काठमाडौं विश्वविद्यालयको बीटेक एडआईटी जनकपुरमा

जनकपुर/२५ फागुन-काठमाण्डौं विश्वविद्यालयले जानकी कलेज फर प्रोफेशनल स्टडीजसँगको सहकार्यमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा ब्याचर अफ टेक्निकल एजुकेसन ईन ईनफर्मेशन टेक्नोलोजी ( बीटेक एडआईटी) ४ वर्षे स्नातक कार्यक्रमको शुरुवात गरेको छ ।


कार्यक्रमको औपचारिक घोषणा गर्दै मुख्यमन्त्री लालबाबु राउतले बीटेक एडआईटीले मधेश प्रदेशलाई नेपालको प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकसित गर्ने विश्वास व्यक्त गर्दे काठमाण्डौं विश्वविद्यालयलाई यसका लागि धन्यवाद दिए । उनले यस कार्यक्रमले सुचना प्रविधि जस्तो अपार सम्भावना रहेको क्षेत्रमा दक्ष जनशक्तिको उत्पादनले मधेश प्रदेशको विकासमा ठुलो टेवा पुग्ने बताए ।


काठमाण्डौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन बालचन्द्र लुईटेलले हाल प्राविधिक शिक्षालयहरुमा अध्यापन गराउने शिक्षकहरुको अभाव कम गर्न यस कार्यक्रमले ठुलो मद्दत पु¥याउने विश्वास व्यक्त गरे ।


त्यसैगरी जानकी कलेजका अध्यक्ष पंकज जालानले नेपालको पहिलो आईटी कलेज लर्ड बुद्ध एजुकेशन फाउण्डेशन जानकी कलेज फर प्रोफेशनल स्टडीजको सहयोगी संस्था रहेको बताउँदै बीटेक एडआईटी कार्यक्रमको उद्देश्य सुचना प्रविधिको क्षेत्रमा प्राविधिक शिक्षक तयार गर्नु रहेको जनाए ।


उनले यस कार्यक्रममा भर्ना हुने विद्यार्थीले इन्टर्नर्सिपको लागि दोश्रो वर्षदेखि नै विद्यालयहरुमा अध्यापन गराउन जानुपर्ने भएकाले नेपाल सरकारले सञ्चालन गरेको पढ्दै कमाउदै कार्यक्रमलाई पनि सार्थक तुल्याउने अपेक्षा गरिएको बताए ।


साथै मधेश प्रदेशको साक्षरता र शैक्षिक स्तरमा वृद्धि गर्नका लागि जानकी कलेजको स्थापना यस प्रदेशको शिक्षाको क्षेत्रमा नर्या युग हुने बताए । उनले भने “यो प्रदेशका जेहेन्दार विद्यार्थीहरुले जनकपुरधाममा नै बसेर काठमाण्डौं विश्वविद्यालयले सञ्चालन गरेको सुचना प्रविधिसँग सम्बन्धीत स्नातक स्तरको कार्यक्रममा पढ्न पाउने र ४ वर्षे पढाई पुरा गरे पश्चात मधेश प्रदेशको शैक्षिक संस्थामा अध्यापन गर्न पाउने अवसर भएकोले ’ब्रेन ड्रेन‘ को समस्याबाट बिस्तारै पुरै देशलाई नै बचाउन असम्भव छैन ।”


चार वर्षे बीटेक. एडआईटीमा भर्ना हुनकोलागी कुनै पनि संकायबाट १२ कक्षा वा सो सरह वा सिटिइभीटीले सञ्चालन गरेको ३ वर्षे डिप्लोमा उत्तिर्ण गरेको हुनुपर्ने छ । चार वर्षे बीटेक.एडआईटीको कार्यक्रमलाई आठ सेमेस्टरमा विभाजित गरिएको छ भने कार्यक्रमको कुल भार १३८ क्रेडिट आवर रहेको छ । भर्नाका लागि विद्यार्थीहरुको छनौट काठमाण्डौं विश्वविद्यालयले सञ्चालन गरेको प्रवेश परिक्षाका आधारमा गरिने छ ।


कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री लालबाबु राउत रहेका थिए भने कार्यक्रमको सभापति जानकी कलेजका अध्यक्ष पंकज जालानले गरेका थिए । साथै मधेश प्रदेशका महान्यायधिवक्ता दिपेन्द्र झा, जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साह, विश्वविद्यालयको तर्फबाट स्कुल अफ एजुकेशनका डिन बालचन्द्र लुईटेल र स्टीम शिक्षाका हेड अफ द डिपार्टमेन्ट विनोद पन्त लगायतको सहभागिता रहेको थियो ।