काठमाण्डौं/३१ चैत– काठमाण्डौँ विश्व विद्यालय र नेपालस्थित भारतीय दूतावासको संयुक्त आयोजनामा अम्बेडकर जयन्ती मनाएको छ ।
विश्व परिवेशमा बाबा साहेब भीम राव अम्बेडकरको सान्दर्भिकताबारे चर्चा परिचर्चा गर्दै काठमाण्डौंमा सो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले आधुनिक भारतको निर्माणमा बाबा साहेब भीम राव अम्बेडकरको भूमिका तथा भारतको राजनीतिक तथा समाजका सीमान्तकृत वर्गको सामाजिक उत्थानमा उनको भूमिका तथा योगदान बारे चर्चा गरेका थिए ।
त्यस्तै, भारतीय राजदूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव नवीन कुमारले विद्यार्थीहरुलाई ‘बाबा साहेब’ का विचारधारालाई अनुसरण गर्न आग्रह गरेका थिए ।
सोही अवसरमा बाबा साहेब अम्बेडकरको जीवनीमा आधारित ‘मूक नायक’ नामक वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।
सो कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, स्कुल अफ लका डिन डा.ऋषिकेश वाग्ले, काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा.उद्घव प्याकुरेल, भारतीय राजदूतावासका नवीन कुमार तथा प्राध्यापक डा. केदारनाथ शर्माको उपस्थिति रहेको भारतीय दूतावासले जनाएको छ ।



