शैक्षिक मेलाका नाममा राजस्व छलि गरे कारवाही हुने

काठमाडौं/१३ पुस -अहिले काठमाडौंका पाचतारे होटलमा तथा विभिन्न स्थानमा विदेश अध्ययनमा जाने विद्यार्थीहरुलाई लक्षित गरी धमाधम एजुकेसन मेला भइरहेको छ । विदेशी विश्वविद्यालय तथा कलेजका शैक्षिक कार्यक्रमबारे अभिभावक र विद्यार्थीलाई जानकारी र परामर्श दिने उदेश्यले मेला आयोजना गर्ने गरीएको छ ।


पुस महिनालाई मात्र हेर्ने हो भने केही शैक्षिक मेला सम्पन्न भइसकेका छन् भने करीब आधादर्जन जति शैक्षिक मेलाको अनुमति लिएर सञ्चालन गर्ने तयारीमा छन् । केहि शैक्षिक परामर्श संस्थाहरुले मेलाको तालिका निश्चित गरे पनि अनुमति लिने प्रक्रियामा रहेका छन् । कुनै संस्थाले भविष्यमा शैक्षिक मेला गरीने भन्दै समाजिक संजालमा विज्ञापन समेत गरिरहेका छन् ।


शिक्षा मन्त्रालयले शैक्षिक परामर्श संस्थालाई शैक्षिक मेला गर्न अनुमति दिएपछि मात्रै मेला आयोजना गर्न पाइन्छ । मन्त्रालयका अनुसार जुन शैक्षिक परामर्श संस्थाले अनुमति लिएको हो त्यसले मात्र एकल मेला सञ्चालन गर्न तथा परामर्श दिनुपर्ने जनाएको छ ।


तर एउटा शैक्षिक परामर्श संस्थाहरुले अनुमति लिएर अरु धेरै शैक्षिक परामर्श संस्थालाई सहभागि गराएर , विदेशी विश्वविद्यालय, कलेज र प्रतिनिधिलाई बोलाएर बेग्ला बेग्लै स्टल, टेवल राखेर मेला सञ्चालन गर्न वा कसैलाई स्टल बेच्न र परामर्श दिन नमिल्ने मन्त्रालयले जनाएको छ ।


साथै मेलामा विदेशी कलेज, विश्वविद्यालय तथा अरु कुनै पनि परामर्श संस्थाको अलग अलग ब्रोसर राखेर, नामको कुनै पनि बोर्ड, कागजातहरु र विदेशी विशवविद्यालय वा कलेजका प्रतिनिधि राख्न नपाइने खबर एजुकेशनलाई मन्त्रालयले जनाएको छ ।


त्यस्ता मेलामा अरु परामर्श संस्था, विदेशी विश्वविद्यालय, कलेज वा संस्थाका प्रतिनिधिको सहभागि हुने हो भने सबैले वेग्ला वेग्लै राजस्व तिरेर अनुमति लिनुपर्ने मन्त्रालयले जनाएको छ ।


यदी एउटा शैक्षिक परामर्श संस्थाले मेलाको अनुमति लिएर उक्त मेलामा त्यो संस्था बाहेक अन्य परामर्श शैक्षिक संस्थाहरुले उपस्थित भएर परामर्श सञ्चालन गरेमा नेपाल सरकारको राजस्व छलिहुन जाने भएकोले यस्तो कार्य गर्न कसैलाई छुट नभएको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाका उपसचिव इश्वरीप्रसाद ज्ञावलीले बताए । उनले मेलामा अनुगमन गरिने र यस्तो कार्य गरेको पाईएमा राजस्व सम्बन्धी प्रचलित कानून् अनुसार बारवाही हुने जनाएका छन् ।


शिक्षा मन्त्रालयको कार्यविधि अनुसार शैक्षिक परामर्श संस्थाले एजुकेसन मेला सञ्चालनका लागि प्रति संस्था एक हजार डलर राजस्व तिरेर मात्र मेला अनुमति लिनुपर्ने प्रावधान रहेको छ ।


तर शिक्षा मन्त्रालयले यसको प्रभावकारी अनुगमन नगर्दा एउटा शैक्षिक परामर्श संस्थाले अनुमति लिएर धेरै संस्था भेला पारेर मेला तथा सञ्चालन गर्नुका साथै परामर्श दिँदै आएका छन् । त्यसैगरी विदेशी विश्वविद्यालय, कलेज र तिनका प्रतिनिधि तोकिएको संख्या भन्दा उल्लेख्य रुपमा उपस्थित हुने र विद्यार्थीलाई निरधक्क परामर्श दिने गरेको पाईन्छ ।


शिक्षा मन्त्रालयले यस्तो कुराको कुनै पनि ख्यालनै नगरी धमाधम शैक्षिक मेलाका लागि आवेदन दिने सबैलाई अनुमति दिदै आएको छ ।


यतिमात्रै होइन शिक्षा मन्त्रालयले अनुमति दिएपछि मात्र जिल्ला प्रशासन कार्यलयलाई जानकारी गराउनुपर्नेमा पहिला जिल्ला प्रशासन कार्यलयलाई जानकारी गराएर मात्रै मन्त्रालयबाट अनुमति लिन गरेकोले यसलाई रोक्नुपर्ने मन्त्रालयको भनाई छ ।


तर यसबारे जिल्ला प्रशासन कार्यालय प्रमुख गोविन्द प्रसाद रिजालले यस भन्दा अगाडीका प्रमुखहरुले पनि यसरीनै काम गरेको हुनाले आफुले पनि त्यसै गरेको बताए । उनले भने यस विषयमा प्रशासनको सुरक्षा दिने बाहेकको कुनै निर्णय गर्ने अधिकार छैन् । साथै कोभिड १९ को महामारीमा मेला आयोजना गर्दाे स्वास्थ्य सम्बन्धी पर्न जाने असरको जिम्मेवारी आयोजक नै हुनुे बताए ।