शिक्षक सरुवा र नियुक्तिमा आर्थिक चलखेल, बिना आधार लेखेको छैन : इकाइ प्रमुख

nepali money

तनहुँ /३१ असोज-केहि दिन अगाडि तनहुँका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमाकान्त शर्माले शिक्षक नेताहरुले शिक्षक सरुवा र नियक्तिमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरे पछि प्रमाण दिनु पर्ने भन्दै शिक्षक संघ र संगठनहरुले दवाव दिएका छन् ।


तर तनहुँमा शिक्षक सरुवा र नियुक्तिमा जनप्रतिनिधि र केहि शिक्षक नेताहरुको मिलेमतोमा आर्थिक चलखेल हुने गरेको शिक्षकहरुले समेत गुनासो गर्दे आएका छन् । उनीहरुले मावि सरुवा गरेको चार लाख,निमाविको तिनलाख र प्राविको सरुवा गर्दा दुइलाख दिन बध्य बनाइएको गुनासो गरेका हुन् ।


शर्माले “शिक्षा दिनेहरुका नेताहरुले नै दलालीको काम गर्न थाले पछि कहिले होला सुधार भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।


खबर एजुकेशनले केहि शिक्षकहरुसँग सम्पर्क गर्दा तनहुँका शिक्षक नेताहरुले सुरुवा र नियुक्ति गरिदिने नाममा शिक्षकहरुसँग खाजाघरमा बस्ने ठुलो रकम तिर्न लगाउने र सरुवा गरिदिए बापत मोटो रकम माग्ने गरेको बताएका छन् ।


त्यसैगरी महिला शिक्षकलाई सरुवा गरिदिने प्रलोभन देखाउदै यौन सम्पर्कका लागि प्रस्ताव राख्ने गरेको नाम नबताउने सर्तमा एक जना महिला शिक्षिकाले बताएकी छन् । नेपाल शिक्षक संघसँग आवद्ध तनहँुका एकजना शिक्षक नेताले महिला शिक्षकलाई सरुवा गरिदिने वहानामा यौन सम्पर्कका लागि प्रस्ताव राख्दै दबाब दिइएको पाइएको हो ।


त्यस्तै राहत शिक्षक समिति तनहुँको फेसबुक व्याक्तिगत प्रायोजनका लागि प्रयोग भएको खबर एजुकेशनले प्राप्त गरेको छ । लकडाउनको समयमा समितिको फेसबुकबाट व्याक्तिले कुनै महिला व्यक्तिसँग कुरा गरेको पाइएको हो ।

व्यास नगरपालिका नगरप्रमुख वैकुण्ठ न्यौपानेले शिक्षक सरुवा र नियुक्तिमा पालिका प्रमुखको सहमतिमा आर्थिक चलखेल गरियो भन्ने आरोप राजनितिक रुपमा प्रतिसोधका लागि गरिएको बताए । कुन शिक्षकले लियो र कुन पालिका प्रमुखलाई बुझायो भन्ने कुनै प्रमाण नरहेको बताउँदै भने “हाम्रोमा त्यस्तो कार्य भएको छैन र हाम्रो नाममा कसैले उठाएको रैछ भने कसले त्यस्तो कार्य गरेको छ कारवाहि गर्न तयार छौ ।” तर मनगणन्ते रुपमा समाचार आएको उनले आरोप लगाएका छन् ।


कुरा बाहिर आइसकेपछि सत्य केहो तपाइले पनि खोज्नु पर्ने होइन र भन्ने प्रश्नमा विचमा दशैं विदा भएको र शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखले यो समाचार फेसबुकमा पोष्ट गरे पछि कस्ले गरायो के गरायो भन्ने बारे इस्पष्ट भनिदिन आग्रह गरेको बताए । साथैआग्रह गरेको अघिल्लो दिन नै प्रमुखले जिल्ला छोडेको र यो कुनै तथ्य र प्रमाण विना राजनितिक प्रतिसोधका लागि गरिएको दाबि गरे ।


कसैलाई पनि पैसा उठाउन नभनिएको कसैले पैसा उठाएको यथार्त प्रमाण हामिसँग आएको खण्डमा आफ्नै परिवारको भए पनि कारवाहि गरेरै छाड्ने न्यौपानेले बताए ।


नेपाल शिक्षक महासंघका तनहँुका जिल्ला अध्यक्ष आशिष पोख्रेलले तनहुँका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखले आर्थिख चलखेलबारे फेसबुकमा हालेको र यस विषयमा शिक्षक संघ संगठनका सबै शिक्षकहरु सहित भेटेर प्रष्ट हुन चार पटक सम्म प्रयास गर्दा भेट्ने समय नदिएको बताए । पछि आफैले भेटेरै समय लिएको तर बेलुका भट्न खोज्दा फुलपातिको अघिल्लो दिन घर तिर भागेको आरोप लगाएका छन् ।


