भाग तीन
१.नेपालमा स्थापित सबै विश्वविद्यालयहरु समान हैसियत र गुणस्तरीय मापदण्डमा विश्वप्रतिस्पर्धाका लागि सक्षम, प्राज्ञिक रुपमा तयार र शैक्षिक वातावरण निर्माणमा क्रियाशील छन् भन्ने कुरामा कुनै शंका, आशंका गरिदैँन र गर्न पनि हुँदैन । विश्वविद्यालयका ऐन जारी हुँदा सबै क्षेत्रका जनताको भन्ने वाक्यांश प्रायः सबै विश्वविद्यालयको स्थापना र ऐनका दफामा उल्लेख भएकोले देशव्यापी फैलावट रुचि स्वाभाविक हुन सक्छ । तर विश्वविद्यालयहरु विशिष्टीकृत भूगोल, कार्यक्षेत्र, विषयगत दक्षतामा बढी केन्द्रिकृत हुँदा अवश्य नै बढी दक्ष, कार्यकुशलतामा प्रभावकारी तथा नयाँ नयाँ प्रतिभाहरु ती स्थानमा सहजै उत्पादन हुँदा हुन् । साधन स्रोत र समयको बचत हुँदो हो र नियमन, नियन्त्रण र व्यवस्थापनमा सहजता हुँदो हो, भन्नेसम्मको चिन्ता चाहिँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सर्वदा रहने गरेको छ ।
क) काठमाण्डौँ विश्वविद्यालय : नेपालको निजी लगानीको पहिलो र सञ्चालनमा आएको तेस्रो विश्वविद्यालय प्राविधिक तथा विज्ञान प्रविधिको क्षेत्रमा आर्थिक आयार्जन गरी स्वावलम्बनसाथ स्थापित हुन छोटो समयमा नेपाली समाज र विश्वसमुदायमा प्रभाव पार्ने प्रयासमा सफल मानिन्छ । तापनि व्यवस्थापकीय तथा प्रशासनिक अन्तरविरोध र स्वार्थपरक समूहको अदुरदर्शी नेपाली संस्कृतिको टकरावको चपेटामा विश्वविद्यालय धरमराउने त होइन आम सरोकारवालाको चिन्ता पाइन्छ ।
ख) लुम्बिनी बौद्ध विश्वविद्यालय : विश्वविद्यालय स्थापना हुनुको उद्देश्य बमोजिम कार्यक्षेत्र तथा शैक्षिक कार्यक्रमका विषयमा स्वदेश तथा विश्वजगतमा पारेको प्रभाव के छ ?
ग) विविले मूल लक्ष्यमा अगाडि बढ्दा प्राप्त हुन आएका विद्यमान हासिल उपलब्धिहरु, सामना गर्नुपरेका कठिनाइहरु, चुनौतीहरु तथा समाधानका प्रक्रिया र सम्भावनाका पक्षहरु अध्ययन, अनुसन्धानबाट के के पहिल्याइएको छ ? सार्वजनिक गर्नुपर्ने बेला भएको छ ।
२. काठमाण्डौँ विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदुरपश्चिम विश्वविद्यालयहरुका साथै पछिल्लो राजर्षि जनक विश्वविद्यालयले ऐनकानुन र विश्वविद्यालय स्थापनाको मूल उद्देश्य बमोजिम आ—आफ्नो कार्यक्षेत्रमा सफल हुने गरी प्रयास हुनुपर्ने अनुभूत हुन्छ । जस्तै :
क) नेपालमा क्षेत्रीय, प्रादेशिक तहमा विश्वस्तरको गुणात्मक उच्च शिक्षाको सेवासुविधा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ खोलिएका विश्वविद्यालयहरु पनि कानुनी छिद्र वा ठूलो हुने मनसायले नेपालव्यापी फैलिने तथा शहर केन्द्रित हुने तीव्र प्रतिस्पर्धामा देखिन्छन् । यी सबै विविहरुको भूमिका अस्वच्छ प्रतिस्पर्धाका लागि अग्रस्थानमा संलग्न हुँदा गुणात्मकता खस्किने तथा ती क्षेत्रका जनताहरुले न्याय नपाएका हुन सक्छन् ? यो विषयमा शैक्षिक नेतृत्व जिम्मेवार, जवाफदेही, पारदर्शी तथा ईमानदार हुनु आवश्यक देखिन्छ ।
ख) यसर्थ, सबै विविहरुले आफ्नो क्षेत्रानुसार पूर्वाञ्चलका विशेषता, तराई मधेश मिथिला क्षेत्रका विशेषता, मध्यमाञ्चल वागमती क्षेत्रका विशेषता, पश्चिमाञ्चल गण्डकी प्रदेशका विशेषता, लुम्बिनी प्रदेशका विशेषता, कर्णाली प्रदेशका विशेषता तथा सुदुरपश्चिमका विशेषता के के हुन् ? खोज, अनुसन्धान, रणनीतिक योजना तयार पार्न लाग्नु पर्दछ ।
ग) स्थान विशेषको भूगोल, जनताका आवश्यकता, आर्थिक जनजीवन उत्थान सम्बद्ध शैक्षिक कार्यक्रमहरुमा धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक, पेसा व्यवसाय, आयार्जन क्रियाकलाप तथा सीप विकास वातावरण निर्माणमा जुट्न आवश्यक देखिन्छ । संस्थागत फैलावट मुख्य होइन विषयगत गुणात्मक र दक्ष जनशक्तिको उत्पादनप्रतिको स्वच्छ प्रतिस्पर्धामा आउने योजना हुनु पर्दछ ।
घ) शैक्षिक कार्यक्रमहरु दक्ष, सीपवान् जनशक्ति उत्पादन, विकास र देश विकासमा प्रयोग आवश्यकतासित सम्बद्ध हुनु अति जरुरी भएको छ ।
ङ) यी माथिका सबै विश्वविद्यालयहरुले देश व्यापी सम्बन्धनको जाल फिजाउनु र खुला उदारता देखाउनु प्राज्ञिक, प्राविधिक तथा व्यावसायिक दृष्टिकोणले कदापि उचित हुँदैन । यसर्थ आफ्नै भूगोलको क्षेत्र, विषय विशिष्टीकरण र उच्च प्रतिस्पर्धामा गुणात्मक जनशक्तिको उत्पादन गर्न नीतिगत आपसी समझदारी, समन्वय तथा सहकार्यको खाँचो देखिन्छ ।
च) सबै विश्वविद्यालयहरुले स्थापनाको मूल उद्देश्यलाई आत्मसात गर्दै, विगतदेखि अहिलेसम्मका आ–आफ्नो कार्यक्षेत्र र विषय क्षेत्रमा प्राप्त गरेका सफलता, सिकाइ अनुभव, प्रतिस्पर्धी प्राज्ञिक, प्राविधिक तथा पेसागत व्यावसायिकता, दक्ष जनशक्तिको बजारीकरणबाट प्राप्त सकारात्मक नतिजा, भोग्न परेका समस्या, चुनौती र सम्भावनाहरु बृहत् रुपमा अध्ययन गरी मुलुकको जनशक्ति विकास र देश निर्माणमा आगामी १० वर्षे रणनीतिक योजनासहित सरिक हुन आत्मसमीक्षा गर्ने बेला आएको छ । मन्त्रालयको जनशक्ति योजना विकास कार्यमा हालेमालो गर्न आपसी समन्वयका लागि सहयोग धेरै आवश्यक तथा अनिवार्य भएको छ ।
यो लेख पाँच भागमा विभक्त छ । अरु लेख आगामि दिनमा क्रमशः आउनेछन् ।



