संघीय शिक्षा ऐनमा शिक्षकका माग सम्बोधन गर

नवलपरासी/१४ पुस-शिक्षा देश विकासको मेरुदण्ड हो । देशमा वहुदल आए पछि देशको शैक्षिक अवस्था तहसनहस भयो । शिक्षालाई राजनितीले नराम्ररी प्रभावित पार्यो । शिक्षामा स्कुल देखि विश्वविद्यालय सम्म राम्रो मान्छे होइन, हाम्रो मान्छेको अखडा बन्यो ।


शिक्षा मन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन जारी गर्नु भन्दा अगाडि सरोकारवालाहरुलाई ऐनको मस्यौदामा छलफल गर्न सहभागी गराउनु पर्दछ । शैक्षिक बेथिति हटाई सामुदायिक शिक्षालाई व्यवस्थापन गरि शैक्षिक गुणस्तर कायम गर्न जुन सुकै उपाय अपनाउनु पर्दछ । शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराई बिशुद्द शैक्षिक बनाउनु पर्छ ।संविधान बनेको ६ बर्ष नाघी सक्यो ।


३ बर्ष भित्र जारी गरि सक्नु पर्ने शिक्षा ऐन हाल सम्म पनि जारी गर्न नसक्नु शिक्षामा चरम राजनीतिकरण हो । संघीय शिक्षा ऐन नबन्दै कतिपय स्थानीय तहहरुले स्थानीय शिक्षा ऐन बनाएर हुँदै नभएको अधिकार उल्लेख गरि शिक्षकहरुको अन्धाधुन्ध सरुवा गरि राजनितिक प्रतिशोध साँधेका छन् जसलाई सम्मानित अदालतले खारेज समेत गरेको छ । साविक उच्च मा विका शिक्षकहरुको समस्या उस्तै छ । सरकारी अनुदानबाट तलब भत्ता खाने बालबिकास र राहत शिक्षकहरुको समस्या पनि उस्तै छ ।


देशमा बहुदलीय व्यवस्थाको पुनर्स्थापना भए पछि पुर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले २०४८ सालमा एक शैक्षिक सत्र पूरा गरेका अस्थायी शिक्षकहरुलाई सामान्य अन्तर्वार्ता लिएर स्वतः स्थायी गरे । शिक्षकको पेशागत सुनिश्चितता त भयो तर शैक्षिक गुणस्तरमा ह्रास ल्याउन त्यो निर्णयले भुमिका खेल्यो ।


अदालतले बदर नगरेको भए त्यो नजिर पुनः प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईकै पालामा २०५६ सालमा दोहोरिने थियो । अस्थायी शिक्षक आन्दोलनले २०६३ सालमा ५०% आन्तरिक प्रतिस्पर्धामा शिक्षकहरु स्थायी गरीए । २०६० सालमा नतिजा निकालिएको २०५२ को शिक्षक सेवा आयोग लामो समय पछि २०७० सालमा सक्रिय बन्यो । तर दुई पटक मात्रै आयोगले खुला प्रतिस्पर्धा द्वारा परिक्षा लिएर शिक्षक नियुक्ती गरेकोमा तत्कालीन शिक्षा मन्त्री गोपालमान श्रेष्ठले २०७६ सालमा ७५% आन्तरिक स्थायी गरेर शैक्षिक बेथिती पुनर्निर्माण गरे ।


हाल करिब ४० हजार राहत तथा ४ हजार साविक उच्च माविमा रहेका करार शिक्षकहरुको व्यवस्थापन गर्नु चुनौतीपूर्ण कार्य छ । अर्कोतिर वालविकासका शिक्षक व्यवस्थापन गर्ने चुनौती पनि उत्तिकै भयावह छ ।

उच्चस्तरीय शिक्षा आयोगले विभिन्न तहमा करिब ५७ हजार शिक्षक अपुग भएको प्रतिवेदनमा उल्लेख गरेको छ । देशको सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न विगतमा गरीएका गल्ति दोहोर्याउनु हुदैन । हाल फास्ट ट्र्याकमा जारी गर्न खोजीएको संघीय शिक्षा ऐनको मस्यौदामा छलफल गर्न सरोकारवाला शिक्षकका प्रतिनिधि तथा स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय प्रतिनिधि समेतको सहभागीता रहनु पर्छ ।


संघ– संगठन र महासंघको मात्रै प्रतिनिधित्व र शिक्षकहरुका मागलाई अड्काउने दलका दलीय झुण्डहरुको मात्रै प्रतिनिधित्व स्वीकार्य हुने छैन।तसर्थ शिक्षा मन्त्रालयले बर्षौ देखिका शैक्षिक बेथितिलाई हटाउन कसैको दबाबमा नपरी ऐनमा निम्न बुँदाहरु समेटिनु पर्छ ।


