मुलुकभर आज माघे संक्रान्ती हर्षोल्लासका साथ मनाईंदै

काठमाण्डौं/०१ माघ– आज माघ १ गते अर्थात् नेपालीहरूको प्रमुख चाड माघे संक्रान्ती मुलुकभर घिउ, चाकु र तरुललगायत विभिन्न परिकार खाएर मनाइँदै छ ।
सौरमासको हिसाबले आजदेखी सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई माघी, मकर संक्रान्ति पनि भनिन्छ । यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने र गर्मी मौसमको प्रारम्भ हुने जन विश्वास रहेको छ ।
आजको दिनदेखी किराँतहरुको नयाँ वर्षको सुरूवात भएको छ । थारु, मगर र छन्त्याल समुदायले नयाँ वर्षको रूपमा माघी पर्व धुमधामसँग विभिन्न कार्यक्रम आयोजना गरी मनाउंदै छन् । पश्चिम तराईका दाङ, बाँके, बर्दिया र कैलालीलगायत जिल्लामा माघीको विशेष रौनक छाएको छ ।
यो दिन विभिन्न नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी शरीरमा तिलको तेल लगाउने प्रचलन छ । शरीरमा तिलको तेल लगाउनाले नाडी, स्नायुमण्डल र हड्डीलाइ सुदृढ र स्वस्थ भई दूषित पदार्थबाहिर निस्कन्छ भन्ने विश्वास छ । यसैगरी पारिवारिक सदस्य, आफन्त तथा साथीभाई सँगै बसेर गएरातिदेखि नै पकाईएको तरुल, सेलरोटी, चाकु, लड्डु तथा घिउलगायतका मीठामीठा परिकार खाएर रमाइलो गर्ने चलन छ ।
भौगोलिक, जातीय र सांस्कृतिक विविधताका कारण नेपालमा एकै दिन पर्ने यो पर्वलाई विभिन्न भेग र समुदायका मानिसहरूले भिन्नै तरिकाले मनाउने प्रचलन छ । त्यसैले यो पर्वलाई राष्ट्रिय पर्वको रूपमा लिएको छ ।
आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत पवित्र स्थानका नदीहरूमा माघ स्नान गर्ने भक्तजनको ठूलो भीड लाग्दछ । त्यस्तै, उपत्यका नजीकैको पनौतीमा आज मकर मेला लागेको छ । लिच्छविकालीन राजा मानदेवको पालादेखि नै सुरू भएकोे यो मेलामा असङ्ख्य भक्तजनको जमघट हुने गर्दछ ।