नवलपरासी/१ कार्तिक-देशमा गणतन्त्र आए पश्चात् यस्तो लाग्थ्यो अब देशको शैक्षिक अवस्थामा आमूल परिवर्तन आउने छ । निजि शैक्षिक संस्थाहरु हतोत्साहित हुने छन् । सरकार सामुदायिक विद्यालय, शिक्षक र विद्यार्थी मैत्री हुने छ । तर दुर्भाग्य ! व्यवस्था फेरियो, पात्र र प्रवृत्ति फेरिएनन् । संविधान बनेको ३ बर्ष भित्रमा सबै ऐन नियम बनी सक्नु पर्ने संबैधानिक व्यवस्थालाई नजर अन्दाज गर्दै गणतन्त्रका शासकहरु शिक्षा क्षेत्रलाई नै तहस नहस पार्न उद्द्यत रहे । संबिधान जारी भएको ६ बर्ष बित्यो, आधा दर्जन शिक्षा मन्त्रीले आफ्नो दुनो सोझ्याए, तर न त संघीय शिक्षा ऐन जारी भयो, न नियमावली । शिक्षक सेवा आयोगलाई लामो समय पदाधिकारी बिहिन बनाइयो । लाखौ अध्यापन अनुमतिपत्र लिएर बसेका शिक्षकका लागि योग्य उम्मेदवारहरुले अवसर नपाई उमेरको हद म्याद समाप्त हुन लाग्यो । लामो समय सेवा गरेका स्थायी शिक्षक बढुवा नहुदै निबृत्त भए ।
शिक्षा क्षेत्रमा कसैले पनि चासो नदिनुको कारण बुझी नसक्नु छ । देशभर करिब ५६ हजार शिक्षक अपुग (शिक्षा आयोगको प्रतिबेदन) भएको अवस्थामा विद्यालयहरु कसरी चलेका होलान ? देशमा निर्वाचन पश्चात् करिब दुई तिहाइको कम्युनिस्ट सरकार बन्दै गर्दा जनतामा अब राजनितिक स्थिरता कायम हुने छ र देश समृद्ध हुने छ भन्ने आशा निराशामा परिवर्तन भयो । हामी तमाम १७ थरी शिक्षकहरु शिक्षा क्षेत्रमा आमूल परिवर्तन हुने भयो भनेर खुशिले उमंगीत थियौं, तर दुर्भाग्य ! देश झन जर्जर अवस्थामा गुज्रीयो ।
सत्ता बाहिर हुँदा महान दार्शनिक बन्नेहरु सत्तामा पुगे पछि बाउ आमा पनि बिर्सने खराब आचरणका कारण नयाँ सरकार गठन भएको ६ महिना पछि शिक्षा मन्त्री त देशले पायो तर हामी शिक्षकलाई कागलाई बेल जस्तै होइन भन्ने आधार छैन । पुर्व सरकारका अर्थ मन्त्रीले बजेट मार्फत शिक्षक र निजामती कर्मचारीलाई विभेद हुने गरि सुबिधाको घोषणा गरे जसको बिरुद्ध तमाम स्वाभिमानी शिक्षकहरुको प्रतिनिधित्व हुने गरि सर्वोच्चमा मुद्दा दाएर गरियो त्यसको पेशी पनि ४ पटक सरेर कार्तिक ४ मा पुगेको छ । स्थायी भएर पनि उमेर हदका कारण २० बर्ष स्थायी सेवा नपुगेका र अस्थायी सेवा ७ बर्ष थप गर्दा पनि निबृत्तिभरण पाउन नसकी रित्तो हात घर जानू परेका नवलपरासीका प्रतिनिधि शिक्षकहरु बन्धुराज कोइराला र तिर्थ कोइरालाहरुको दर्दनाक अवस्थाको कसले ख्याल गर्ने ? शिक्षकका प्रतिनिधि संस्थाहरुलाई दलको चाकरी गर्न भ्याई नभ्याई छ ।
स्थायी भएर पनि उमेर हदका कारण २० बर्ष स्थायी सेवा नपुगेका र अस्थायी सेवा ७ बर्ष थप गर्दा पनि निबृत्तिभरण पाउन नसकी रित्तो हात घर जानू परेका नवलपरासीका प्रतिनिधि शिक्षकहरु बन्धुराज कोइराला र तिर्थ कोइरालाहरुको दर्दनाक अवस्थाको कसले ख्याल गर्ने ?
