प्याब्सन महाधिवेशन : होला त सर्वसहमति, यस्तो छ तयारी

काठमाडौं /२ चैत-निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)ले अबको नेतृत्व चयनका लागि सर्वसहमतिको प्रयास गरे पनि सम्भावना न्युन देखिएको छ । १५औं राष्ट्रिय महाधिवेशन आगामी चैत ९ र १० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने तयारी गरिरहेको बेला माथिल्लो पदमा आउनका लागि आकांक्षी धेरै देखिएकाले सर्वसहमति हुने सम्भावना कम देखिएको हो ।


प्याब्सनको संशोधित विधान अनुसार महाधिवेशन हुनु भन्दा ७ दिन अगाडि नै उम्मेदवारी मनोनयन गर्नुपर्ने व्यावस्था भएकोले चैत २ गते बुधबार उम्मेदवारी दर्ता गर्नुपर्ने छ । तर, स्रोतका अनुसार अहिलेसम्म अध्यक्ष बाहेकका अरु पदहरुमा सर्वसम्मत गर्नका लागि निरन्तर लागिरहे पनि सहमति हुने कुनै संकेत नदेखिएको जनाएको छ ।


अहिलेका सहअध्यक्ष डिके ढुंगाना अध्यक्ष पदका लागि भद्र सहमति भएका कारण अध्यक्षमा सकेसम्म कसैले पनि मनोनयन दर्ता गर्न नहुने स्रोतले बताउँदै बाँकी पदका लागि निर्वाचन हुन सक्ने बताएको छ । स्रोतले चेत २ गतेपछि पनि अझै केहि दिन बाँकी रहेने र क कस्ले कुन कुन पदका लागि मनोनयन दिए भन्ने थाहा हुने हुँदा त्यसै अनुरुप सहमतिको प्रयास गरीने पनि जनाएको छ ।


तर, इश्वर बहादुर गुरुङ्लाई सह अध्यक्ष र गोपाल प्रसाद आचार्यलाई वरिष्ठ उपाध्यक्ष बनाए मात्रै सर्वसहमति हुन सक्ने स्रातले जनाएको छ । स्रोतले भन्यो “सर्वसहमति भएपनि निर्वाचनमा गएपनि इश्वर बहादुर गुरुङ्लाई सह अध्यक्षमा गोपाल प्रसाद आचार्य वरिष्ठ उपाध्यक्ष नै हुनुपर्छ ।”


त्यसैगरी सहमति अनुसार इश्वर बहादुर गुरुङ्लाई सह अध्यक्षमा गोपाल प्रसाद आचार्यलाई वरिष्ठ उपाध्यक्ष दिएको खण्डमा महासचिव अहिलेका सहअध्यक्षले राजेको व्याक्ति राख्न दिने जनाएको छ । साथै अरुपदको पनि त्यसैगरी मिलाउन सकिने समेत खबर एजुकेसनलाई बताएको छ ।


यता प्याब्सनको विधानमा राजनीतिक प्रभावका आधारमा प्यनल बनाउन नपाइने उल्लेख गरीए पनि भित्रि रुपमा दुई समुहमा विभाजन भइसकेको छ । अघिल्ला वर्षमा देखिएका प्यानल यो वर्ष भने गुपचुप रुपमा बैठक बस्दै योजना बनाउने र आ आफ्नो समुह ल्याउनका लागि कस्सिएको देखिएको छ । स्रोतले बताए अनुसार निरन्तर रुपमा दुबै समुह गोप्य बैठक बसिरहेको तर बाहिर नभनेको जनाएको छ ।


महाधिवेशनले तीन वर्षे कार्यकालका लागि २७ जना पदाधिकारीहरू र ३९ जना सदस्य सहित ६६ जनाको कार्यसमिति चयन गर्ने छ ।