काठमाण्डौं/२३ चैत- राष्ट्रिय शिक्षा नीति २०७६ अनुसार सरकारले अब शिक्षक र विद्यालयमा कार्यरत कर्मचारीहरुलाई थप सेवा सुविधा दिने तयारी थालेको छ ।
गत वर्ष २५ मंसिरमा सार्वजनिक गरिएको शिक्षा नीति अनुसार धेरै विकट क्षेत्रका विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुलाई उनीहरुको आवश्यकताका आधारमा प्रोत्साहन स्वरुप थप सुविधा दिने तयारी गरेको हो ।
नेपालको अति दुर्गम तथा विकट क्षेत्रका विद्यालयमा काम गर्ने शिक्षक तथा कर्मचारीलाई सहजता प्रदान गर्न अतिरिक्त सुविधा दिन सकिने व्यवस्था क्रमशः गरिनेछ भन्ने कुरा शिक्षा नीतिमा समेत प्रष्ट उल्लेख गरिएकाले सोही अनुरुप कदम बढाउने तयारीमा रहेको छ ।
राष्ट्रिय शिक्षा नीतिमा सार्वजनिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन विद्यार्थी–शिक्षक अनुपात हेरी देशभरीका सबै विद्यालयमा पाँच वर्षभित्र दक्ष, योग्य र सम्बन्धित स्वःउत्प्रेरित विषय शिक्षकको व्यवस्था गरिने पनि उल्लेख गरिएको छ ।



