शिक्षक सेवा र लोकसेवामा बहालवाला शिक्षक र निजामती कर्मचारी,कस्ले गर्छ नियमन ?

नवलपरासी/२ फागुन-लोकसेवा आयोग तथा शिक्षक सेवा आयोगले प्रदेश वा जिल्लागत रुपमा विज्ञापन गरेका विभिन्न पदका लागि विभिन्न संस्थाहरुले तयारी कक्षाहरु सञ्चालन गरेर उम्मेदवारहरुलाई आकर्षण गर्न प्रचार गर्नु नयाँ कुरा होइन । तर यस्ता तयारी कक्षाहरु सरकारी विद्यालयमा कार्यरत प्रधानाध्यापक , शिक्षक एवं निजामती सेवाका कर्मचारीहरुले आफ्नै नाममा वा आफू सञ्चालक बनेर आफ्नो दायित्व बिर्सेर सञ्चालन गर्नु कानुन विपरित हुन्छ नै ।


शिक्षा नियमावलीको नियम १३३ ले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले व्यवस्थापन समिती र शिक्षा विकास तथा समन्वय इकाईको अनुमति बिना आफू कार्यरत विद्यालय बाहिर काम गर्न नहुने कुरा उल्लेख गरेको छ । सामान्य प्रशासन मन्त्रालयले निर्देशिका जारी गरि निजामती सेवामा कार्यरत कर्मचारीले विभिन्न आयोगका कक्षाहरुमा शिक्षक वा प्रशिक्षक बनी सहभागी हुन नपाउने आदेश दिएको थियो । तर बिडम्बना ! हालैका विज्ञापनहरुमा बहालवाला शिक्षक एवं निजामती कर्मचारीहरुले हाकाहाकी आफ्नो नाम नै उल्लेख गरेर आर्थिक उपार्जनका लागि सामाजिक सञ्जालहरुमा बेजोड बिज्ञापन सहित आफै प्रशिक्षक बनी तयारी कक्षाहरु चलाइ रहँदा नियामक निकायले उजुरी पर्खेको हो या जे सुकै गरून् भनेर नदेखे जस्तो गरेको हो, बुझी नसक्नु छ ।


सामुदायिक विद्यालयमा कार्यरत केही प्रधानाध्यापक तथा शिक्षकहरुले आफ्नो पेशागत दायित्व भुलेर आयोग तयारीका भौतिक कक्षाहरु सञ्चालन गरेको विज्ञापन प्रशस्तै देख्न पाइन्छ । यसै गरि बहालवाला निजामती कर्मचारीहरु पनि आयोगका तयारी कक्षाहरुमा सहभागी भएको देख्न सकिन्छ । यहाँ जसले जे गरे पनि छुट छ भन्ने कुरालाई यसले मलजल गरेको छ ।
कोभिडको विभिन्न भेरियन्टका कारण लामो समयसम्म विद्यालयहरु बन्द भइ विद्यार्थीहरुको पठनपाठन अवरुद्ध भइ फाल्गुन १ देखि स्कुल खुलेका छन् । तर केही प्रधानाध्यापक र शिक्षकहरु विद्यालयमा हाजिर नभई व्यापारतिर लागेका छन् । कतिपय त सामुदायिक विद्यालयमा नै आयोग तयारी कक्षाहरु सञ्चालन गरीएका छन् । यसले एकातिर नियम कानुनको धज्जि उडाएको छ भने अर्कोतिर लामो समय पछि खुलेका स्कुलमा पठनपाठन अवरुद्ध भएको छ ।

यति मात्रै होइन,आफैले आयोगहरुका प्रश्नपत्र निर्माण गर्ने जस्तै गरि शत प्रतिशत ग्यारेन्टीको हवाला दिदै गरिएका विज्ञापनले कतै आयोगहरु सँग मिलेमतो त छैन भन्ने शंका समेत जन्माएको छ । भोलि आयोगमा सोधिने प्रश्नहरु कुनै अमुक संस्थामा ग्यारेन्टी भनी अध्यापन गराइएका प्रश्नहरु सँग हुबहु वा अधिकांश मेल खाएमा आयोगको मिलेमतो रहेछ भन्ने पुष्टि गर्ने छ । विभिन्न आयोगहरुले तयारी कक्षामा संलग्न वा सहयोगी पुस्तक लेखन, प्रकाशन गर्ने व्यक्तिहरुलाई आयोगका प्रश्न निर्माण विज्ञ तथा उत्तरपुस्तिका परिक्षणमा सहभागी नपाइने भनी सुचना जारी गरिएको छ ।


तर आम उम्मेदवारहरुको जिज्ञासा के पनि रहेको छ भने शतप्रतिशत ग्यारेन्टी भनी गरीएका प्रचारले आयोगको भनाई एकातिर र गराई अर्कोतिर त हुने होइन ? आयोगहरुले विज्ञहरु नियुक्त गरि निःशुल्क तयारी कक्षाहरु सञ्चालन गर्नु उपयुक्त हुने छ । साथै सम्बन्धित मन्त्रालयहरुले आधिकारिक रुपमा सन्दर्भ सामाग्रीहरु आफै प्रकाशन गरि सहयोगी बन्नु राम्रो हुने छ । अन्यथा आयोगहरुले आफ्नो विश्वस्नियता कायम राख्न सकून् । शिक्षक सेवा आयोग र लोकसेवा आयोगले बेलाबेलामा आफू माथी लाग्ने गरेका नातेदारहरु सहभागी परीक्षामा केन्द्राध्यक्ष, उपु परीक्षक आदि भइ आफ्नालाई सफल बनाएका नजिरहरु बिस्थापित गरेर साखमा सुधार ल्याउने छ भन्ने कुरामा सचेत हुने छन् ।


शिक्षा मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय तथा सरोकारवाला नियामक निकायले आफ्ना शिक्षक तथा कर्मचारीहरुलाई नियमन गरून् । आयोगहरु स्वच्छ र पारदर्शी बनून् । अनधिकृत रुपमा सञ्चालन गरिने तयारी कक्षाका संस्थाहरु एवं सन्दर्भ सामाग्रीहरुलाई निरुत्साहित गर्ने व्यवस्था गरून् । आयोग आफैले उम्मेदवारहरुलाई सहजीकरण गर्ने व्यवस्थापन गर्न सके उपयुक्त हुने छ ।


– कुसुम न्यौपाने
(शिक्षक) जनता मा वि अरुणखोला,नवलपरासी (पुर्व)