काठमाडौं /१६ बैशाख–शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७७/०७८ देखि कक्षा ९ देखि प्राविधिक तथा व्यावसायिक धार सञ्चालन गर्न अनुदान छनोटमा परेका स्थानीय तह र विद्यालयको सूची सार्वजनिक गरेको छ ।
केन्द्रले प्रदेश एकका १०, प्रदेश दुईबाट ५, प्रदेश बागमती प्रदेशबाट सात, गण्डकी प्रदेशमा ६ वटा, पाँच नम्बर प्रदेशमा ६, कर्णाली प्रदेशका तीन सुदूरपश्चिमका सात विद्यालयलाई प्राविधिक धार सञ्चालनका लागि अनुमति दिएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उल्लेख गरेको शर्त पूरा गरी पठन पाठन प्रक्रिया शुरु गर्नु गराउनु हुन सम्बन्धित विद्यालय साथै उक्त विद्यालयको अनुगमन तथा सहजिकरणका लागि स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाइहरुलाई अनुरोध गरेको छ ।
अनुदानका छनोटमा परेका विद्यालयले कक्षा सञ्चालनको अनुमति सम्बन्धित स्थानीय तहबाट लिएको हुनु पर्ने छ । साथै शैक्षिक सत्र २०७७/०७८ मा छनोटमा परेका र कोभिड १९ का कारण गत वर्ष कक्षा सञ्चालन नगरेका विद्यालयले यस शैक्षिक सत्रबाट विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्नुपर्ने शर्त तोकिएको छ । यस्तै एउटा कक्षामा अधिकतम ४८ विद्यार्थी सहभागि गराउन पाइने छ ।
केन्द्रले तोकेको पूर्वाधार नपुगे र पाठ्यक्रमले तोकेबमोजिमको पठनपाठन नभएको पाइएमा जुनसुकै समयमा अनुदान रोक्न सक्ने केन्द्रले जनाएको छ ।





