काठमाडौं/३१ भदौ-काठमाडौं जिल्ला प्रशासन कार्यलयले भौतिक रूपमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । अभिभावक तथा सरोकारवालाहरुको विरोध पछि तत्काल विद्यलाय सञ्चलन गर्ने निर्णय फिर्ता गर्दे सञ्चालन नगर्न निर्देशन दिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अर्को आदेश जारी नभएसम्मका लागि विद्यालयहरू भौतिक रूपमा सञ्चालन नगर्न आदेश जारी गरिएको छ । तर, भौतिक उपस्थितिमा पठन पाठन गर्नैपर्ने भए स्थानीय तहले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गर्नुपर्ने भनिएको छ ।
जारी आदेशमा भनिएको छ “शैक्षिक संस्थाहरू (विद्यालय) ले भौतिक उपस्थितिमा पठन पाठन गर्न/गराउन नपाउने । गर्नैपर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरूले विद्यालय संचालन गर्नु पूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सह–चालक, क्यान्टिन संचालक र संचालन समितिका पदाधिकारीहरू सबैले अनिवार्य रूपमा कोभिड–१९ विरुद्धको खोप लगाउनुपर्ने, अभिभावक तथा सरोकारवाला समूहहरूको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय संचालनको विवरण तथा ढाँचा तयार गरी नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरूले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू संचालन गर्न सक्ने ।”



