दोस्रो चरणमा हाल सम्म २७१ शिक्षकको दरबन्दी मिलान


काठमाडौं /१७ चैत – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हाल सम्म ४५५ वटा शिक्षक दरबन्दी मिलान गरेको छ । जिल्लाभित्रै बढी भएको र थप भएको तथा एउटा स्थानीय तहबाट कटौती गरी अर्को स्थानीय तहमा थप गरी दरबन्दी मिलान गरेको हो ।

पहिलो लटमा १ सय ८४ र दोस्रो लटमा २ सय ७१ दरबन्दी मिलान भइसकेको छ । केन्द्रका शिक्षक व्यावस्थापन समन्वय शाखाका निर्देशक बसन्त प्रसाद कोइरालाले प्रदेशगत रुपमा पालिकाहरुबाट दरबन्दी कट्टा गरेर उनीहरुकै जिल्लामा स्थानान्तरण गरिएको जानकारी दिए । साथै अधिकांश दरबन्दी मिलान प्राथमिक तहकै भएको कोइरालाले वताए ।

दोस्रो लटमा काठमाण्डौं जिल्लाबाट ७२ वाट,ललितपुर गोदावरी नगरपालिकाबाट १५ बढी भएको दरबन्दी कट्टा गरी प्रदेश तीन अन्तर्गतको आवश्यकता र दुर्गमता हेरेर नुवाकोट, धादिङ्ग, मकवानपुर, दोलखा र सिन्धुलीमा वितरण गरीएको छ ।

त्यसै गरी प्रदेश चारमा कास्की ३९, पर्वत १०, मनाङ्ग ३, तनहँु ६ वटा बढी भएको दरबन्दी कट्टा गरी नवलपरासी पूर्व र बाग्लुङ्गमा स्थानान्तरण भईसकेको छ । डोल्पाको ३ वटा बढी भएको दरबन्दीलाई जाजरकोटमा स्थानान्तरण गरीइएको छ । केही शिक्षकलाई भने उनीहरुको माग अनुरुप स्थान्तरण गरेको छ । प्रदेश एकमा तेह्रथुमबाट १४ दरबन्दी उदयपुर स्थानान्तरण गरीइएको छ ।

यसरी स्थानान्तरण गर्दा अहिलेसम्म १६९ रीक्त दरबन्दी स्थानान्तरण भएको छ भने १०२ दरबन्दी शिक्षक सहित स्थानान्तरण गरीएको छ ।

शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधिका आधारमा स्थानीय तहमा स्वीकृत मापदण्डको आधारमा बढी हुन आउने दरबन्दीहरू थप हुन जाने स्थानीय तहमा पठाउने गरी मिलान गरिएको केन्द्रले जनाएको छ ।