मौसमका कारण चार दिन सम्म सम्पूर्ण शिक्षण संस्था बन्द हुने,परीक्षा नरोकिने

काठमाण्डौं/१६ चैत– प्रतिकूल मौसमका कारण सरकारले देशभरीका विद्यालय चार दिन सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।


सोमबार बसेको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श लिएपछि वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए ।


बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा.हरि लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याल लगायतको उपस्थिति रहेको थियो ।


पछिल्ला पाँच दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषणमा सुधार हुन सकेको छैन । मौसमविद्हरुका अनुसार देशभर डढेलोका घटना बढेकाले र छिमेकी मुलुक भारतबाट आएका केही धुलोका कणले गर्दा घामलाई छेकिएको छ । घाम छेकिएपछि स्वाभाविक रुपमा तापक्रम घटेको र वायु प्रदूषित भएको जनाएका छन् ।

साथै, वायुमण्डलको तल्लो तहमा धुवाँ र त्योभन्दा माथि बादल परेकोले चैतमा चिसो बढेको मौसमविद्हरुको भनाई छ ।