शैक्षिक मुद्धा भन्दा पनि भोलिको लागि पद प्राप्त गर्ने राजनीतिक मोहकै कारण आज शैक्षिक मुद्धा ओझेलमा परेका छन् । संघ,संगठन ,महासंघ जस्ता दलका झुण्डबाट शिक्षकहरुले पेशागत सेवाको लागि आवाज उठ्छ भन्ने आशा मारिसकेको बर्तमान अवस्थामा राज्य शक्ति पुरै सामुदायिक शिक्षकहरुको बिरुद्धमा लागि परेको छ । महांसंघमा दलको प्रतिनिधित्व हुने हुनाले सरकारको समर्थन र बिरोध मात्रै यसको कार्यक्रम रहेको छ । फरक दलको सरकार बन्दा आन्दोलन गर्ने परिपाटीले हामी तमाम शिक्षकहरु चरम हेपाइको शिकार भएका छौं ।
अर्को तर्फ सामुदायिक विद्यालयमा कक्षा १२ सम्म निःशुल्क शिक्षा प्राप्त गर्ने संबिधानको भाग ३ को धारा ३१ बिपरित महंगो शुल्क, महंगा पाठ्यपुस्तक एवं अनधिकृत पाठ्यपुस्तक लदाएर विद्यार्थी र अभिभावकको ढाड सेकाउदा समेत सरोकारवालाहरु कानमा तेल हालेर सुतेका छन् । विद्यालयमा तहगत स्थायी शिक्षक प्रअ हुने कानुनी व्यवस्था बिरुद्ध तल्लो तहका,कनिष्ठ ,करार,राहत,अयोग्य शिक्षकहरुलाई प्रअको जिम्मेवारी दिइएको छ । यो भन्दा शैक्षिक बेथिति हुने अवस्था अब हुने छैन ।
खुला प्रतिस्पर्धा बिना आन्तरिक स्थायी गरेर केही शिक्षकको स्वार्थ पूरा गर्ने नाममा पुर्व शिक्षा मन्त्रीले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर खस्काउन ठुलै भुमिका निर्वाह गरे । साविक उच्च मावि, राहत, करार, बालबिकास आदि विभिन्न थरिका शिक्षकहरुको समस्या ज्युँका त्युँ रहेका छन् । तिसौं बर्ष सेवा गरेका शिक्षकहरु बढुवा हुने अवस्था छैन । निजामती सेवामा निश्चित अवधी पश्चात् तहगत र श्रेणिगत बढुवा हुने ब्यबस्था छ भने शिक्षकहरुको संख्याका आधारमा बढुवा नीति हुनाले शिक्षकहरू मर्कामा छन।शिक्षक सरुवा अर्को समस्या बनेको छ । सरुवा हुन चाहने शिक्षकहरुले सबै तयारी र कानुनी प्रक्रिया पूरा भइ दरबन्दी खाली हुंदा पनि मोटो रकम बुझाउनु परेको तमाम मुद्धाहरु देखिएका छन् । सरोकारवालाहरु कानमा तेल हालेर निदाएका छन् । हामिले चाहेको २२ औं शताब्दिको शिक्षा कस्तो हो ? यो प्रश्न अनुत्तरित छ । शिक्षा क्षेत्रलाई तहसनहस बनाउन यी कथित स्वार्थी गणतन्त्रका नाइकेहरु कस्सिएरै लागेको अनुभूत भएको छ ।
सरुवा हुन चाहने शिक्षकहरुले सबै तयारी र कानुनी प्रक्रिया पूरा भइ दरबन्दी खाली हुंदा पनि मोटो रकम बुझाउनु परेको तमाम मुद्धाहरु देखिएका छन् । सरोकारवालाहरु कानमा तेल हालेर निदाएका छन् । हामिले चाहेको २२ औं शताब्दिको शिक्षा कस्तो हो ? यो प्रश्न अनुत्तरित छ ।
स्थानीय तहलाई प्रत्यायोजन गरिएको २३ वटा अधिकार मध्ये कहिँ पनि शिक्षक नियुक्ति ,सरुवा वा बढुवा आदि छैन । तर संघीय शिक्षा ऐन नबन्दै कतिपय स्थानीय पालिकाहरुले स्थानीय शिक्षा ऐनका नाममा राजनीतिक प्रतिसोध सांध्ने उद्देश्यले शिक्षक सरुवा र नियुक्ति गर्दै आएका छन, जुन कानुन बिपरित छ । सम्मानित अदालतद्वारा बदर समेत गरिएका यस्ता नजिरको बेवास्ता गर्दै स्रोत ब्यक्ती, शिक्षा अधिकृत आदिका नाममा आफ्ना दलका शिक्षकहरुलाई गापा।न पा मा काजमा खटाइएका छन् । शिक्षकका बिदाहरु कटौती गरेका सुचना निकालेर स्थानीय सरकारका मालिकहरुले आफुलाई महान ठानेका छन्।निजि शैक्षिक संस्थाहरुले लिने शुल्कको कुनै नियमन छैन । कोरोनाबाट प्रभावित शैक्षिक क्षेत्र त्यो भन्दा धेरै सरकारबाट आक्रान्त बनेको छ।निजि चिकित्सा शिक्षामा ब्रम्हलुट गरिएको छ । सत्ताको खेलबाट शिक्षा क्षेत्र कहिले प्रभावहिन हुने ?
न्यौपाने स्थायी शिक्षक हकहित मन्च,नवलपरासी(पुर्व)का संजोजक हुन ।



