काठमाण्डौं/२६ चैत– अङ्ग्रेजी शिक्षकहरुको छाता संगठन नेपाल ईग्लिंस ल्याङ्वेज टिचर एशोसियशन (नेल्टा) दोलखा शाखाले त्यहाँका विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि ईग्लिंस एक्सेस माइक्रो स्कलरसीप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
अमेरिकी राजदूतावासको आर्थिक सहयोगमा दुई वर्षे कार्यक्रम सञ्चालन गर्न लागिएको नेल्टा शाखाका सचिव बालकृष्ण दाहालले जानकारी दिए । उाले भने, ‘यस कार्यक्रममा सदरमुकाम चरीकोटस्थितका कालिञ्चोक माध्यामिक र पशुपति कन्या मन्दिर माध्यामिक विद्यालयका कमजोर अवस्थाका १३ देखी १६ वर्ष उमेरका २० जना छात्र र २० जना छात्रा गरी जम्मा ४० जनालाई समावेश गरीनेछ ।’
उनका अनुसार विद्यार्थीलाई बोल्न, पढ्न र लेख्न समेत सक्षम बनाउने उद्देश्यका साथ कार्यमूलक सिकाई प्रदान गरिनेछ । विद्यार्थी छनौटका लागि सय जनाको नामावली पठाईसकेको छ । उनीहरुमध्ये परीक्षाबाट उत्कृष्ट ठहरिएकाहरु यस कार्यक्रममा छनोट हुने प्रावधान रहेको छ ।
कार्यक्रमको दुईवर्षसम्म विद्यार्थीहरुलाई हरेक साता विद्यालयको समयपछि पाँच घण्टाको अङ्ग्रेजी भाषा शिक्षण, हरेक साताको दुई घण्टा कम्प्यूटर र पहिलो शैक्षिक सत्रको अन्त्यमा एक हफ्ते युवा नेतृत्व विकास तालिम प्रदान गरिने पाठ्यक्रमको व्यवस्था रहेको छ ।
अध्ययनका क्रममा लाग्ने सम्पूर्ण शैक्षिक सामग्री कार्यक्रमबाट उपलब्ध गराईने पनि उनले जानकारी दिए ।



