अनन्तप्रसाद घिमिरे, अर्घाखाँची
अर्घाखाँची/२५ पुस-आजको समय प्राविधिक शिक्षाको युग हो । हरेक क्षेत्रमा प्रतिष्पर्धा व्यापक बन्दै गइरहेको सन्दर्भमा प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्ने महान उद्देश्यमा केन्द्रित छ; अर्घाखाँची जिल्ला,पाणिनी गाउँपालिका ७, चिबेक स्थित पाणिनी बहुप्राविधिक शिक्षालय ।
वि.सं.२०७५ सालमा स्थापना भइ पठनपाठन सुरु गरेको यस शिक्षालयले पाणिनिमा मात्रै नभइ जिल्लामै आफ्नो प्रगतिलाई उजागर गरेको देखिन्छ । सुरुमा फरेष्ट्री डिप्लोमा र सिभिल इन्जिनियरिङ गरि दुई विषयको मात्र अध्ययन हुँदै आएको उक्त शिक्षालयमा यसैवर्षदेखि अमिन विषयको समेत अध्ययन हुन थालेपछि यस क्षेत्रका अभिभावकमात्रै होइन उक्त विषय अध्ययन गर्न चाहने विद्यार्थीहरु पनि निकै खुशी देखिएका छन् ।
सालझण्डी–सन्धिखर्क ढोरपाटन सडकको नजिकै रहेको यस शिक्षालयले उत्कृष्ट जनशक्ति उत्पादन मात्रै गरेको नभइ यो ठाउँको चहलपहललाई पनि निकै बढाएको छ । कतैकतै फाट्टफुट्ट अस्थायी घरहरुमात्र देखिने यस ठाउँमा अहिले बाक्लै घरहरु बनेका छन् भने व्यापार व्यवसाय गरि आफ्नो जीवन निर्वाह गर्ने पनि देखिन्छन् । प्रायः शिक्षालय वरिपरिका घरहरुमा भाडामा बस्ने विद्यार्थीहरुले गर्दा पछिल्लो समय सुनसान बन्दै गएको गाउघर पनि यतिखेर रमाइलो र भरिभराउ भएको त्यहाँका स्थानीय व्यापारीहरु बताउँछन् ।
विभिन्न समुहमा गरि करिब ३१८ जना विद्यार्थीहरुले अध्ययन गर्ने यस शिक्षालयमा १३ जना विभिन्न विषयका पुर्णकालीन प्रशिक्षक,६जना आंशिक प्रशिक्षक, १ जना लेखा कर्मचारी,१ जना स्टोरकिपर,१ जना ड्राइभर, ३ जना सेक्युरिटी गार्ड र २ जना कार्यालय सहयोगी कार्यरत रहेको शिक्षालयका प्रमुख मणि गैरेले बताए ।
शिक्षालयले विद्यार्थीहरुको लागि आवश्यक अत्याधुनिक प्रयोगशाला, पुस्तकालय विद्यार्थी एवं कर्मचारीहरुलाइ सुविधा दिने उद्देश्यले आफ्नै खाजाघर समेत सन्चालनमा ल्याएको छ । त्यतिमात्रै होइन टाढाटाढाबाट यस शिक्षालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुको सुबिधालाइ मध्यनजर गर्दै निकट भविष्यमै छात्रबासको समेत व्यबस्था गर्न लागिएको समेत प्रमुख गैरेले जानकारी दिए ।
अहिले पनि टाढाबाट आउने विद्यार्थीहरुलाइ बसाइमा कुनै पनि किसिमको असहज अवस्था नआओस् भनेर यस क्षेत्रका घरधनीहरुलाइ समेत आग्रह गरिदै आएको र स्थानीय निकायले पनि शिक्षालयलाइ व्यवस्थित गर्ने सन्दर्भमा आवश्यक पहललाइ निरन्तरता दिनुपर्ने कुरा शिक्षालयका कर्मचारी कृष्णप्रसाद घिमिरेले बताए ।



