भ्रष्टाचारको सोच नराख्न र दबाबमा सीटीईभीटीको सम्बन्धन नदिन मन्त्री पौडेलको निर्देशन

भक्तपुर/५ कार्तिक– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कसैको दबाबका कारणले सम्बन्धन नदिन निर्देशन दिएका छन् । कुनै पनि दलका नेता, सांसद वा कसैको पनि दबाबमा नभइ आवश्यकताका आधारमा सम्बन्धन दिन निर्देशन दिएका हुन् ।


सीटीईभीटीलाई अगाडि बढाउनको लागि सबै कर्मचारी र पदाधिकारीहरुले आफ्नो लागि मात्र सोच्ने भन्दा पनि संस्थाको बारेमा बढी सोच्नु पर्ने बताउदै भ्रष्टाचारको सोच कतै नराख्न निर्देशन दिएका छन् ।


यसको थप क्षमता विकास गर्दे जानुपर्ने र यसलाई राम्रो ज्ञान केन्द्रको रूपमा लैजानुपर्ने बताएका छन् । भने “कुर्सीमा मात्रै बस्ने होइन, संस्था सुधार्ने काम गर्नुहोस, प्रविधिको प्रयोग प्रभावकारी रूपमा गर्नुहोस र सीटीईभीटीको नामै काफी छ भन्ने अवस्था बनाउनुहोस”


उत्पादनसँग जनशक्तिलाई जोडेर समाजवादतर्फ जानुपर्छ भन्दै मन्त्री पौडेलले सीटीईभीटी अब आफैँ आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । उनले सिक, कमाऊ भन्ने अवधारणातर्फ जानुपर्ने औल्याए । रोजगारीको खोजी गर्दै सीप खोज्न आउने किसान, श्रमिक, गरिब, उत्पीडित लक्षित जनसमुदाय नै हुन् भन्दै सीप खोज्न आउनेलाई रोजगारीमा आधारित ज्ञान र सीप दिनुपर्ने बताए ।


त्यस्तै शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादवले देशभरका सबै सामुदायिक विद्यालयमा अनिवार्य प्राविधिक शिक्षा सञ्चालन गर्नु आवश्यक रहेको बताइन । प्राविधिक शिक्षा जनमुखी, बहुमुखी र आर्थिकमुखी हुनु आवश्यक रहेको बताउँदै गाउँ–गाउँमा स्वास्थ्य शिक्षाका कार्यक्रमहरू माग भइरहेकाले सीटीईभीटीले माग र आवश्यकताका आधारमा अनुमति दिनुपर्नेमा जोड दिइन् ।

शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सीटीईभीटीले अहिले २०५२ सालकै १४ वटा स्कुलको जनशक्तिको भरमा अहिलेको ६२ वटा स्कुल चलाउनुपर्ने बाध्यता रहेको भन्दै जनशक्ति थप गर्नु आवश्यक रहेको औल्याए । सीटीईभीटीलाई अझै सुधार गरेर लैजानुको विकल्प नभएको भन्दै विषय र पाठ्यक्रममा पनि सुधार गर्दै जानुपर्नेमा जोड दिए ।


सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारीले मन्त्री पौडेलले भनेजस्तै सीप सिक, कमाऊ भन्ने अवधारणामा जान लागेको बताउँदै राज्यको आकाङ्क्षालाई परिणाम दिने अवधारणा सीटीईभीटीले अगाडि बढाएको बताए ।


कर्मचारी थोरै भएका कारणले प्रभावकारी तरिकाले काम गर्न कठिन भएको र कर्मचारी अभावले ज्यादै पिरोलिएको बताए ।उनले भने “दरबन्दी असाध्यै खड्किएको छ, छिटै कर्मचारीको पदपूर्ति आवश्यक छ, जाडोमा ओढेको छोटो सिरक जस्तो कर्मचारीलाई एकातिर लग्यो अर्कोतिर पुग्दैन ।”


सीटीईभीटीका अध्यक्षसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बिहीवार सीटीईभीटीको निरीक्षण गरेका थिए ।