अमेरिकाबाट विद्यार्थीहरुलाई छात्रवृत्ति सहयोग

काठमाण्डौं/२४ चैत– अमेरिकामा बस्ने नेपाली विद्यार्थीहरुले काभ्रेपलाञ्चोक जिल्लामा रहेको बेथान चोक गाउँपालिकास्थित श्री पार्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्ति सहयोग गरेका छन् ।
‘शिक्षा दीक्षा कार्यक्रम’ अन्तर्गत क्रिन्जल फाउण्डेसन नेपालले आइतबार छात्रवृत्ति वितरण गरिएको हो ।
सो कार्यक्रम मार्फत् कक्षा १ देखि १० सम्म अध्ययन गर्ने ३१ जना विद्यार्थीको लागि छात्रवृत्ति वितरण गरिएको छ । कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि प्रति विद्यार्थी पाँच हजार पाँच सय रुपैयाँका दरले, कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि प्रति विद्यार्थी आठ हजार दुई सय पचास रुपैयाँ र कक्षा ९ र १० अध्ययन गर्ने विद्यार्थीका लागि प्रति विद्यार्थी ११ हजार रुपैयाँका दरले जम्मा २ लाख २६ हजार रुपैयाँ रकमको छात्रवृत्ति प्रदान गरेको छ ।
छात्रवृत्तिका सहयोगका लागि अमेरिकामा बस्दै आईरहेका क्रिन्जल फाउन्डेसनका निर्देशक क्षितिजराज लोहनीले आर्थिक संकलन गरेका थिए ।
कार्यक्रमका बोल्दै बेथान चोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले विदेशमा रहेका विद्यार्थीहरुले गरेको सहयोगबाट प्रेरणा लिएर सदैव आफ्नो शैक्षिक उन्नयनमा लाग्न सम्पूर्ण विद्यार्थीहरुलाई अनुरोध गरे ।
उनका अनुसार राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य समुद्र तिमल्सिनाको पहलमा यो छात्रवृत्ति विद्यालयमा भित्रिएको हो । तिमल्सिनाले विद्यालयको शैक्षिक अवस्था सुधारका लागि आफू निरन्तर लागि पर्ने बताए ।
क्रिन्जल फाउन्डेसनका बोर्ड सदस्य तथा आर्थिक संयोजक आरजु लोहनीले आउँदा दिनहरुमा विभिन्न कार्यक्रममार्फत् विद्यार्थीहरुलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन् ।
कार्यक्रमका सभापति तथा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष भगवान घिमिरे, विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद शर्मा लगायतको उपस्थिति थियो ।