काठमाण्डौं/१६ चैत– केही दिनदेखी काठमाण्डौं उपत्यका लगायत देशका विभिन्न भागमा वायु प्रदुषणको स्तर अत्यधिक रुपमा बढ्दै गएकाले वातावरण विभागले विशेष गरि पाँच कक्षा मुनी पढ्ने विद्यार्थी तथा ससाना बालबच्चाहरुलाई वातावरण प्रदुषणले अझ बढी प्रभाव पार्ने हुँदा अभिभावक तथा सम्बन्धित विद्यालयले विशेष ध्यान पु¥याउनुपर्ने सुझाव दिएको छ ।
यसबाट साधारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ भन्दै सावधानी अपनाउन वायु प्रदुषण सम्बन्धि वातावरण विभागले आईतबार प्रेस विज्ञप्ति समेत निकालेको छ ।
विज्ञप्तिमा विशेष गरी बालबालिका, जेष्ठ नागरिक, दमखोकी जस्ता श्वासप्रस्वास सम्बन्धि विरामी र सबै उमेर समूहका नागरिकहरुलाई सम्भव भएसम्म घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्थामा विशेष सावधानी अपनाउन, जथाभावि खुला रुपमा फोहोर बाल्ने कार्य नगर्न विद्युतीय सवारी साधन बाहेकका अन्य सवारी साधन बाहेकका अन्य सवारी साधन कम प्रयोग गर्न वातावरण विभागले अपिल गरेको छ ।
मौसम प्रदूषण केही समयसम्म पनि यस्तै रहेमा वा अझै खराब हुने सम्भावना रहेमा विशेष सावधानी अपनाउनका लागि विशेष कार्ययोजना भईरहेको वातावरण विभागका प्रवक्ता तथा उपमहानिर्देशक ईन्दु विक्रम जोशीले खबर एजुकेशनलाई जानकारी दिए ।
उनले अनावश्यक रुपमा बाहिर ननिस्कन, गाडीहरु कम चलाउन, मास्कको प्रयोग गर्न, अनावश्यक रुपमा फोहोर तथा आगो नबाल्नका लागि विभिन्न मिडियाहरुलाई प्रचारप्रसार गरिदिनुहुन आग्रह समेत गरेका छन् ।
त्यस्तै, यदि एक दुई दिनसम्म पनि मौसममा सुधार हुन सकेन र वातावरण प्रतिकूल बढ्दै गयो भने स्थानीय तह तथा नगरपालिकाको समन्वयमा छलफल गरेर विद्यार्थी तथा आम नागरीकको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालय तथा कलेज बन्द पनि हुन सक्ने धारणा व्यक्त गरेका छन् ।
कक्षा पाँच भन्दा मुनि अध्ययनरत विद्यार्थीलाई विशेष सावधानी हुन वातावरण विभागको सुझाव


