नवलपरासी/१३ कार्तिक
माननीय शिक्षा मन्त्री ज्यू,
नमस्कार !
देशले लामो समय पछि तपाईं जस्तो बौद्धिक व्यक्तित्वलाई शिक्षामन्त्रीको पदमा पाएको छ । हामी आम शिक्षकहरु हर्षित छौं । गणतान्त्रिक संविधान बनेको पनि ६ बर्ष नाघीसक्यो । संविधान बनेको ३ बर्ष भित्रैमा सबै कानुनहरु बन्नु पर्नेमा संघीय शिक्षा ऐन नियमावली हाल सम्म पनि जारी नहुनु दुखद कुरा हो । शिक्षा ऐन जारी नभएकै कारण शिक्षा क्षेत्रमा रहेका तमाम बेथितिहरु मौँलाउँदै गएका छन् । संविधानले भाग ३ को धारा ३१ मा व्यवस्था गरेको निःशुल्क शिक्षा कार्यान्वयनमा आएको छैन । लामो समय देखि शिक्षक बिज्ञापन भएको छैन । शिक्षकका पेशागत मुद्दाहरु ज्यूँका त्यूँ बिकराल रुपमा बढ्दै गएका छन् । शैक्षिक ब्यापारीकरणले सामुदायिक शिक्षालाई समेत आक्रमण गरेर गरीब जनताका छोराछोरीले पढ्नबाट वञ्चित हुने अवस्था निम्तीएको छ ।
शिक्षा देश विकासको मेरुदण्ड हो । शिक्षा राज्य नियन्त्रीत हुनु पर्छ । चिकित्सा शिक्षाको बेथिति कहाली लाग्दो छ । एमबिबिएस , बिडिएस, नर्सिङ आदिमा मनपरी लुटतन्त्र छ । निजी शैक्षिक माफियाहरुले शिक्षालाई लुट्ने माध्यम बनाएका छन् । एकातिर कोरोना महामारीले शैक्षिक अवस्थालाई तहसनहस पारेको छ भने अर्कोतिर निजी तथा सार्वजनिक शैक्षिक संस्थाहरुले उक्त अवस्थाको दुरुपयोग गर्दै अभिभावक सँग अन्धाधुन्ध चर्को शुल्क असुलेर अभिभावकको ढाड सेकेका छन् । पाठ्यक्रमले तोके भन्दा अनाधिकृत पाठ्यपुस्तकहरु जबर्जस्ती लगाएर निजी प्रकाशकसँग मिलेर अभिभावक लुटिएको छ ।
यसको सिको सामुदायिक विद्यालयहरुले समेत गरेर अंग्रेजी माध्यमका नाममा निःशुल्क प्राप्त गर्नुपर्ने पाठ्यपुस्तक चर्को शुल्क तिरेर किन्न बाध्य पारीएको छ । शुल्क लिएको छ । यसको नियमन गर्ने निकायहरु मौन छन् । अझ भनौं नियन्त्रण नगरी उनिहरुसँगै मिलेका छन् ।
लामो समय देखि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु बालविकास, राहत, अस्थायी, करार, साविक उमावि, अनुदान आदिका नाममा विभेदीकरणका शिकार भएका छन् । स्थायी शिक्षकहरु तिसौं बर्ष सम्म बढुवा हुन पाएका छैनन । शिक्षकहरुको अस्थायी सेवा गणना गरिएको छैन । अस्थायी सेवा समेत गरेका स्थायी शिक्षकहरु स्थायी भएर पनि ६० बर्षे अनिवार्य अवकाश भइ पेन्सन बिना रित्तो हात घर फर्के । जब कि अस्थायी शिक्षकहरुले ऐच्छिक अवकास लिदाँ १० औं लाख हात पारे । शिक्षामा राजनितिकरणले यति बिघ्न प्रभाव पारेको छ कि नियुक्ती, सरुवा, बढुवा आदिमा दलको चाकरी गर्नेहरुकै कारण पहुँच नभएका शिक्षकहरु सधै पिसिनु पर्ने अवस्थाको सिर्जना भएको छ । शिक्षक सरुवामा व्यापक अनियमितता भएका खबरहरु पढ्न र यथार्थता देख्न सकिन्छ ।
