शिक्षामन्त्री ज्यु ,“म साविक उच्च माविको शिक्षक” अन्यौलमा रहँदै जिवन धकेली रहेछु

सुर्खेत/३ फागुन-सम्माननिय प्रधानमन्त्री ज्यु मार्फत शिक्षामन्त्री ज्यु ,
२०५२ सालको एसएलसि परिक्षा को नतिजा २०५३ को असार २१ गते प्रकाशित हुँदा म कृषि कार्यमा बुबालाइ सघाउँदै थिए ।


नतिजा सँगै गाउँमा मलाई बधाई दिनेको कमि थिएन । साथसाथै म बराबर अंक प्राप्त गर्ने साथीहरु विज्ञान विषयको अध्ययन गर्न जिल्ला बाहिर जाने तयारी गरिरहेका थिए तर मेरो घरमा मेरो अगामी अध्ययनको लागी बुबा आमाको ओठ मुख सुकिरहेको थियो भने एस. एल. सि. नतिजा आउँदाको तेस्रो दिनमा घरमा रोपाइ थियो । आगामी अध्ययनको व्यवस्थापनको जिम्मा बुबामा अन्तिम अधिकार दिदै खेती कार्यमा लागी रहेको थिए ।


एक्कासी असार २८ गते मलाई सुर्खेत स्थित निजि विद्यालयमा अध्यापन कार्यका लागी बोलाइयो र श्रावण २ गते देखी नियमित शिक्षकको रुपमा काम गर्ने प्रस्ताव सुन्दा म छाङ्गाबाट खसे जस्तै भए यद्यपि मलाई कक्षा छ मा अध्यापन गराउनुहुने गुरुको सल्लाहबाट सुर्खेत मै मुल बिषय अंग्रेजÞी ,अर्थशास्त्र र गणित लिएर एस.एल.सी पछिको अध्ययन अगाडि बढाउन उत्प्रेरित गर्नुभयो । कारण थियो कि बुबाले आफ्नो आर्थिक अवस्थाको कारण मलाई बाहिर पठाउन नसक्ने र निजि विद्यालयमा अध्यापन गराउँदै अध्ययन गर्नको लागि बुबाको अनुरोधमा श्रदेय गुरु सागर भुसालले मलाई सहयोग गर्नु भएको थियो ।


निजी विद्यालयमै काम गर्दै स्नातक पढ्दै गर्दा २०५८ जेठमा तत्कालीन बिद्रोही माओवादीको निजी विद्यालय माथीको आक्रमणका कारण विद्यालयहरु बन्द भए ।


रोजगार गुम्यो, भाइ, बहिनी र म स्वयमको अध्ययन खर्च ,अन्य घरायसि खर्च लगाएत बिवाहित दिदिसँगको सम्पर्क र आवतजावत खर्चको समेत अभाव हुन थाल्यो । आर्थिक आम्दानीको बैकल्पिक श्रोतको रुपमा २ कठ्ठा जग्गामा टमाटर खेती गरे तर त्यो पनि बिरुवा फल्नै नपाउँदै सबै नष्ट भयो ।


संयोगबस २०५८ असोज १५ गते स्थानीय विद्यालय भैरब माविमा विगतमा काम गरेको निजी विद्यालयको भन्दा आधा तलब खाने गरी निजी श्रोत शिक्षकको रुपमा अंग्रेजÞी गणित अध्यापनका लागी नियुक्ति भएर शिक्षण कार्य गर्दै अगाडी बढे ।
यसरी काम गर्दै गर्दा निजी विद्यालयमा सिकेको अध्यापनको कला र सीप अनुभव प्रयोग गर्दै गए । निजी विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा अध्यापन गर्न आधा सजिलो अनुभुती भयो ।


