भद्रकुमारी घलेका एउटै मञ्चबाट १५१ पुस्तक विमोचन गरिँदै

काठमाडौं /४ बैशाख-वरिष्ठ समाजसेवी, साहित्यकार तथा कलाकार भद्रकुमारी घलेले लेखेका विभिन्न विधाका १ सय ५१ पुस्तकहरु एकैसाथ हुने भएको छ । भद्रकुमारी घले सेवा सदनको वार्षिक साधारण सभाका अवसरमा वैशाख १० गते पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन हुन लागेको हो ।


वैशाख १० गते बिमोचन हुन लागेका १ सय ५१ पुस्तकहरुमा निबन्ध, कविता, भजन संग्रह लागयत रहेको घलेले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् । पुस्तकहरुमा जीवन, जगत, कोरोना महामारीको भोगाई, नेपालको समसामयिक राजीनितिक असर, सामाजिक चेतना, दर्शन,इतिहासका विषयवस्तुहरु समेटिएको बताइन ।


९१ वर्षको उमेर पार गरिसकेकी घलेका १ सय ५१ वटा पुस्तक एकैसाथ बिमोचन हुने बिषयलाई गिजिन वुक अफ वल्र्ड रेकर्डमा लैजाने योजना बनाइएको भद्रकुमारी घले सेवा सदनले जनाएको छ । पुस्तक विमोचनका दिन विभिन्न क्षेत्रमा योगदान गरेका १ सय ५१ जना महिलालाई नै सम्मान समेत गर्न लागिएको छ ।


यसअघि विविध विधाका साहित्य, संस्कृति, कला र आफ्नै जीवन भोगाइसँग सम्बन्धित १ सय ४१ पुस्तकहरु प्रकाशित गरिसकेकी घलेले एउटै मञ्चबाट ४९ पुस्तकहरुको एकसाथ विमोचन गरिसकेकी छिन् ।