काठमाण्डौं/२२ चैत- नेपाल शिक्षक संघको संघीय प्रतिनिधिसभा उद्घाटन समारोहलाई शनिबार राजधानीमा सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालसम्मको अभ्यासबाट शिक्षाका सन्दर्भमा गरिएका व्यवस्थाको समीक्षा हुनुपर्ने बताएका छन् ।
सभापति शेरबहादुर देउवाले संविधानमार्फत् शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गरिनुपर्ने देखिएकाले त्यसतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
स्थानीय तह, जिल्ला र प्रदेशमा शिक्षकको सभा सम्पन्न गरेपछि केन्द्रीय स्तरमा कार्यक्रम गरिएको अध्यक्ष राजेन्द्रराज पौडेलले बताए । सोमबारसम्म चल्ने सो सभामा देशभरका करिब ७०० शिक्षकको सहभागिता रहनेछ । सभाले गरेका निर्णय मङ्गलबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिने पनि अध्यक्ष पौडेलले जानकारी दिए ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष केशव भट्टराई, मोहन ज्ञवाली, केशव निरौला, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य लगायतले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरोकार तथा सम्बन्धित निकायले उचित ध्यान दिन नसकेको बताएका छन् ।



