बागलुङ/२४ चैत– बागलुङ नगरपालिकास्थित एक विद्यालयमा आठ जना विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएपछि दशदिन विद्यालय बन्द गरेको छ ।
मंगलबार गरिएको पिसिआर परीक्षणमा सो आठजना विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु सबै छात्रा रहेको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिएका छन् । एकै विद्यालयका १८, २८, १७, १७, १९, १८, १९ र २३ वर्षीया छात्राहरुलाई कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।
उनका अनुसार दुई जना विद्यार्थीलाई कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा संक्रमण देखिएको र अन्य लक्षण देखिएका छ जना विद्यार्थीको स्वाब परीक्षण गर्दा उनीहरुलाई पनि संक्रमण पुष्टि भएको हो । संक्रमितहरु अहिले छ जना होस्टेलको आइसोलेसन र दुई जना होम आइसोलेसनमा रहेका छन् ।
एकै विद्यालयका आठजना विद्यार्थीलाई संक्रमण देखिएपछि उक्त विद्यालय दश दिनको लागि बन्द गर्ने निर्णय गरेको प्रमुख खनालले बताए ।
पछिल्लो समय बाग्लुङमा कोरोना संक्रमितको संख्या बढ्दै गईरहेको छ । बागलुङ नगरपालिकामा २६ जना सक्रिय संक्रमित रहेको प्रमुख खनालले जानकारी दिए ।



