भैरहवा/२९ चैत– रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ५ वटा सामुदायिक विद्यालयहरुलाई बस प्रदान गरेको छ ।
शिक्षामा लगानी बढाएको नगरपालिकाले सामुदायिक विद्यालयहरुमा विद्यार्थीको शैक्षिक सहजताका लागि भन्दै बस प्रदान गरेको हो ।
चालु आर्थिक बर्षमा ६ वटा बिद्यालयलाई बस प्रदान गर्न छुट्टयाएको बजेटबाट तिलोत्तमा रहेका
श्री पशुपति माध्यमिक विद्यालय, श्री शिवपूर माध्यमिक विद्यालय, श्री जनजागृति माध्यमिक विद्यालय, श्री जनता माध्यमिक विद्यालय र श्री जनभावना माध्यमिक विद्यालयलाई पुजन अटोमोबाईल्स प्रालीले एसएमएल ईसुजु कम्पनीको ५ वटा बस विद्यालयहरुलाई हस्तान्तरण गरेको छ ।
सो कम्पनीले नेपाल सरकारको कर र भन्सार महशुल छुट गरि प्रति बस २० लाख ९५ हजार रुपैयामा ४२ सिटे आरामदायी गाडी विद्यालयलाई प्रदान गरिएको जानकारी दिए ।
तिलोत्तमा नगरपालिकाले विगत वर्षदेखी नै शिक्षा क्षेत्रमा लगानी बढाउँदै आएकोमा यस आर्थिक वर्षमा ६ वटा विद्यालयलाई बस प्रदान गर्न छुट्टयाईएको तिलोत्तमा नगरपालिकाका उपसचिव गंगाराम आचार्यले बताए ।
सोही अनुसार बढी विद्यार्थी संख्या भएका र यातायातका साधन नभएका बिद्यालयलाई छनौटमा राखी बस प्रदान गरिएको उनले बताए ।
उनका अनुसार नगरपालिकामा रहेका अन्य विद्यालयलाई पनि यसै गरि क्रमशः बस प्रदान गरिने छ ।



