरेकोमा ३५ दिने सूचना जारी गरे पश्चात मात्र अनुमति खारेज गर्न दिने भएको छ ।
उच्च स्तरीय मुल्याङ्कन तथा अनुगमन समितिले स्थलगत अनुगमन गरी पेस गरेको प्रतिवेदनमा सकारात्मक प्रतिवेदन नदिएका कारण ६ वटा कलेजको विश्वविद्यालयको नाम, सञ्चालन स्थान, कम्पनीको नाम, कलेजको नाम र कार्यक्रम परिवर्तनका लागि अनुमति दिएको छैन । परिवर्तनका लागि अनुमति नपाउने कलेजहरुमा धरानको केन्ट कलेज, फोब्स कलेज चितवन, पाल्पा इन्टरनेशनल कलेज लगायतका गरी ६ वटा कलेज रहेका छन् ।
विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने निर्देशिका २०५९ (संशोधन सहित )को दाफा ६ (१) अनुसार विदेशी शिक्षण संस्थाको सम्बन्धमा नेपाल शिक्षण संस्था अनुमती प्राप्तीका लागि दर्ता भएका निवेदन उपर छानविन गर्न र आवश्यक निर्णय सहितको सिफारीस गर्न मन्त्रालयले शिक्षा मन्त्री वा राज्य मन्त्रीको अध्यक्षतामा उच्च स्तरीय मुल्याङ्कन तथा अनुगमन समित गठन गर्ने व्यावस्था रहेको छ ।
उक्त समितले गत वर्षकोे पुस ६ गते बैठक बसि कलेजको नविकरण गर्न, विश्वविद्यालयको नाम परिवर्तन गर्न, सञ्चालन स्थान, कम्पनीको नाम, कलेजको नाम, कार्यक्रम परीवर्तन र कार्यक्रम थप गर्नका लागि आवेदन दिएका कलेज वा शिक्षण संस्थाहरुको स्थलगत अनुगमन गरी प्रतिवेदन पेश गर्न उप समिति गठन गरेको थियो ।
सो उप-समितिले विश्वविद्यालयको नाम परविर्तन गर्न, सञ्चालन स्थान, कम्पनीको नाम, कलेजको नाम र कार्यक्रम परिवर्तनको लागि प्रतिवेदन बुझाए पनि नविकरण र कार्यक्रम थपको अन्तिम प्रतिवेदन अहिले सम्म बुझाएका छैनन् ।