यसै क्रममा २०६२ सालमा त्रिभुवन विश्वविद्यालयबाट अग्रेजी विषयमा स्नातकोत्तर तहको उपाधी प्राप्त गर्न सफल भए ।
एसएलसि उत्तीर्ण पश्चातको डाक्टर, इन्जिनियर हुने लक्ष्य घरको आर्थिक अवस्थाका कारण त्याग गर्दै २०४६ सालमा स्थापित भएका साविक उमावि तहका विद्यालय धमाधम खुल्न थाले र मैले पनि कम्तिमा त्याही तहको शिक्षकको जागिर खाने लक्ष्यका साथ मुल बिषय अंग्रेजÞी राखी अध्ययन कार्य जारी राखे हाल सम्म नत निजामती, नत प्रावी निमावी र माविकै शिक्षक सेवा आयोग लडे नत विश्वविद्यालय तहको आयोग ।


यसरी टाङ्गाको घोडाको नजर जस्तै उमावि तहको शिक्षकमा आँखा गाडेको मलाई २०६५ सालमा सुर्खेत कै पहाडी क्षेत्रको विद्यालयबाट विभिन्न प्रलोभन राखी अध्यापनका लागी प्रस्ताव आयो । १०/१५ दिन सोच बिचार गर्दै कुनै न कुनै दिन राज्यले उमावि तहको शिक्षकको व्यवस्थापन गर्ला भन्दै उक्त विद्यालयको आवश्यकता र मेरो आफ्नो लक्ष्यको एक सिढी पार हुनेछ भन्दै त्यतै हानिय । तत्कालिन समयमा स्नातकोत्तर पास भएका बौद्धिक व्यक्तिहरुको अभाव रहने गरेको थियो ।

कक्षा ११ र १२ को साबिक उमावि तहमा अध्यापन गर्दै गर्दा उक्त तहका शिक्षक सम्बन्धमा खोजी निति गर्ने क्रममा यस्तो पाए ।


– वि.स. २०४६ सालको तत्कालिन उच्च माध्यमिक शिक्षा ऐनमा शिक्षक व्यवस्थापन सम्बन्धमा कुनै बिषय उल्लेख नभएको ।
– वि.स २०५७ सालबाट साविक उमावि तहमा प्रति सामुदायिक विद्यालय एक शिक्षक बराबरको रकम दिन सुरु गरिएको जस्लाइ २०५८ सालबाट स्नातकोत्तर शैक्षिक उपाधी हासिल गरेका २ जना शिक्षक (मावि द्वितीय श्रेणी) उपप्राध्यापक वा सो सरह बराबर रकम दिदै आएको थियो ।


– वि.स २०६६/०६७ सालको बजेट्बाट अनुदान कोटा ४००० पुर्याइएको अबस्थामा २०६८ मंसिर १८ मा परिक्षा मार्फत उमावि शिक्षक अनुदान कोटामा नियुक्ति भैयो ।


– २०७१/०७२ को बजेट भाषणबाट थप २००० अस्थायी दरबन्दी सिर्जना गरिएको जसमा विद्यालय कनिस्टताको आधारमा विद्यालयले दरबन्दी कोटा प्राप्त गर्न सकेन फल स्वरुप उमावि तहमा नियुक्ति हुने जेष्ठ १० शिक्षक भित्र हुँदा पनि अनुदान कोटामै सिमित हुन बाध्य भैयो । पेशागत मुद्दालाई सबैमा उजागर गर्न साविक उमावि तहको जिल्ला , प्रदेश र केन्द्रको पदाधिकारी हुदै बारम्बार विभिन्न पेशागत संघ , संगठन ,साविकको युनियन, महासंघ लगाएत माओवादी , एमाले तथा नेपाली काङ्ग्रेसका केन्द्रिय नेतृत्वहरुको उपस्थितिमा औपचारिक कार्यक्रम मार्फत र व्यक्तिगत रुपमा भेटघाट गर्दै साविक उमावि शिक्षक वयवस्थापन गर्न अनुरोध गर्दा विद्यालयमा हुने अनुपस्थितीका दिन कति हुने हुन र शिक्षक स्वयमको खर्च कति लाग्ने हो पेशागत मुद्दामा लडाइ लड्ने पेशाकर्मिलाइ थाहा भएकै कुरा हो ।


