चिनियाँबाट ल्याएको खोप शिक्षक तथा विद्यार्थीलाई

काठमाण्डौं/२५ चैत– नेपालले चीन सरकारबाट प्राप्त कोभिड–१९ विरुद्धको खोपलाई ‘खोप अभियान कार्यक्रम मार्फत्’ काठमाडौं जिल्लाभित्र रहेका विद्यालयमा कार्यरत शिक्षक लगायत अन्य कर्मचारीहरूलाई लगाउने निर्णय गरेको छ


आइतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले बुधबारदेखि १८ देखि ५९ वर्ष उमेर समूहका विद्यार्थी, व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने व्यक्ति, औषधि व्यापार, प्रतिनिधि र प्राध्यापकहरूलाई प्राथमिकतामा राख्दै खोप कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

यसअघि शैक्षिक संस्थाहरुमा कार्यरत कर्मचारीहरुलाई पनि फ्रन्टलाईनका रुपमा लिई समावेश गर्न विभिन्न सामुदायिक तथा निजी आवासीय विद्यालयले नेपाल सरकार तथा सम्बन्धित निकायहरुसँग माग गरेका थिए । सोही कुरालाई मध्यनजर गर्दै कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले शिक्षक तथा कर्मचारी र विद्यार्थीलाई प्राथमिकतामा राखी खोप सञ्चालन गर्न थालेको हो ।

सो बैठकले एन्टीजेन टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको तर लक्षण देखिएका व्यक्तिहरूको पीसीआर परीक्षण गर्ने पनि निर्णय गरेको छ ।
यसअघि, सबै क्षेत्ररूनगरपालिकामा सञ्चालित आइसोलेसन केन्द्र र क्वारेन्टिनलाई अध्यावधिक राख्ने र सबै नगरपालिकाले आ–आफ्नो नगरपालिका भित्र कम्तीमा १/१ वटा आइसोलेसन र क्वारेन्टिनको व्यवस्थापन गरेको थियो ।


यस्तै, कोभिड–१९ को जोखिम बढीरहेको सन्दर्भमा सार्वजनिक स्थानमा गरीने कार्यक्रमहरू स्थगित गर्ने र गर्नैपर्ने कार्यक्रमहरूका लागि सरकारद्वारा जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।