उच्च शिक्षामा छात्रवृत्ति पाउन कक्षा ६ देखि सामुदायिक विद्यालय पढ्नु पर्ने

काठमाडौं/३ माघ–अब कक्षा ६ देखि १० सम्म सामुुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले मात्र उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएका छन् ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बिहीबार केही नेपाल ऐन संशोधनसहित पारित गर्दै उच्च शिक्षामा छात्रवृत्ति पाउनका लागि अनिवार्य रुपमा सरकारी विद्यालय पढ्नुुपर्ने व्यवस्था गरेको हो ।
कक्षा ५ सम्म निजी स्कुलमा पढ्ने र छात्रवृत्तिका लागि मात्र माथिल्लो कक्षामा सरकारी पढ्ने प्रवृत्ति बढेकाले यस्तो व्यवस्था गर्न लागिएको समितिकी सभापति जयपुरी घर्तीले बताइन् । जुन व्यक्तिले छात्रवृत्ति पाउनुुपर्ने हो उनीहरुले नपाएको गुनासो बढेकाले छात्रवृत्तिका नाममा भएका विकृति कम गर्न अनिवार्य व्यवस्था गरिएको घर्तीको भनाई छ । उनका अनुसार कक्षा ६ देखि १० सम्म अनिवार्य रुपमा माध्यमिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीले मात्र उच्च शिक्षामा छात्रवृत्ति पाउने व्यवस्था गरिएको हो ।

उच्च शिक्षामा छात्रवृत्ति पाउनकै लागि कक्षा ८देखि सरकारी विद्यालय अध्ययन गरी एसईई उत्तीर्ण गर्ने विद्यार्थीको लहर नै थियो । यो व्यवस्थाले सरकारी विद्यालयमा विद्यार्थी आकर्षण बढ्ने सरकारको अनुमान छ ।
मुलुक संघीय संरचनामा गएपछि जारी संविधानको प्रतिकूल हुने व्यवस्था हटाउन ऐन संशोधन गर्न लागिएको हो ।