काठमाडौं /१२ वैशाख-काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन र नेपालका नमुना विद्यालय विच एक दिने भर्चुयल अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्कूल अफ एजुकेशन संकायको र नेपालका नमुना विद्यालय विच आपसी सहकार्यको सम्भावना सम्वन्धी एक दिने भर्चुयल अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
उक्त अन्तक्रियामा ५२ वटा नमुना विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने कार्यक्रमलाई काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनका डीन प्रा.डा. बालचन्द्र लुइँटेलले विशेष सम्वोधन गरेका थिए । साथै कार्यक्रममा उठेका प्रश्न अनि जिज्ञासाहरुको जवाफ पनि दिएका थिए ।
कार्यक्रमको संयोजन एजुकेशनल लिडरशिप विभागका प्रमुख डा. शेषकान्त पंगेनी र अनुसन्धान सहायक विकास घजुले गरेका थिए । सहायक डीन डा. धनपति सुवेदीले सहभागीहरुबाट उठेका प्रश्न र जिज्ञासाहरुको जवाफ सहित सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । उक्त कार्यक्रममा शिक्षा मन्त्रालयका पूर्व महानिर्देशक डा. तुलसी थपलियाले मन्त्रालय र नमुना विद्यालयहरुको सम्वन्ध, कार्यक्रमहरु र सम्भावित कार्यक्रमहरुका सम्वन्धमा आफ्नो अनुभव साटे ।
कार्यक्रममा सहभागी प्रधानाध्यापकहरुले काठमाडौं विश्वविद्यालयबाट छोटो अवधिको नेतृत्व विकास तालिमको अपेक्षा गरिएको वताए । हाललाई विद्यार्थी भर्नाको खासै समस्या नभएको तर शिक्षकलाई कक्षा व्यवस्थापनमा समस्या रहेको विचार व्यक्त गरेका थिए ।
कक्षा ९–१२ मा रहेको प्राविधिक शिक्षाका विषयमा बढी समस्याहरु रहेको र कार्यक्रममा पढाउने शिक्षकहरुको अभाव, कार्यशालाको अभाव, कार्यमा आधारित सिकाइमा समस्या लगायत १२ कक्षा पश्चात् विद्यार्थीहरुको आगामी मार्गका सम्वन्धमा जिज्ञासाहरु उठेका थिए ।
ती जिज्ञासाहरुको जवाफ दिनु हुँदै डीन प्रा. डा. लुइँटेलले काठमाडौं विश्वविद्यालयले यस वर्ष सिन्धुली, जनकपुर र बुटवलमा तीनवटा प्राविधिक विषयका शिक्षकहरु उत्पादन गर्न स्नातक तहमा बि.टेक.एड.को कार्यक्रम संचालन भइसकेको र क्रमशः थप विषयहरु सहित देशव्यापी फैलाउँदै जाने योजना रहेको जानकारी दिए । जसले एकातिर प्राविधिक शिक्षक अभावको समस्या समाधान गर्न सहयोग गर्छ भने अर्कोतिर कक्षा १२ पश्चात् विद्यार्थीहरुका लागि उपयुक्त गन्तव्य हुने कुरा पनि अवगत गरे ।
त्यस्तै काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनमा तालिम, गोष्ठीको मोडालिटीमा प्रधानाध्यापक र शिक्षकहरुलाई पिजिडीई, स्नातकोत्तर एक वर्षे र दुई वर्षे तहमा एजुकेशनल लिडरशिप, स्टीम एजुकेशन, डेभलेपमेन्ट स्टडिज, र अंग्रेजी र गणित विषयहरुमा साँझ अनलाइनमा कक्षाहरु संचालन भइरहको पनि सूचना प्रदान गरे । धेरै सार्वजनिक विद्यालयहरुसँग एमओयु सम्झौता भइरहेको र केयूसँग छोटा अवधिका तालिमहरु रहेको पनि प्रष्ट पारे ।
कार्यक्रमको अन्तमा धन्यवाद ज्ञापनका क्रममा सहायक डीन डा. सुवेदीले कार्यक्रममा उठेका जिज्ञासा र प्रश्नहरुलाई मन्त्रालयसम्म पुर्याउने वाचा गर्दै प्र.अ.लगायत शिक्षकहरुलाई काठमाडौं विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरुमा सहभागी हुन अनुरोध गरे । आगामी दिनहरुमा उहाँहरुको साथ र सहयोग प्राप्त भए सम्वन्धित विद्यालयहरुमै तालिम आयोजना गर्न सकिने कुरा पनि प्रष्ट पारे ।



