काठमाण्डौं/०२ माघ– प्रदेश नम्बर दुईमा ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गत छोरी शिक्षा विमा सप्ताह सुरू भएको छ ।
आजदेखि आठवटै जिल्लामा एकैसाथ याे कार्यक्रम शुरु हुन लागेको प्रदेश सरकारले जानकारी दिएको छ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत गत २०७५ माघ १ गतेबाट प्रदेश नं.२ मा छोरी शिक्षा बिमा कार्यक्रम सञ्चालनमा ल्याएको थियो । जन्मिएका बालिकाहरुलाई १ लाख २५ हजार रुपैयाँको विमा गर्नेगरी प्रदेश सरकारले यो कार्यक्रम ल्याएको हो ।
प्रदेश नं. २ अवस्थित विरगञ्जको त्रियुद्ध माध्यामिक विद्यालयलगायत् बाराको सिद्धेश्वर मावि कलैया, रौतहटको बाल मन्दिर गौर, सर्लाहीको ईश्वरपुर नगरपालिकाको कार्यालय, महोत्तरीको लचमु मावि जलेश्वर, धनुषाको लक्ष्मिनिया गाउँपालिकाको कार्यालय, सिरहाको कल्याणपुर नगरपालिका र सप्तरीको बोदेबरसाइन चन्द्र माविबाट एकैसाथ यो अभियान शुरु हुने मुख्य मन्त्रीको कार्यालयले जनाएको छ ।
अभियान अन्तर्गत एक महिनासम्म गाउँपालिकामा १ दिन, नगरपालिकामा २ दिन, उपमहानगरमा ३ दिन र महानगरमा ४ दिन शिविर समेत सञ्चालन हुने मुख्य मन्त्री लालबाबु राउतले जानकारी दिए ।
यसैगरी, प्रदेश २ मा छोरीको बिमा गराउने अभिभावकले तीन महिनासम्म निःशुल्क ईन्टरनेट पाउने भएका छन् । छोरीहरुको शिक्षा बिमा अभियानलाई सफल बनाउन विमा गरेका बालिकाका अभिभावकलाई सुबिसु केबल नेट प्रालिमार्फत् तीन महिनासम्म १५ एमबीपीएस गतिको ईन्टरनेट उपलब्ध गराउने गरी प्रदेश सरकारले बुधबार सम्झौता गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सुविसुका आयोजना प्रमुख सुवास अधिकारीबीच यो सम्झौता भएको हो । छोरीको बिमा गराएकै मितिदेखि तिनका अभिभावकलाई तीन महिनासम्मका लागि ईन्टरनेट सेवा उपलब्ध गराउने सहमति भएको अधिकारीले बताए । छोरीको शिक्षामा पहुँच अभिवृद्धिका लागि लागू गरिएको यो योजना अहिले निकै लोकप्रिय बन्दै गईरहेको छ ।