शिक्षामा परिणामूखी काम हुनुपर्छ :शिक्षा मन्त्री पौडेल

काठमाडौं/१० कार्तिक-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षामा परिणामूखी काम हुनुपर्ने बताएका छन् ।
मंगलबार व्यवसायीक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको निरीक्षण गर्दै उहाँले गुणस्तरीय तालिमको पहुँच बढाई सीपयुक्त र रोजगारसँग जोडेर कामगर्न निर्देशन दिएका हुन् ।


उनले नेपालमा प्राविधिक तथा व्यवसायीक शिक्षा एवम् तालिम क्षेत्रको सेवाप्रवाहलाई सुदृढ गर्दै जनशक्ति उत्पादनमा ध्यान दिन आग्रह गरे ।


‘तालिम प्राप्त जनशक्ति उत्पादनमा लक्ष्य अनुसार कामगरि परिणाम निकाल्ने गरी काम गर्नुहोस्’, मन्त्री पौडेलले भन्नुभयो, ‘काम गर्न नीतिगत समस्या छन् भने छलफल गरेर समाधान गरौं ।’


विश्व बैंकको ऋण सहयोगमा सञ्चालित व्यवसायीक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको दोस्रो चरणको कार्यक्रमलेअसार मसान्त सम्ममा १ लाख १५ हजार जनालाई सीपयुक्त तालिम दिँदै छ ।


अबको ९ महिनामा मेहनत गरी जनशक्ति उत्पादनमा गम्भीरता पूर्वक लाग्नु पर्ने बताउँदै मन्त्री पौडेलले दलित, महिला, तथा एकल महिला, लोपोन्मुख जनजाती लगायतको समूहलाई समेटि काम गर्नु पर्नेमा जोड दिए ।


पौडेलले कोभिडका कारणले काम रोकियो भन्न नपाइने बताउँदै विश्व बैंकले तेस्रो चरणको परियोजनमा सहयोग गर्ने गरी कामगर्न निर्देशन दिए ।


‘जनताको पक्षमा राम्रो काम गर्नेलाई पुरस्कृत र प्रोत्साहन गर्नु पर्छ, उनले भने, ‘कामगर्ने कर्मचारीको पछिसम्म पनि सम्झन योग्य काम होस् ।’


कर्मचारीले प्राप्त गरेको जिम्मेवारी १० देखि ५ बजे सम्म मात्र नभइ २४ घण्टा खटेर नतिजा आउने तरिकाले कामगर्न मन्त्रीले निर्देशन दिए ।


विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित परियोजनाको दोस्रो चरणमा ६ अर्ब रुपैयाँ बजेट छुट्टिएको परियोजनाका निर्देशक चन्द्रकान्त भुसालले जानकारी दिए ।