१) सबै तहको दरबन्दी कायम गरि बिषयगत संख्या र आवश्यकताका आधारमा खुला प्रतिस्पर्धा गराई योग्य ब्यक्तिलाई शिक्षकमा नियुक्त गर्नु पर्छ । कार्यरत, इसिडी, अस्थायी, राहत, करार शिक्षकहरुलाई खुला प्रतिस्पर्धाद्वारा स्थायी गरिनु पर्छ । आयोगको परिक्षामा असफल भएमा अधिकतम ५ बर्षको सेवा सुविधा प्रदान गर्नु पर्छ ।


२) साविक उच्च माविमा कार्यरत शिक्षकहरुलाई एक पटकका (तल्लो तहमा त्यो सुबिधा उपभोग गरि सके) लागि उमेरको हद नलगाई खुला प्रतिस्पर्धामा उम्मेदवार हुन पाउने व्यवस्था गरिनु पर्दछ । खुला प्रतिस्पर्धामा असअफल हुने शिक्षकलाई अधिकतम ५ बर्षको सुविधा दिइनु पर्छ । (२०७२ भन्दा अगाडि उच्च माविमा दरबन्दी बितरण गरिएको थिएन ।)


३) शैक्षिक गुणस्तर वृद्धि गर्न माध्यमिक तहमा (९–१२) खुला प्रतिस्पर्धामा जुनसुकै संकायका उम्मेदवार पनि सहभागी हुन पाउने व्यवस्था गरिनु पर्छ ।


४) कक्षा ११/१२ मा आवश्यक न्युनतम अनिवार्य बिषयका शिक्षकहरुको दरबन्दी सिर्जना गरि खुला बिज्ञापन गर्नु पर्छ । तल्लो तहमा कार्यरत माथिल्लो योग्यता भएका शिक्षकहरुबाट आन्तरिक प्रतिस्पर्धा गराई माथिल्लो तहमा तहगत बढुवा गराउनु पर्दछ ।


५) शिक्षक नियुक्ती गर्दा स्नातकोत्तर र बिषयगत योग्यता सहित प्राथमिक तहमा नियुक्त गरि आन्तरिक प्रतिस्पर्धाबाट मात्रै माथिल्लो तहमा शिक्षक बढुवा गरिनु पर्दछ ।


६) शिक्षकहरुको सेवा सुविधा अन्य कर्मचारीको भन्दा अधिक हुनु पर्छ ।


७) प्रत्येक ५ बर्षमा श्रेणी र १० बर्षमा योग्यताका आधारमा तह बढुवा हुनु पर्दछ । प्रथम श्रेणी पश्चात् विशिस्ट श्रेणीको व्यवस्था र मन्त्रालयमा काजमा सरुवा गर्ने व्यवस्था गरिनु पर्छ । (२०६८ सालमा एक पटकका लागि भनेर १२ बर्ष स्थायी सेवा गरेका शिक्षकहरुलाई स्वतः एक श्रेणी बढुवा गरियो ।)


८) शिक्षक सरुवा अनिवार्य, पारदर्शी र न्युनतम २/२ बर्षमा गरिनु पर्छ । घरपायक हुनु हुदैन । श्रीमान श्रीमती दुबै शिक्षक भएमा एउटै जिल्ला र स्थानीय तहमा सरुवा गरिनु पर्दछ । दरबन्दी मिलान अनिवार्य र बिषयगत हुनु पर्छ ।


९) शैक्षिक सुधारको योजना निर्माण गरि मापदण्ड पूरा गर्न नसक्ने शिक्षकलाई बढुवाबाट वञ्चित गरिनु पर्दछ ।


१०) शिक्षकका दुई जना सन्ततिलाई उच्च शिक्षा सम्म निःशुल्क प्रदान गरिनु पर्दछ ।


११) शिक्षक पद रिक्त हुन नदिन प्रत्येक जिल्लामा तहगत अतिरिक्त शिक्षकको व्यवस्था गरि अनिवार्य अवकास हुने मिति देखि लागू हुने गरि नियुक्ती दिनु पर्दछ । साथै अकस्मात खाली हुने दरबन्दीमा पनि अतिरिक्त शिक्षकबाट नियुक्त गर्न सकिन्छ । अस्थायी , करार शिक्षक नियुक्ति बन्द गरिनु पर्छ । शिक्षकहरु स्थायी मात्रै हुनु पर्छ ।


१२) शिक्षकहरुलाई राजनितीक दलको कार्यकारी पदमा रहनबाट वञ्चित गरिनु पर्छ । राजनितीक दलको कार्यकारी पदमा बहाल रहेमा अवकाश दिनु पर्छ ।


