रोल्पा /४ पुस-रोल्पाको बाल कल्याण माविमा लागाइएको ताला अझै खोलिएको छैन । एक एक साताअघि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले विभिन्न आठबुँदे माग राख्दै गरिएको ताला अझै खोलिएको छैन ।
विद्यालयका अनुसार आठबुँदे माग राख्दै गत आइतबार नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनस्टि पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) आबद्ध विद्यार्थीले विद्यालयको प्रशासन र लेखाको कार्यालयमा तालाबन्दी गरेका थिए ।
नमुना विद्यालय बाल कल्याण माविको प्रशासन र विद्यार्थी संगठनबीच वार्ता गरिए पनि वार्ता सफल नभएपछि ताला खुल्न सकेको छैन । अर्को वार्ता आज बस्न भनिएपनि अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष जिल्ला बाहिर भएकाकारण बैठक बस्न नसकेको र सोमबार वार्ता हुने विद्यालयले जनाएको छ ।
सम्बन्धित पक्षसँग बसेर छलफल प्रयास गरे पनि सहमति हुन नसक्दा तालाबन्दी खोल्नेबारे निष्कर्ष ननिस्केको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले जनाए । उनले भने पुनः वार्ता गरेर सहमतिमा विद्यालयमा लागेको ताला खुलाउने पक्षमा छौं ।’
आठबुँदे माग मध्ये कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीसँग शुल्क लिइएको र अंग्रेजी र नेपाली माध्यमबाट पठनपाठन गराई शिक्षामा विभेद सिर्जना गरेको भन्दै ताला लगाइएको छ । तर विद्यालय व्यावस्थापन समितिका अध्यक्ष महेश न्यौपानेका अनुसार कक्षा १० मा अंग्रेजी माध्यममा अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावकले स्वईच्छाले विद्यालयलाई सहयोग गरेको बताए ।
विद्यालयमा विद्यार्थी संख्या धेरै रहेको र सरकारले दिएका २४ जना शिक्षकले नपुगेपछि ४९ जना निजी स्रोतका शिक्षक राख्नुपर्ने बाध्यता भएका कारण अभिभाकबाट सहयोग लिनु परेको उनले बताए । विद्यालयमा २८ सय ६५ विद्यार्थी संख्या रहेको उनले जानकारी दिए ।
यता विद्यार्थी संगठनले आठबुँदे विषयलाई लिएर पटक पटक सच्याउन ध्यानआकर्षण गरेपनि विद्यालय प्रशासनले वास्ता नगरेपछि तालाबन्दी गर्नुपरेकोे जनाएको छ ।

त्यसैगरी विद्यालयले गत मंगलबार पत्रकार सम्मेलन गर्दे विद्यार्थी संगठनले राखेका माग र आरोप निराधार भएको भन्दै खण्डन गरेको छ ।





