होलीमा पानी भनि एसिड छ्याप्दा तीन विद्यार्थी घाइते

काठमाण्डौं/१६ चैत– काठमाडौँको शंखरापुर नगरपालिका–१ साँखुस्थित चापाकोटमा आइतबार होली खेल्दा एसिड छ्यापेपछि ३ जना विद्यार्थी घाइते भएका छन् ।
होली खेल्दा रंगमा पानीको साटो एसिड मिसाएर छ्याप्दा १६ वर्षीया किशोरी, ९ वर्षका र ११ वर्षका बालक घाइते भएका हुन् ।


घाइतेहरुको साँखु स्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । एसिडले एक किशोरीको गाला, दुई जना बालकको हात र अनुहार जलेको छ । घाइतेहरू नविन ग्राम मावी शंकरापुरका अध्ययनरत विद्यार्थी हुन् ।


पानी भनेर एसिड छ्याप्ने १७ वर्षीय पवन पहाडी र १८ वर्षीय आकाश तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिएको छ ।


प्रहरीका अनुसार आरोपी र घाइतेहरुको बीच सामान्य चिनजान थियो । होली खेल्ने क्रममा पानी मागेपछि ९ वर्षका बालकले ग्यालिन लगिदिएका थिए । तर, सो ग्यालिनमा पानीको साटो सल्फ्युरिक एसिड राखिएको थियो र एसिड भन्ने नचिनेर उनीहरुले त्यसमा रंग मिसाएर दलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।


चापाकोटस्थित दुध डेरीबाट बालकले उक्त ग्यालिन ल्याएका हुन् । घटनापछि दुध डेरी सञ्चालकलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।