१३) योगदानमा आधारित पेनसनलाई तुरुन्तै कार्यान्वयन गरि राज्यबाट थप गरिने रकम तलबको १२% गरिनु पर्छ ।
१४) महिला शिक्षकको हकमा महिनावारी हुदाँ कम्तिमा ३ दिन बिदा दिइनु पर्छ ।


१५) प्राविधिक शिक्षा तथा बिज्ञान संचालन भएका बिद्यालयहरुमा (११/१२ समेत) न्युनतम (४८) बिद्यार्थी संख्या नभएमा सो कार्यक्रम रद्द गरि अन्य विद्यालयलाई दिइनु पर्छ ।


१६) प्रअ नियुक्तिका निश्चित मापदण्ड बनाई अधिकतम ५ बर्षमा कार्यसम्पादनका आधारमा पुनर्नियुक्ती गर्ने व्यवस्था गर्नु पर्छ । तहगत प्रअ नियुक्त गरिनु पर्छ । अधिकतम दुई कार्यकाल मात्रै एउटै व्यक्ति प्रअ हुने व्यवस्था गरिनु पर्दछ । प्रत्येक विद्यालयमा तहगत स्थायी शिक्षक प्रअमा नियुक्त गरिनु पर्छ ।


१७) शिक्षक संघ–संगठन खारेज गरि स्वतन्त्र शिक्षक समेत प्रतिनिधि बन्न पाउने एकल यूनियनको व्यवस्था गरिनु पर्दछ ।
१८) स्थायी शिक्षकले अन्य निजामती सेवामा प्रतिस्पर्धा गर्न चाहेमा ५ वर्ष पश्चात प्रतिस्पर्धा गर्न पाउने र निजलाई सेवा प्रवेशमा उमेरको हद नलाग्ने एवं स्थायी सेवा गणना गर्ने व्यवस्था गरिनु पर्दछ ।


१९) शिक्षकहरुको छाता संगठनको कुनै पनि पदाधिकारीलाई बैठक बाहेक अन्य काजको व्यवस्था गर्नु हुदैन ।


२०) शिक्षकको मर्यादाक्रम सबै भन्दा माथी रहने व्यवस्था गरिनु पर्छ ।


२१) शिक्षकको पेन्सन प्रयोजनका लागि पुरै अस्थायी सेवा गणना गर्ने व्यवस्था गरिनु पर्छ । स्थायी र अस्थायी सेवा गणना गर्दा २० बर्ष पुगेमा पेन्सनमा निस्कन चाहने शिक्षकलाई एक तह बढुवा हुने व्यवस्था गर्नु पर्छ ।


२२) अस्थायी सेवा जोड्दा २० बर्ष सेवा पुगेका स्थायी शिक्षकको सेवामा छदै मृत्यु भएमा निजको श्रीमान/ श्रीमतीले पेन्सन पाउने व्यवस्था गरिनु पर्छ ।


२३) विद्यालय व्यवस्थापन समितिका सम्पुर्ण सदस्यहरु अभिभावक मध्येबाट नै छनोट हुनु पर्छ । अध्यक्षको न्युनतम शैक्षिक योग्यता १०+२ उत्तीर्ण गरेको हुनु पर्छ ।


२४) शिक्षक अस्पताल तुरुन्तै निर्माण गरिनु पर्छ ।


२५) एक विद्यालय एक नर्स भन्ने सिद्धान्त लागू गरि नर्सको नियुक्ती गर्नु पर्छ ।


२६) सामुदायिक विद्यालयमा कक्षा १२ सम्म निःशुल्क हुनु पर्छ ।


२७) निजि शैक्षिक संस्था र चिकित्सा शिक्षालाई नियमन गरि तोकिए भन्दा बढी शुल्क लिएमा अनुमती वा सम्बन्धन खारेज गर्नु पर्दछ ।


२८) प्रत्येक विद्यालयमा तह अनुसार सहयोगी कर्मचारी तथा सह लेखापालको दरबन्दी सिर्जना गरि खुला प्रतिस्पर्धाद्वारा स्थायी पदपूर्ति गर्नु पर्छ । हाल कार्यरत कर्मचारीलाई उमेरको हद नलगाई प्रतिस्पर्धामा सहभागी हुन पाउने व्यवस्था गर्नु पर्छ ।


२९) शिक्षक तथा कर्मचारीको पोशाक विद्यालयले आफै निर्धारण गर्न पाउनु पर्छ । शिक्षक कर्मचारीको परिचयपत्र मन्त्रालयले व्यवस्था गर्नु पर्छ ।


३०) विद्यालय अनुगमनलाई कडा रूपमा कार्यान्वयन गरिनु पर्छ ।


३१) शिक्षा ऐन–नियमावली समय अनुसार परिवर्तन गरिनु पर्छ।


कुसुम न्यौपाने, संयोजक, स्थायी शिक्षक हकहित मञ्च नवलपरासी (पुर्व)