शिक्षक नेता भनेपछि आफु पनि त्यस भित्र परेको भन्दै सबै शिक्षक संघ संगठनका शिक्षकहरुसंग छलफल भइरहेको र यस को वास्तिविकता र सत्य कुरा केहो त्यसबारे पत्ता लगाउनु पर्ने बताए । उनले भने “महासंघको ५,६ गते तिर बैठक बस्दै छ , यस बारे वास्तविकता पत्ता लगाएर यदि कसैले पैसाा उठाएर खाएको पाईए कारवाहि गरिने छ । तर पैसा उठाएर खाएको पाइएन भने फेसबुकमा लेख्ने मान्छेले पनि कारवाहि भोग्नु पर्छ । ”


नेपाल शिक्षक संघ तनहुँका अर्थ सचिव नरेन्द्र न्यौपनेले संस्थालाई आँच आउने ढंगबाट अभिप्रायले गरिएको कदम भएको बताएका छन् । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमाकान्त शर्माले फेसबुकमा लेखेको स्टाटस प्रमाणित गरेको खण्डमा शिक्षक साथीहरुलाई नियम अनुसार कारवाहि गरिने जानकारी दिए । अहिले सम्म संघको कार्यलयमा कुनै उजुरी नपरेको र उजुरी परेको खण्डमा कारवाहि गरिने जनाए । तपाईको पनि नाम जोडिएर आएका छन् भन्ने प्रश्नमा उनले भने यसमा केहि साथिहरुले नेपाली कंग्रेसको आन्तिरीक चुनाव हुँदै गर्दा आन्तरीक ढंगबाट जुनकुराहरु आइरहेका छन् राजनितिक रिसका कारणले यस्तो आरोप आएको बताए ।


तनहुँका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमाकान्त शर्माले आज फेरी आफ्नो फेसबुकमा लेख्दै यस भन्दा अगाडि लेखिएको स्टाटस आधार विहिन र मनगणन्ते नभएको र प्रमाण सहित लेखेको प्रष्ट पारेका छन् ।

उनले लेखेका छन् “यस भन्दा पहिला शिक्षकको सरुवाको विषयमा लेखेको मेरो फेसबुक स्टाटसले इमान्दार, विद्यार्थीको शैक्षिक उपलब्धि बृद्धि गर्न निरन्तर मेहनत गर्ने, शिक्षकको पेशागत हित र उन्नयनको लागि निरन्तर प्रयास गर्ने, समाजका बिकृति हटाउन लागि पर्ने, शिक्षण पेशामा समर्पित, शिक्षकको नेतृत्वमा रहने आदर्श शिक्षकलाई समेत नकारात्मक प्रभाव पर्न गएकोमा क्षमायाचना गर्दछु । आदर्श शिक्षक प्रति सदैव सम्मान गर्दछु । मैले लेखेको स्टाटस आधार विहिन, मनगणन्ते होइन । सरुवा हुने वा हुने क्रममा रहेका शिक्षाकले व्यक्त गरेको भनाइको आधारमा लखेको हुँ । मैले त्यस्ता शिक्षकसंग कुराकानी गर्दा म एक्लै मात्र भएको अवस्थामा पनि होइन । केहि शिक्षक पनि सुन्ने हुनु हुन्थ्यो । यो फेरी कुनै जिल्ला, कुनै संस्था, व्यक्ति विषेशलाई इङ्गित गरी लेखेको पनि होइन । शिक्षा क्षेत्रमा विभिन्न जिल्ला, प्रदेश र केन्द्रमा बसेर काम गर्ने क्रममा शिक्षकले व्यक्त गरेका पिडा, गुनासोको आधारमा लेखेको हुँ । म आफै पनि यस्ता बिकृति हटाउन पहल गर्नु पर्ने स्थानमा रहेको छु । मैले आफ्नो ठाउँबाट रोक्नलाई विभिन्न प्रयास पनि गरेको छु । शिक्षकलाई प्रक्रिया र्पुयाउन तर रकम खर्च नगर्न सरसल्लाह दिने गरेको छु । मैले शिक्षक नेताबाट मात्र होइन शिक्षा क्षेत्रका पदाधिकारी, कर्मचारी, जनप्रतिनिधिबाट हुने गरेका विकृति हटाउनको लागि सहयोग पुग्ने गरी सार्वजनिक रुपमा विचारहरु पनि व्यक्त गरेको छु । शिक्षा क्षेत्रमा काम गर्ने शिक्षक कर्मचारीको व्यवहारको प्रत्यक्ष प्रभाव बालबालिकामा पर्ने हुनाले म र हामी भित्र रहेका कमिकमजोरी हटाउन निरन्तर लाग्नु पर्ने आवश्यकता छ । म आफै पनि भविष्यमा सार्वजनिक पदमा रहेर सेवा दिए बापत आर्थिक र अन्य फाइदा लिने कुराको विरुद्धमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्दछु ।”