काठमाण्डौं/०१ माघ– जुम्लास्थित पातारासी गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत स्नातक तहका प्राविधिक धारतर्फ विभिन्न विषयको अध्ययनमा छात्रवृत्ति दिने कार्यक्रम ल्याईएको छ ।
जुम्लाका आठ वटा स्थानीय तहमध्ये पातारासी गाउँपालिकाले पहिलोपटक यस्तो उदाहरणीय कामको योजना तर्जुमा गरेको हो । एमबिबिएससँगै बिडिएस, बिएससी नर्सिङ, बिएससी फरेस्टी र कृषिमा पनि स्नातक तहका प्राविधिक धारतर्फको अध्ययनमा छात्रवृत्ति दिने कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष लक्ष्मन बोहराले जानकारी दिए । ‘यहाँको साक्षरता ४५ प्रतिशत मात्र छ । साक्षरता प्रतिशत वृद्धि गर्न पनि गाउँपालिकाले उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम ल्याएको हो,’ उनले भने । ‘साक्षरता प्रतिशत कम भएको मात्र नभई गुणस्तरीय शिक्षाको अभावका कारण बालविवाहलगायत अन्य सामाजिक कुसंस्कार पनि गाउँमा विद्यमान रहेकाले यसैलाई मध्यनजर गर्दै साक्षरता वृद्धि गरी सामाजिक कुसंस्कार न्यूनीकरण गर्न शिक्षासम्बन्धी यस्तो कार्यक्रम ल्याउनुपरेको हो,’ उनले थप जानकारी दिए ।
चालू आर्थिक वर्षमा उच्च शिक्षा छात्रवृत्तिका लागि पाँच लाख र लोकसेवा तयारी कक्षाका लागि तीन लाख गरी आठ लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढाथापाले जानकारी दिए । त्यसैगरी शाखा अधिकृत, नायब सुब्वा र खरिदारको पदको तयारी कक्षा पनि सञ्चालनमा रहेको उनले प्रष्ट पारे ।
गाउँपालिकाले उच्च शिक्षा छात्रवृत्ति वितरणका लागि इच्छुक व्यक्तिसँग आवेदन माग गरिसकेको छ । बिडिएसमा एकजना र अन्यतर्फ गरी १० जनाजतिको आवेदन आएको गाउँपालिकाले जनाएको छ ।
पातारासी गाउँपालिकामा रहेको सातै वडाक्षेत्रभित्र गरी जम्मा ३ हजार १ सय ७४ घर धुरी छन् भने १७ हजार १ सय ३५ जनसंख्या रहेको छ ।