काठमाडौँ/१साउन–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन २२ गते बाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागे पनि अहिले सम्म कुनै निर्णय नहुँदा अन्योलता बढेको छ ।
भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्नका लागि बोर्डले अनुमति मागे पनि पछिल्लो राजनितिक घटनाक्रम र सीसीएमसीले समयमै निर्णय नगरिदिँदा परीक्षा सञ्चालनको अन्योल्ता बढेको हो । परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै आफूहरूले परीक्षाको प्रक्रिया अगाडि बढाउने बोर्ड स्रोतले बताएको छ ।
बोर्ड स्रोतका अनुसार साउन २२ गते बाट कक्षा १२ को परीक्षा सञ्चालनको लागि सरकारसँग अनुमति मागे पनि सरकारले अहिले सम्म कुनै निर्णय नगरे पछि अब साउनमा परीक्षा सञ्चालन हुने सम्भावना नरहेको जनाएको छ । साथै प्रश्न पत्र निर्माण , कपि पुर्याउने देखि परीक्षाको तयारीको लागि कम्तिमा एक महिनाको समय चाहिने हुँदा साउनमा परीक्षा सञ्चालन गर्न नसकिने बोर्ड स्रोतको भनाई छ ।
यसअघि जेठ २६ गतेबाट हुने गरी तय गरिएको कक्षा १२ को परीक्षा पनि सीसीएमसीले नै रोक्ने निर्णय गरेको थियो । दोस्रो लहर पछि कोरोना भाइरसको सङ्क्रमण कम भए पनि पूरै नघटेको र पुनः संक्रमित संख्या विस्तारै बढिरहेको अवस्थामा कक्षा १२ को परीक्षा कहिले सञ्चालन हुन्छ भन्ने अन्योलता देखिएको छ ।
त्यसैगरी परीक्षामा सहभागी हुने विद्यार्थी लाखौँ भएका कारण अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न नसकिने र केही समय ढिला भए पनि भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने योजना बोर्डले बनाएको छ । परीक्षा कहिलेबाट सञ्चालन गर्ने भन्ने निधो भएसँगै परीक्षा सेन्टरका बारेमा समेत निर्णय हुने बोर्ड स्रोतले जनाएको छ । तर स्वस्थ्य मापदण्ड पालना र सामाजिक दुरी कायमगर्दे विद्यार्थीलाई सहज हुने र घरबाट नजिक पर्ने गरी परीक्षा दिने व्यावस्था मिलाइने स्रोतले बताएको छ ।
यो वर्ष करिब ३ लाख ४० हजार विद्यार्थीहरु कक्षा १२ को परीक्षा सञ्चालनको पर्खाइमा रहेका छन् ।



