तोकिएको पूर्वाधार र पाठ्यक्रम अनुसार पठनपाठन नभए विद्यालयलाई अनुदान रोकिने

काठमाडौं/२५ कार्तिक-शिक्षा तथा मानवस्रोत विकास केन्द्रले प्राविधिक धारतर्फका विद्यालयमा तोकिएको पूर्वाधार र पाठ्यक्रमले तोकेबमोजिम पठनपाठन सञ्चालन नभए जुनसुकै बखतमा अनुदान रोक्न सक्ने चेतावनी दिएको छ ।


केन्द्रले सूचना जारी गर्दे अनुदान छनौटमा परेका प्राविधिक तथा व्यावसयिक धार सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरुलाई तोकिएको पूर्वाधार र पाठ्यक्रमले तोकेबमोजिम पठनपाठन सञ्चालन नभए अनुदान रोक्न सक्ने चेतावनी दिएको हो ।


केन्द्रले कार्यक्रमलाई निरन्तरता दिन विद्यालयले तोकिएको मापदण्ड पूर्ण पालना गर्नुपर्ने आग्रह गरेको छ ।


केन्द्रले अनुदान छनोटमा परेका प्राविधिक तथा व्यावसायिक धार सञ्चालनमा रहेका सामुदायिक विद्यालयले सम्बन्धित स्थानीय तहबाट अनुमति र कक्षा थप गरी कार्यक्रमलाई निरन्तरता दिन सकिने जनाएको छ। केन्द्रले अनुमति पाई अनुदान छनोटमा परेका ४८४ प्राविधिक धारका विद्यालयमा प्रशिक्षक, सहायक प्रशिक्षक, शिक्षक अनुदान एवं प्रतिविद्यार्थी लागत लगायतका विषयमा व्यवस्थापन गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ ।