युवराज रेग्मी
झापा/२६ फागुन-झापाको गौरादह नगर अन्तरगतका सामुदायिक विद्यालयमा पाठ्यक्रम कार्यन्वयन सम्बन्धी दुईदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
बैकल्पिक सिकाइ तथा पाठ्यक्रममा आधारित दुईदिने अभिमुखिकरण अन्तरगत गौरादह नगरमा रहेका सामुदायिक विद्यालयको प्राथमिक तहमा अध्यापन गराउने सम्पुर्ण शिक्षकहरुलाई ६ वटा केन्द्र मार्फत अभिमुखिकरण गराइएको हो ।
गौरादह नगरपालिका शिक्षा युवा तथा खेलकुद साखाको आयोजनामा प्राथमिक तह अन्तरगत कक्षा (१–३)को नयाँ पाठ्यक्रमको अभिमुखिकरण सञ्चालन गरिएको नगर शिक्षा अधिकारी टेक नाथ रेग्मीले जनाए ।
अभिमुखिकरण अन्तरगत गौरादह नगरमा प्राथमिक तहमा अध्यापनरत १ सय ६३ जना शिक्षकहरु लाई अभिमुखिकरण गराउने उदेश्य अनुरुप कार्यक्रम सञ्चालन गरिएको गौरादह नगर शिक्षा शाखाका प्राविधिक सहायक रोहित पौडेलले जानकारी दिए ।
कोरोना महामारी बाट प्रभावित भएको विद्यालय शिक्षा लाई प्रभावकारी बनाउनुका साथै वैकल्पिक रुपमा विद्यार्थीहरुको सिकाई सहजीकरण अभिवृद्धि गराउने उदेश्यले गौरादह नगर अन्तरगत रहेका सामुदायिक विद्यालयहरुको प्राथमिक तह (१–३) अन्तरगत पाठ्यक्रम कार्यान्वयन अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
तालीम संचालित केन्द्र अन्तरगत भद्रकाली मावि केन्द्र , प्रगती मावि केन्द्र र अमर मावि बैगुन्धुरा केन्द्रमा गत १२ र १३ गते अभिमुखिकरण सम्पन्न भैसकेको छ ।
अभिमुखिकरण कार्यक्रम अन्तरगत जनता मावि गौरादह १ केन्द्र , डोरामारी मावि केन्द्र र स्कुलचौन मावि केन्द्रमा यहि फाल्गुन २५ र २६ गते तालिम कार्यक्रम सम्पन्न भएको डोरामारी केन्द्रका तालिम सहजकर्ता हेम कुमार बरालले बताए ।
डोरामारी केन्द्रको अभिमुखिकरण कार्यक्रम समापन लाई सम्बोधन गर्दै उक्त केन्द्रका सहजकर्ता तथा जनता मावि गौरादह–५ बालुबथानका प्रअ रत्न कटवालले सामुदायिक विद्यालय भनेको हुँदाखाने बालबालिकाहरु अध्ययन गर्ने विद्यालय भनेर चिनिने हुनाले आफुहरु हुँदाखाने विद्यार्थीहरुका शिक्षक भएको र ती बालबालिकाको भविष्यलाई आत्मसाथ गर्दै त्यस्ता बालबालिकाहरुको भविष्य उज्वल बनाउनका निम्ति कटिबद्ध भएर लागि परेको बताए ।