– वि.स. २०७२ माघ २९ गते तत्कालीन मन्त्री स्तरिय निर्णयबाट सामुदायिक उच्च माध्यमिक शिक्षक निर्देशिका जारी गरिएको र त्यसैको आधारमा बिद्यालयले नै शिक्षक नियुक्ति र व्यवस्थापन गर्दै आइरहेको छ जबकि हालसम्म नेपाल सरकार मातहत एक जना पनि स्थायी शिक्षक व्यवस्थापन भएको छैन । यसै मुद्दालाई स्थापित गर्न एकातिर मानसिक तनाब त छदैछ अर्को तर्फ हाल मैले अध्यापन गर्दा मावि द्वितीय श्रेणी बराबरको तलब खाईरहँदा अनि मेरा २ नानी र एक बाबु अध्ययन गरिरहदा उनिहरु बिचको छलफल, आजको सुचना प्रविधि जमानामा आफ्नो भावी लक्ष्य ईन्टरनेट खोजी निती हेर्दा उनिहरुको पाइलट, डाक्टर र इन्जिनियर बन्न लाग्ने लागत खर्च सम्झिदा के मैले शिक्षण पेशा बाट प्राप्त गर्ने आर्थिक आम्दानिले थेग्ला त ? पैत्रिक सम्पत्ति बेचेर पनि पुग्न नसक्ने अवस्थामा रहेको अनुभुती हुन्छ ।


भन्नलाई आदर्शका कुरा जे भने पनि भयो तर यथार्थ अर्कै हुँदो रहेछ ।
कोरोना महामारी बीच बच्चालाई उपलब्ध गाराइको मोबाईल ल्यापटप पनि छुटा छुट्टै कोठामा बसेर कक्षामा समाबेश हुनुपर्ने अन्यथा उनिहरुको कक्षामा अबरोध आउने भएको हुँदा घर पनि ठुलो बनाउन नसकेको अनुभुती हुदै जान्छ र जे जस्तो बनाएको छु आधा तलब त त्यही घर बनाउन लिएको बैंक ब्याज तिर्न मै ठिक्क हुन्छ ।


एकातिर अस्थायी प्रकृतिको साविक उमावि तहको शिक्षकको पेशागत मुद्दा स्थापनाको खातिर लागी पर्नु पर्ने अर्को तिर विद्यालयमा कर्तब्यनिस्ठका साथ गर्नु पर्ने अध्यापन कार्य छ भने राम्रो र सुनौलो भविष्यको खातिर अध्ययनमा जुटिरहेका आफ्नै सन्तानको भविष्य के मेरो पेशा प्रतिको कर्तव्यनिस्ठाबाट प्राप्त आम्दानीले आर्थिक भार भविष्यमा व्योहोर्ला त ?
एक जना साथिको आमाले भन्नुहुन्थ्यो बाबु हामी मध्यम वर्गिय परिवारका लागी सन्तान पढाइमा अब्बल भए पनि दुखी , खराव भए पनि दुखी कारण रहेछ अब्बल हुँदा पढ्न चाहेको विषयका लागी आर्थिक जोहो पुर्याउन नै नसकिने र खराब भए त उस्ले वर्तमानमा गर्न सक्ने गै्रह सामाजिक क्रियाकलापले मानसिक तनाब ।


म साविक उमावि शिक्षकको अवस्था यो छ भने अब अन्यको के होला ? हाम्रो शिक्षा क्षेत्र र समाज कता लागिरहेको ? यसको कारक तत्व के हुन सक्छ ? म आफैमा अन्यौलमा रहँदै जिवन धकेली रहेछु ।


अनन्त राज पन्त साविक उच्च माविका शिक्षक हुन् ।