मूल्यवृद्धि विरुद्धको आन्दोलनमा उत्रन नेता कार्यकर्तालाई अनेरास्ववियुको निर्देशन

काठमाडौं/२५ कार्तिक- नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु विरोधमा उत्रिने भएको छ । परमादेशी सरकारको निर्देशनमा नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा मूल्यवृद्धि गरेको भन्दै विरोधमा उत्रिने भएको जनाएको हो ।


अनेरास्ववियुले आज एक विज्ञप्ती जारी गर्दै मूल्यबृद्धि फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । “पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महंगाई बढ्न गई सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गर्दछ” विज्ञप्तिमा उल्लेख छ ।


सरकारले मुल्य वृद्धि फिर्ता नलिए जस्तोसुकै प्रतिकार गर्न बाध्य हुनेछ विज्ञप्ति मार्फत चेतावनि दिएको छ । त्यस्तै देशैभरिका आफ्ना नेता कार्यकर्ताहरुलाई मुल्यवृद्विको विरुद्धको आन्दोलनमा उत्रन अनेरास्ववियु अध्यक्ष सुनिता बरालले निर्देशन दिएकी छन् ।


नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ३ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँ र हवाई इन्धनमा ५ रुपैयाँले मूल्य वृद्धि गरेको थियो ।