शिक्षकहरु शिक्षा ऐन, नियम बिपरित राजनीतिक दलको कार्यकारी पदमा बसेर आफ्नो पेशागत दायित्व विमुख हुँदा समेत सरोकारवाला निकाय मौन रहेको छ । राजनितीक दलको शुभेच्छुक संस्था भनिएका संघ संगठनहरु दलको भातृ संस्था बनेका छन् । शिक्षक महासंघमा भागबन्डाको नेतृत्व रहेको छ । एउटा स्वतन्त्र शिक्षक महासंघको प्रतिनिधि बन्न नपाउने अवस्था छ । शिक्षकका पेशागत तमाम समस्याहरु निराकरण गर्न अत्यन्तै जरुरी छ ।
मन्त्री ज्यू, तपाइको पदको स्थायीत्वको ठेगान छैन, तर तपाइँले गर्ने शैक्षिक उन्नतिको कार्य सधैं स्थायी हुने छ । म एउटा सामुदायिक विद्यालयमा २७ बर्ष सेवा गरेको शिक्षकको हैसियतले निम्न बुँदाहरुमा ध्यान केन्द्रित गराउन चाहन्छु ।
१) संघीय शिक्षा ऐन अविलम्ब जारी गरीयोस् ।
२) विभिन्न प्रकारका शिक्षकहरुलाई कानुनी रुपमा एकै प्रकारमा तहगत स्थायी गराउने व्यवस्था गरीयोस् ।
३) निश्चित अवधि स्थायी सेवा गरेका , माथिल्लो योग्यता भएका सामुदायिक विद्यालयका शिक्षकहरुको अविलम्ब श्रेणी र तह बढुवा गरीयोस् ।
४) पेन्सन प्रयोजनका लागि शिक्षकहरुको पुरै अस्थायी सेवा गणना गरि नयाँ जनशक्तिलाई शिक्षक बन्ने अवसर प्रदान गरीयोस् ।
५) शिक्षकहरुको मर्यादा सबै भन्दा माथिल्लो क्रममा कायम गरीयोस् । साथै शिक्षकहरुको पारिश्रमिक अन्य कर्मचारीको भन्दा कम्तिमा १० प्रतिशतले बढी हुने व्यवस्था गरियोस् ।
६) शिक्षक संघ संगठन खारेज गरी स्वतन्त्र शिक्षकहरुले समेत प्रतिनिधित्व गर्न पाउने एकल यूनियनको ब्यवस्था गरियोस ।
७) पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेका पाठ्यपुस्तक मात्रै प्रयोग गर्ने कार्यलाई नियमन गरियोस् ।
८)निःशुल्क शिक्षालाई कडाइका साथ लागू गरियोस् ।
९) शिक्षकहरुको सरुवालाई अनिवार्य र केन्द्रिकृत गरियोस् ।
१०) शिक्षालाई संघ अन्तर्गत राखियोस् ।
११) सामुदायिक विद्यालयको शिक्षक राजनीतिक दलको सदस्य भएमा अवकाश दिने व्यवस्था गरियोस् ।
अतः यी सबै बुँदाहरु संघीय शिक्षा ऐनमै व्यवस्था गर्नुपर्ने हुनाले ऐनको मस्यौदामा भएका त्रुटिहरु सच्याई ऐन निर्माणमा सबै प्रकारका सरोकारवालाहरुको सहभागीता रहोस् ।
धन्यवाद !
कुसुम न्यौपाने (शिक्षक)
जनता आदर्श मा वि मंगलचौर,अरुणखोला,नवलपरासी (पुर्व)



