इन्धनको मूल्य वृद्धि : ६ विद्यार्थी संगठन द्धारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं/२५ कात्तिक-नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेपछि ६ विद्यार्थी संगठनले संघर्षका कार्यक्रम घोषणा गरेका छन् । इन्धनको मुल्य वृद्धि १२ दिनकै अन्तरालमा गरेको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।


नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू, जनता समाजवादी निकट समाजवादी विद्यार्थी युनियन, अखिल छैठौं लगायत ६ विद्यार्थी संगठनले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।
बिहीबार संयुक्त प्रेश विज्ञप्ति जारी गर्दै उनीहरुले तत्काल इन्धनको मूल्य वृद्धि फिर्ता लिन माग राख्दै बिहीबार दिउँसो साढे ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्तालयका सचिवलाई ज्ञापन पत्र बुझाउने जनाएका हुन् ।


यसैगरी कात्तिक २६ गते बिहान ९ देखि ११ बजेसम्म आयल निगमका महाप्रवन्धक लगायतका कर्मचारलाई प्रवेश निषेध तथा घेराउ गर्ने , कात्तिक २८ गते प्रदर्शनी मार्गमा दिउँसो २ बजे खाली सिलिण्डर प्रदर्शन गर्ने, कात्तिक ३० गते देशभर आयल निगमको कार्यालयमा कालो व्यानर राखी विरोध प्रदर्शन गर्ने र मंसिर २ गते माइतीघर मण्डलामा सडक बहस कार्यक्रम आयोजना गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।


नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ३ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँ र हवाई इन्धनमा ५ रुपैयाँले मूल्य वृद्धि गरेको थियो ।